“बैंक मर्जरका लागि सबैभन्दा पहिले इगो त्याग्नुपर्छ”



पर्शुराम कुँवर क्षेत्री
सीईओ, ग्लोबल आइएमई बैंक

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबीच ‘बिग मर्ज’ भएको छ। नेपालमा बैंकिङ क्षेत्रमा अनेकौं श्रृंखलालाई पार गर्दै बिग मर्जरको अवस्थासम्म आइपुग्न जनता र ग्लोबल आइएमई बैंकले धेरै नै संघर्ष गर्नुपर्यो। फलस्वरूप चुक्ता पुँजीका आधारमा नेपालकै ठूलो बैंक बनेको छ। सरकार र नेपाल राष्ट्र बैंकको बैंक मर्जरको नीतिलाई अगाडि बढाउँदै दुई बाणिज्य बैंक एकआपसमा गाभिएका छन्।मर्जरपछि अब बैंक कसरी अघि बढ्छ, ठूला बैंक भएसँगै आगामी दिनमा कसरी अगाडि बढ्ने रणनीति बनाएको छ, यसका चुनौतीहरू के–के छन् ? भन्ने लगायत विषयमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्शुराम कुँवर क्षेत्रीसँग
नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले गरेको कुराकानी ः

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकको मर्जर अन्ततः भएरै छोड्यो, यो कसरी सम्भव भयो ?

जनता बैंक नेपालको शाखा काठमाडौंमा धेरै छैनन्, जम्मा २०/२२ वटा मात्रै थिए। काठमाडौं बाहिर म बढी गइरहेको हुन्थे। अहिले पनि बढी मात्रामा बाहिर नै हुन्छु। त्यतिखेर साना–साना शहरमा पनि ८/९ बटा बैंकका शाखा देख्थँे।यस्ता स–साना शहरमा पनि ८/९ वटा बैंकका शाखा खोलेर के प्राप्त गर्छौं हामी ? भन्ने प्रश्न मेरो मनमा उब्जिन्थ्यो। त्यसपछि मैले हाम्रा छिमेकी देशमा पनि कतिवटा बैंक सञ्चालनमा छन् भन्ने कुरा खोज्न थालेँ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा हामीभन्दा झण्डै सय गुणा ठूलो देश भारतमा करिब १ करोड ५५ लाख जनताका लागि एउटा बैंक रहेको देखियो। बंगलादेशमा पनि करिब ३० लाख जनताका लागि एउटा बैंक रहेछ। जबकी बंगलादेशमा पनि बैंक धेरै भएको र संख्या घटाउनुपर्ने विज्ञहरू बताउँछन्। पाकिस्तानमा करिब ४५ लाख जनताको लागि एउटा बैंक रहेको छ।

तर, हामी कहाँ करिब तीन करोड जनताका लागि २८ वटा वाणिज्य बैंक थिए। करिब १० लाख जनताका लागि एउटा बैंक रहेको छ। अझै यसमा विकास बैंक पनि जोडिन्छ। विकास बैंकहरू हिजोका वाणिज्य बैंकभन्दा पनि ठूला भइसकेको अवस्था छ। हाम्रोमा त बैंकको संख्या निकै धेरै भयो।

बैंक धेरै भएको निष्कर्ष निकालिसकेपछि हामीले छलफल गर्यौं। र, मर्जरका लागि सम्भावित बैंकसँग कुरा गर्न थाल्यौं। त्यही सिलसिलामा मर्जरबारे सरकारले बजेटमा पनि कुरा ल्यायो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि त्यो कुरा समेट्यो। यसरी नै कुरा गर्ने क्रममा यस्तै सोच ग्लोबल आइएमई बैंकसँग पनि रहेछ। त्यसपछि दुवै बैंकका सञ्चालकले छलफल गर्न शुरू गर्नुभयो। यो टुंगाउन धेरै समय लागेन उहाँहरूलाई, २/३ वटा बैठकमात्रै बस्नुभयो।

सरी नै हामी दुई बैंकलाई मर्ज गर्न सफल भयौं।विगतमा पनि दुई वटै बैंकले नेपाल राष्ट्र बैंकका नीति निर्देशनलाई साथ दिएको, अहिले पनि सरकार र राष्ट्र बैंकको नीतिलाई साथ दिँदै मर्जर हुनुपर्छ भन्ने भावना र मर्जरको शुरूवात हामीबाटै हुनुपर्छ भन्ने सोचलाई आत्मसाथ गर्दा मर्जर सम्भव भयो।

नेपाल राष्ट्र बैंकले दिएको प्रोत्साहन अपुग भयो भनेर अन्य बैंक मर्जरमा जान आनाकानी गर्दै गर्दा यी दुई बैंकलाई चाहिँ त्यस्तो सोच आएन ?

यो आफ्नो–आफ्नो सोच पनि हो। सरकारले सहुलियत दिन्छ अनि मर्जरमा जाने भनेर हामीले कुरेर बसेनौं। यद्यपि, सरकार वा राष्ट्र बैंकले केही सहुलियत दिएको भए हामीलाई राम्रो हुन्थ्यो। खर्च त धेरै छ, यति धेरै खर्च व्यवस्थापन गर्नुपर्छ।

साइनबोर्ड, भौचर सबै परिवर्तन गर्नुपर्छ। ‘कोर बैंकिङ सिस्टम’ केही समयअघि मात्रै अपग्रेड गरेका थियौं। त्यो खर्च धान्नलाई सहयोग हुन्थ्यो। तर, हामीले त्यसका लागि सहुलियत कुरेर बसेनौं। हामीले ठिक काम गर्दैछौं, दीर्घकालमा गएर यसले बैंक र अर्थतन्त्र दुवैलाई सहयोग गर्छ भनेर हामीले दायाँ बायाँ सोचेनौं।

दुई बैंक एक भएपछि शाखाहरूको व्यवस्थापन कसरी हुँदैछ ?

पहिलो चरणमा हामीले २९ वटा शाखा संयुक्त कारोबार शुरू गरेको पहिलो दिनमै गाभ्ने निर्णय गरेका थियौं। हामीले एउटा शाखा छोडेर बाँकी पहिलो दिनमै गाभ्यौं। अब हामी अन्य ठाउँमा थप खाता खोल्छौं।

त्यो काम अबको ६ महिनासम्ममा हामी गर्छौं। बाँकी ८/१० वटा शाखा यत्तिकै चलाउने कि बन्द गर्ने निर्णय केही समयपछि गर्छौं। ती शाखा एकदमै ठूला छन्। ती शाखा एकै ठाउँमा राखेर चलाउन पनि नसकिने र दुई ठाउँमा पनि एकदमै नजिक छन्। त्यसलाई व्यवस्थापन गर्न हामीलाई अलि समय लाग्छ।

अधिकांशको कुरा स्वाप रेसियोमै बिग्रिन्छ, यी दुई बैंकबीच यस्तो समस्या आएन ?

नेपाल राष्ट्र बैंकको मर्जर नीतिमा स्वाप रेसियो निकाल्ने तरिका नै उल्लेख गरिएको छ। त्यसमा ५ प्रतिशत शेयरको मार्केट प्राइस र २० प्रतिशत फ्युचर प्रोफिट, ७५ प्रतिशत नेट एसेस्ट मेथडको आधारमा गर्ने भनिएको छ। त्यो गर्नका लागि हामीले चार्टर्ड एकाउन्टेन्टको सहयोग लियौं, खासै समस्या भएन

मर्जरपछि मुलुककै ठूलो बैंकको भूमिकामा यो बैंक उभिएको छ। अब कसरी अगाडि बढ्ने भन्ने के कस्ता योजना बनाउनुभएको छ ?

तपार्इंहरूले ठूलो भयो भनिरहनुभएको छ। तर, मैले व्यक्तिगत रूपमा भन्नुपर्दा, हामी ठूलो हुने कुरामा केन्द्रित छैनौं, हामी सक्षम र सबल बैंक भने अवश्य भएका हौं। हामीले आगामी दिनमा अर्थतन्त्रका सबै क्षेत्रमा लगानी गर्छौं।

कृषि क्षेत्रमा पनि हामीले उल्लेख्य लगानी गर्ने योजना छ। गाउँ–गाउँमा कृषि क्षेत्रमा लगानी नगरी सुखै हुँदैन। जोखिम व्यवस्थापन, प्रविधिमा लगानी तथा उत्पादकत्व बढाउने, कर्मचारीलाई बढी ज्ञान सीप दिनेतर्फ हामी बढी मात्रामा केन्द्रित हुन्छौं, अन्य त योजना छँदैछ।

पछिल्लो समयमा बैंकमा कर्मचारीमात्रै बढेको तर सुरक्षा नभएको भन्ने कुरा पनि सुनिन थालेको छ, के स्थिति यस्तै हो ?

कता–कता हामीले केही कुरालाई मात्रै बढी ‘हाइलाइट’ गरिरहेका छौं कि जस्तो मलाई लाग्छ। यसअघि एटीएमबाट रकम चोरिएको, केही दिन अघि बैंकमा नक्कली हस्ताक्षर देखाएर रकम चोरिएको जस्ता घटना भए। यसलाई हल्का रूपमा लिनुपर्छ भन्ने मेरो आशय होइन। तर, युरोपियन, अमेरिका, क्यानडा जस्ता देशमा पनि फ्रडका घटनाहरू भइरहेका छन्, व्यवस्थापन पनि भइरहेका छन्।

यसलाई मैले हामीले कामै गर्नुपर्दैन भन्न खोजेको होइन। तर, हामीले कति धेरै जोखिममा काम गरिरहेका छौं, जस्तो हामीले आजको दिनमा कोही मान्छेले खाता खोल्न आयो भने उसको परिचयको अचुक अस्त्र भनेको नागरिकता हो। अब त्यो प्रमाणपत्रको विश्वसनियता कति छ ?

एउटा कुनै ५०/५५ वर्षको मान्छेले अरू कसैको त्यस्तै उमेरको नागरिकता ल्यायो र मेरो नागरिकता हो भन्दै बैंकमा खाता खोल्न आयो भने धेरै पहिलो (१५/१६) वर्षको उमेरमा खिचेको नागरिकता, तपाईं होइन भन्न नि हामीलाई गाह्रो हुन्छ।

अझ अहिले त कसैले नागरिकताको फोटो नै साट्न नि सक्छन्। अझ बद्मासी गर्न सक्नेले त्यो नागरिकताको कागज नै प्रिन्ट गर्न सक्ला। यसलाई हामीले भेरिफाई कसरी गर्ने ? हामी यस्तो जोखिममा काम गरिरहेका छौं। आउने दिनमा राष्ट्रिय परिचयपत्र आउला, अनि फ्रड कम होला कि भन्ने आशा छ।

मर्जरपछिको बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा हुनुहुन्छ, बैंकमा के भयो भने मर्जर सम्भव हुँदो रहेछ ? अन्य बैंकहरूले मर्जरका लागि के गर्नुपर्ला ?

बैंक धेरै भएको, बैंक घटाउनुपर्छ, अझै बलियो हुनुपर्छ र ठूलो पनि हुनुपर्छ भन्ने मेरो विचारमा सबैले महशुस गरिसक्नुभएको छ। तर, वास्तवमा मर्जर सम्भव गराउन सबैभन्दा पहिलो काम ‘इगो’लाई व्यवस्थापन गर्नुपर्छ।

मेरै बैंकको नाम हुनुपर्छ, मै चेयरम्यान हुनुपर्छ, मै डाइरेक्टर हुनुपर्छ, मै सीईओ हुुनुपर्छ भन्ने, विज्ञले भनेको नमानेर मैले भनेकै स्वाप रेसियो हुनुपर्छ भन्ने जस्ता इगो हामीले ल्यायौं भने हामी सफल हुँदैनौं। त्यसैकारण सबैभन्दा पहिले हामीले यसलाई हटाउनुपर्छ।

तपाईं अन्य बैंकमा पनि नेतृत्वमा रहनुभयो। सीईओ बनिरहने र छोडिरहने जस्ता कुरा पनि सुनिन्छन्, यस बैंकका स्थायित्व कति हुन्छ ?

एउटा मात्र बैंकमा छोटो समयका लागि गएको हुँ। एक किसिमले समस्या के थियो, समाधान के हुनसक्छ भन्ने मात्रै मेरो काम थियो। त्यो काम गरँें फर्किए। मैले बैंक अफ एसियामा पूरै काम गरेको हुँ। नेपाल बैंकमा मैले सम्झौता बमोजिम साढे तीन वर्ष नै काम गरेंँ। यो बैंकमा मेरो चार वर्ष समय हो। साढे दुई वर्ष गरिसकेको छु।

प्रतिक्रिया दिनुहोस्