सौगात र सृष्टि सँगसँगै



रियल लाइफमा प्रेमि–प्रेमिका रहेका नायक नायिका सौगात मल्ल र सृष्टि श्रेष्ठ फिल्मको पर्दामा पनि सँगसँगै हुने भएका छन्। उनीहरू जोडीका रूपमा देखिन लागेको फिल्म सँगसँगैको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरिने भएको छ।

पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहने फिल्मको शुभमुहूर्त सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका थिए भने क्यामेरा स्वीचको अन चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईले गरेका थिए। त्यसैगरी, निर्माता तथा वितरक करण श्रेष्ठले क्ल्याप दिएका थिए भने चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेका थिए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल र नेपाली कांग्रेसका नेता बद्री पाण्डेले फिल्मलाई सफलताको शुभकामना दिएका थिए।

निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने फिल्म आगामी माघ पहिलो साता सुटिङ फ्लोरमा जानेछ। साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठका साथमा मुकुन भुसाल, आश्मा गिरी, विकास चापागार्इं, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतले मुख्य भूमिकामा अभिनय गर्नेछन्।

सुवानी फिल्मस्को ब्यानरमा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णुबहादुर क्षेत्रीद्वारा निर्माणाधीन फिल्ममा ताराप्रकाश लिम्बूको संगीत र शिव ढकालको छायांकन रहनेछ। निर्देशक भट्टराईले दुई साथीबीचको मित्रता तथा झन्डै दुई दशकअघिदेखि अहिलेसम्मको नेपाली समाजको एउटा कालखण्डको कथामा सँगसँगै बुनिएको बताए। ब्ल्याकमेल, सुकुलगुण्डा, निर्भयजस्ता फिल्म निर्देशन गरिसकेका भट्टराईले भने– ‘सँगसँगै सामाजिक तथा पारिवारिक विषयको फिल्म हो।

जसमा नेपाली समाजको मौलिक जनजीवनलाई समेटिएको छ।’ उनले फिल्मको कथा वास्तविक घटनाक्रमसँग नजिक रहेको दाबी गरे। अभिनेता सौगातले आफूलाई फिल्मको स्क्रिप्टले मन छोएको बताए भने अर्का अभिनेता मुकुनले आफू यो फिल्ममा निकै अहम् भूमिकामा रहेको र आमदर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

नायिका सृष्टिले फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् भने अर्की नायिका आश्माले ड्रिमगर्लपछि स्क्रिप्ट र टिम मन परेकाले सँगसँगैमा जोडिएको जनाउँदै यो फिल्म आफ्नो करिअरका लागि टर्निङ प्वाइट भएको दाबी गरिन्। केही प्रतिशत दृश्य अस्टे«लियाका विभिन्न स्थानमा खिचिने फिल्मको निर्माण व्यवस्थापकमा सुरज आचार्य र उत्तम अधिकारी छन्।

 

प्रतिक्रिया दिनुहोस्