हिंसामुक्त नगर घोषणा गर्ने अभियानमा छौंः उपप्रमुख सृजना खड्का



रामचन्द्र वि.क., रामेछाप ।

रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले आफ्नै कार्यकालमा हिंसामुक्त नगर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभएको छ ।

आइतबार रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १४ औं दिनको कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले लिङ्गको आधारमा गरिने विभेदलाई अन्त्य गर्न नगरपालिकाले नीति तथा कार्यक्रमनै बनाएर गाउँ–गाउँमा लैजाने बताउनुभएको हो ।

सबै नागरिक सचेत भए मात्र हिंसाका घटना न्यूनिकरण हुने भएकाले प्रत्यक्ष रुपमा नागरिकसँग जोडिने गरी आफ्नै सहभागितामा जनचेतनामूलक कार्यक्रम नगरपालिकाले गर्दै आएको र आगामी वर्षमा पनि त्यस्ता कार्यक्रमले निरन्तरता पाउने उहाँको भनाई रहेको छ ।

समाजमा हुने विभिन्न सामाजिक विभेदलाई न्यूनिकरण गर्न सरकारले मात्रै नसक्ने हुँदा सबैले साथ दिनुपर्नेमा उहाँको जोड रहेको छ । स्थानीय सरकार आएपछि गाउँमा घट्दै आएका घरेलु हिंसाका घटनामा केही कमी आएको उहाँको दावी छ ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले वडामा लिङ्गको आधारमा गरिने विभेदलाई न्यूनिकरण गर्न आफू लागीरहेको बताउनुभयो ।

वडाध्यक्ष कार्कीले समाजमा हुने विभेद रोक्नको लागि साजिक अगुवा, शिक्षक, बुद्धीजिवी, राजनीतिक दलका नेता लगायतले घरभित्र हुने घटनाका विरुद्धमा आजै देखि लाग्नु पर्नेमा जोड दिनुभयो ।

आफ्नो वडामा बालबालिका, महिला, जेष्ठ नागरिक लगायत लक्षित वर्गमा पर्ने समुदायलाई सामाजिक विकास देखि उनिहरुको आर्थिक विकासमा समेत फाईदा पुग्ने गरी कार्यक्रमहरु संचालनमा रहेको वडाध्यक्ष कार्कीको भनाई रहेको छ ।

वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धका नारा लेखिएका प्लेकार्ड सहित वडाबासीको सहभागितामा र्यालीको आयोजना समेत गरिएको छ ।

नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा ९ ओटै वडामा पुगेर त्यहाँको वडाध्यक्षको अध्यक्षतामा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यो अभियानलाई मंसिर २४ गते सम्म जारी राख्ने नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्