प्रहरी नीति र विधिमा चल्छ : खनाल



सर्वेन्द्र खनाल 
महानिरीक्षक, नेपाल प्रहरी
सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको २१ महिना पूरा भएको छ। नेतृत्व सम्हालेलगत्तै उहाँले दशबुँदे प्राथमिकता निर्धारण गरेर काम अगाडि बढाउनुभएको थियो। उहाँको अवधारणामा अगाडि सारिएकोे समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। संगठन सुदृढीकरणको अभियान जारी राखे पनि बेलाबखत महानिरीक्षक खनालको आलोचनासमेत हुँदै आएको छ। यसै विषयमा संगठनको नेतृत्व सम्हालेको यस अवधिमा गर्नुभएको कामको बारेमा महानिरीक्षक खनालसँग नेपाल समाचारपत्रका लागि दीपक रिजालमधुसूदन रायमाझीले गरेको कुराकानी :

नेपाल प्रहरीको प्रहरी महानिरीक्षकका रूपमा संगठनको नेतृत्व गरेको २१ महिनामा कस्तो अनुभव गर्नुभएको छ ?

नागरिकका सुख–दुःखमा साथ रहने संस्थाको प्रमुख भएका नाताले म स्वयंम् आम नागरिकको सेरोफेरोमा छु भन्ने लाग्दछ। प्रहरीको जिम्मेवारी भनेको मानवीय सेवा पनि हो, यो सत्य हो।

राष्ट्र सेवाका साथै मानवीय सेवा गर्ने अवसर अन्य संस्थामा बिरलै पाइन्छ। यस संस्थाको प्रमुख भई नागरिक र राष्ट्र सेवामा जीवन समर्पण गर्न पाउँदा म खुसी छु।

तपाईंको नेतृत्वमा प्रहरी संगठनभित्र के परिवर्तन गर्नुभयो ? 
म महानिरीक्षक भएका दिनदेखि नै यस संगठनको श्रीवृद्धि कसरी गर्न सकिन्छ भन्ने एक मात्र धेय राखेर काम गर्दै आएको छु। प्रहरी निरीक्षक भएदेखि नै मेरो मनमा हुटहुटी थियो कि कसरी यो संस्थालाई सबैले विश्वास गर्ने बनाउने भन्ने।

तसर्थ मेरो जीवनभर यो संगठनबाहेक अन्य केही सोचिनँ र सोच्न पनि सक्दिनँ। म कुराभन्दा पनि काम गर्न मन पराउने मान्छे हुँ। मैले नेतृत्व सम्हालेपश्चात हामीसँग तालुक मन्त्रालयको गृहप्रशासन सुधार कार्ययोजना थियो।

मैले त्यसका अलवा संगठनको दूरगामी विकासका लागि १० बुँदे सांगठनिक प्राथमिकता लागू गराएँ। जसले प्रहरी व्यावसायिकताको रूपरेखा कोरेको छ, २ वटा ब्युरोहरू (मानब बेचबिखन ब्युरो, साइबर ब्युरो) स्थापना भई सञ्चालनमा आएका छन्।

ब्युरोहरूले स्वदेश तथा विदेशबाट समेत मानिसहरू ल्याएका छन्। सबै स्थानीय तहमा प्रहरी इकाइ स्थापना भएका छन्। ६ हजार ६ सय ९७ दरबन्दी निकासा भएको छ। संघीय संरचनाअनुरूप संगठनको पुनर्संरचना गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थका अनिवार्य रूपमा महिला हुनुपर्ने सुनिश्चितता गरिएको छ।

अपराध अनुसन्धानको क्षमता अभिवृद्धिका लागि तीन वर्षीय योजना कार्यान्वयनमा ल्याइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठनहरूसँग सहकार्य भएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा भएको छ।

यसरी नेपाल प्रहरीको संस्थागत विकास र क्षमता अभिवृद्धिमा यथेष्ट लगानी गरिएको छ। कालन्तरमा यसले संगठनलाई उचाइमा पुर्याउने मेरो विश्वास छ।

पछिल्लो समयमा उच्च ओहदाका व्यक्ति पनि पक्राउ परे, यस्ता काम हिजो किन हुन सकेन र आज कसरी सम्भव भयो ?

प्रहरीले उच्च ओहदामा आसिन व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याएको  छ। निवर्तमान सभामुखलाई उहाँको कसुरका आधारमा कानुनी कारबाही गरिएको हो। १२ वर्षअगाडि बीभत्स हत्याको घटना संलग्न रहेको अभियोगमा रौतहटबाट निवर्तमान सांसद आलमविरुद्ध मुद्दा दायर गरिएको छ।

यीलगायत अन्य घटनामा संलग्न जोकोहीलाई पनि कुनै हिचकिचाहट कानुनी कारबाही गरिएको छ।प्रहरीले खुट्टा नकामाइ दर्बिलो आँटका साथ काम गर्न सबै प्रहरी कर्मचारीलाई सन्देश प्रवाह गरेको छु।

सबै प्रकारका दबाब र प्रभाव झेल्ने काम मेरो, तपाईंहरू निर्भिकता साथ काम गर्नुहोस् भनेर निर्देशन दिएको छु। म विगततर्फ जान चाहन्नँ। हिजो कुनै शक्ति समूह वा स्वार्थसँग प्रहरी दृढताका साथ उभिन सकेन कि भन्ने लाग्न सक्दछ।

तर आज त्यो दिन छैन, कुनै पनि ओहदा, पद, हैसियतको प्रभाव र पहुँचका छेकवारलाई फाँड्न म आफंै उभिएको छु। कानुनको समान प्रयोग र संरक्षणको नीतिलाई पूर्ण कार्यान्वयनमा ल्याएको छु।

आवरणमा र शक्तिका भरमा विगतमा उन्मुक्ति पाएकाहरूलाई धमाधम कानुनी घेरामा ल्याएको छु। आत्मविश्वास, व्यावासयिक निष्ठा र निर्भिकतापूर्वक काम गर्दा कुनै शक्तिले छेक्न र रोक्ने आँट गर्न सक्दैन भन्ने मेरो बुझाइ छ।

उच्च तहका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँदा कतिको दबाब झेल्नुपर्यो ?

यी सबै घटनाको अनुसन्धानमा मैले कुनै दबाब, प्रभाव झेल्नुपरेको छैन। तथ्य, प्रमाण र वस्तुस्थितिलाई नकार्न सक्ने कसैको हिम्मत छैन। प्रधामन्त्री र गृहमन्त्रीज्यूबाट पूर्ण साथ, सहयोग पाएको छु। अनुचित दबाब, प्रभावलाई म रहेसम्म कदापि सुनुवाइ गर्दिनँ, त्यस्तालाई नकार्न सक्ने मेरो हिम्मत छ, हस्तक्षेप स्वीकार्य हुन्न।

प्रहरी कसैको इसारामा हैन कानुन र विधिको मान्यतामा चल्छ, म यसमा दृढ छु। १२ वर्ष अगाडि दिएको अनुचित दबाब, प्रभावका कारण कैयन सर्वसाधारणले न्याय नपाएको घटनाको आज अनुसन्धान हुँदै छ।

नेपालमा शान्ति सुरक्षाका चुनौतीहरू के–के हुन् ?

म संगठन प्रमुख भए पश्चात गुन्डागर्दी, बिचौलिया र तस्करको सञ्जाल छिन्नभिन्न र निमिट्यान्न पार्ने मेरो दृढ प्रतिबद्धता हो। अपराधविरुद्ध लडन चुनौती म देख्दिनँ। तर शान्ति सुरक्षा बहाल राख्न केही चुनौतीहरू रहेका छन्।

साधन स्रोतको अभाव छ, अन्तरदेशीय अपराधको सञ्जाल नियन्त्रण गर्ने चुनौती पनि छ। यसका लागि सरोकारवाला संस्थाहरूबाट प्रहरीलाई सहयोग र सहकार्य हुनु अपरिहार्य छ।

किनकि सुरक्षा भनेको आधारभूत विषय हो। हाम्रा केही कठिनाइ होलान्, तर त्यसलाई अधिकतम् व्यवस्थापन गरेका छौं।

विप्लव समूहको गतिविधिले शान्ति सुरक्षामा कस्तो असर पारेको छ ?

सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहका १०६५ जना पक्राउ परेका छन्। हालसम्म ६८५ जनाले पार्टी परित्याग गरेका छन्। अहिले विप्लव समूहको गतिविधि पूर्णतः निस्तेज भएको छ।

विप्लव समूहका कुमार पौडेलको इन्काउन्टरपछि प्रहरीमाथि मानव अधिकार आयोगले प्रश्न उठायो नि ?

जब प्रहरीमाथि आपराधिक समूहले फायर खोल्छ तब मात्र प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर खोल्दछ। सर्लाहीको घटनामा पनि यही भएको हो। त्यहाँ खटिएको कमाण्डरले परिस्थितिको आँकलन गरी विवेकसम्मत निर्णय गरेको छ।

म यति मात्र भन्छु यदि प्रहरीले कारबाही नगरेको भए प्रहरीले नै ज्यान गुमाउनुपर्दथ्यो। प्रहरीले पनि ऐन कानुनले दिएको अधिकार प्रयोग गरी काम गर्ने हो।

कानुनसम्मत काम गर्दा विभिन्न बहानामा हतोत्साहित तुल्याइयो भने त्यसले प्रहरीको मनोबलमा नकारात्मक असर पर्दछ। राज्यको कानुन कार्यान्वयन गर्ने निकाय दह्रो हुनुपर्दछ।

प्रहरी देखेर अपराधी काँप्नुपर्दछ। प्रहरीलाई निर्भिकतापूर्वक काम गर्न दिने वातावरण भएन भने त्यसको दूरगामी असर पर्छ, र प्रभावित हुने आम नागरिक र समाज नै हो।

सर्लाहीको घटनामा बारेमा अनेकन धारणा बनाउनु आवश्यक छैन। राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको पूर्ण पाठ हेरेको छैन सो सम्बन्धमा अहिले मेरो कुनै टिप्पणी छैन।

तपाईंको व्यावसायिक जीवनमै सबैभन्दा पेचिलो घटना निर्मला पन्तको हत्याको अनुसन्धान कहाँ पुग्यो ?

निर्मला पन्तको हत्याको घटना नेपाल प्रहरीको सर्वाधिक प्राथमिकताका विषय हो। हाल पनि उच्च प्राथमिकताको साथ अनुसन्धान गरिराखेका छौं। यस घटनाबाट हामीले शिक्षा लिएका छौं।

घटनाको अनुसन्धानको क्रममा अनुसन्धानमा संलग्न प्रहरीबाट नियतवश गल्ती भएको नभई घटनाको प्रकृतिअनुरूप जुन स्तरको गाम्भिर्यता र व्यावसायिकता प्रदर्शन गर्नुपर्ने थियो सो अनुरूप हुन नसकेको हो। तद्अनुरूपको कारबाही पनि भएका छन्।

हालै मात्र डीएनए परीक्षणका सम्बन्धमा राय पेस गर्न गठन भएको विज्ञ समितिको राय प्रतिवेदन आएको छ।
सम्भाव्य विधिहरू प्रयोग गर्दै घटनाको बारेमा निरन्तर अनुसन्धान गरिरहेको छ र अपेक्षित नतिजा प्राप्त हुनेमा हामी आशावादी छौं। यो घटनामा अनुसन्धानलाई निष्कर्षमा पुर्याई न्याय दिन म आतुर छु, आशा गरौं छिट्टै हामी नतिजा दिनेछौं।

प्रहरी प्रधान कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानी कागजात लगेर मोटरसाइकललगायतका सामान खरिदमा अनियमितता भयो भन्ने आरोप पनि लागेको छ, खासमा वास्तविकता के हो ?

मेरो कार्यकालमा संगठनले उचाइ लिँदै गर्दा अवरोध तेर्साउन खोज्ने स्वार्थ समूह र शक्ति देखा पर्ने कोसिस गरेका मात्र हुन्।

यसका लागि प्रोपोगान्डा बेच्न खोज्छन्, गुमराहमा राख्न सकिन्छ कि भन्ने संकीर्ण सोच भएका मानिसको मानसपटलमा सधैं त्यस्ता कुराले वास गरेको हुन्छ

ती सबै असफल प्रयत्न हुन, सत्य सत्य नै हो। ती अफवाह क्षणभरमा नै बिलाएर जान्छन्।जहाँसम्म सम्मानित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी प्रधानकार्यालयमा छापा हानी कागजात लगेको कुरामा कुनै सत्यता छैन।

सम्मानित आयोगले सार्वजनिक संस्थाहरूबाट आवश्यकताअनुसार जानकारी मगाउन सक्ने संवैधानिक अधिकार हो।

सार्वजनिक निकायहरूले पनि मागबमोजिमको तथ्यांक, विवरण उपलब्ध गराउनुपर्ने दायित्व रहेको छ र यो नियमित प्रक्रिया हो र हरेक सार्वजनिक निकायले निर्वाह गर्नुपर्ने अनिवार्य दायित्व पनि हो।

यस्ता नियमित प्रक्रियालाई अतिरंजित बनाई संगठनविरुद्ध प्रहार गर्नुभनेको चाहिँ गम्भीर विषय हो। प्रहरी प्रधानकार्यालयले खरिद गरेका हरेक सरसामान कानुनबमोजिम र निर्धारित प्रक्रियासम्मत भएका छन्।

प्रहरी महानिरीक्षक स्वयंमले खरिद गर्ने पनि होइन, त्यहाँ स्वतन्त्र खरिद समितिहरू हुन्छन्। उनीहरूले कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐनले दिएका अधिकार प्रयोग गरी खरिद गर्ने हो।

सामान खरिदमा कुनै अनिमियता भएको छैन, कदापि हुन दिने र गर्ने पनि छैन। नेपाल प्रहरी भनेको ३ करोड नेपाली नागरिकको साझा संस्था हो, न कि प्रहरी महानिरीक्षकको मात्र।

प्रहरी महानिरीक्षकले हामीले भनेको गरेन, मागेको दिएन भनेर संगठनलाई बदनाम गराउनु खोज्नु भनेको आफ्नै घरमा ढु·ा हानेसरह हो।

प्रहरीले गरेका राम्रा काममा कोहीकोहीको नजर नजाने, तर सामान्य त्रुटि, घटना एवम् अनुमानलाई ठूलाठूला अक्षरमा छापेर प्रचार–प्रसार गर्ने सोच र प्रवृत्तिले हामी कुन कुराको पक्षपोषण गर्दै छौं ?

तपाईंले संगठनको आन्तरिक विकासका के–के काम गर्नुभयो ?

प्रहरीलाई प्रलोभवनमा पार्न आउनेको विरुद्ध कारबाही अभियान सञ्चालन गरिएको छ। एक प्रहरी चौकी एक सवारी साधनको नीतिअनुरूप सवारी साधन बाँडिएका छन्। १ प्रहरी १ खाटको नीति लागू गरिएको छ भने भिड नियन्त्रणका लागि सबै प्रदेशमा वाटर क्याननको लक्ष्यअनुरूप ५ वाटर क्यानन खरिद भइसकेको छ।

१२ सालदेखि हनुमानढोकामा रहेको काठमाडौं परिसर, अपराध महाशाखाको लागि जग्गा प्राप्त गरी भवन निर्माणका लागि शिलान्यास भएको छ।

यस आर्थिक वर्षमा नेपाल प्रहरीका लागि कुल २,८२७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ भने यस वर्ष ७३० वटा प्रहरी कार्यालयमा शौचालय तथा स्नान गृहको निर्माण भएको छ।

प्रहरी प्रधानकार्यालयमा सुविधा सम्पन्न अडिटोरियम हल निर्माणको क्रममा रहेको छ। यस आर्थिक वर्षमा ७० जिल्ला प्रहरी कार्यालयहरूमा आवश्यक पर्ने सम्पूर्ण संरचना निर्माण हुनेछ। फरेन्सिक ल्याब, अस्पताल र स्कुलहरूको सेवा विस्तार गरिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याउनुभएको छ यसको प्रभावकारिता कस्तो पाउनुभएको छ ?

समुदाय–प्रहरी साझेदारी अपराध रोकथाम र सामुदायिक सुरक्षा सचेतना अभिवृद्धि गर्ने सोचले यो कार्यक्रम शुरू गरेको हुँ ।

यो गहन सोच र लामो अध्ययनपश्चात ल्याइएको अवधारणा हो।समाज परिवर्तन गर्न यो अवधारणा लागू गर्ने निर्णयमा पुगेको हुँ।

कार्यक्रम लागू गराउनुपूर्व राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय र अन्य सम्बद्ध मन्त्रालयहरू, स्थानीय तह, नागरिक समाज, शैक्षिक संस्थाहरू र अन्य सरोकारवालासँग सघन छलफल चलाएको थिएँ। त्यसबेला यस कार्यक्रमलाई सबै क्षेत्रबाट प्रशंसा भई सहयोगको आवश्सन पाएको थिएँ।

यस कार्यक्रममार्फत ७५३ वटै स्थानीय तहसँग समझदारी (एमओयू) भएको छ। देशव्यापी रूपमा समुदाय र विद्यालयहरूमा साझेदारी समितिहरू निर्माण भएका छन्। प्रहरी विद्यालयसम्पर्क कार्यक्रमबाट विद्यार्थी, शिक्षक र अभिभावकलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

यसै गरी हालसम्म करिब ८४ लाख नागरिकसँग विभिन्न माध्यमबाट प्रहरीले प्रत्यक्ष अन्तरक्रिया गरिसकेको छ।

लागूऔषध र साइबर अपराधविरुद्धका विद्यालय र सामुदायिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। समुदाय र स्थानीय सरकारको सक्रियतामा सिसी क्यामेरा जडानको कामले तीव्रता पाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम सामाजिक रूपान्तरणको माध्यम हुन सक्ने सम्भावना रहेको छ।

यसको माध्यमबाट अपराध र सामाजिक विकृति विसंगतिको न्यूनीकरणमा उल्लेख्य भूमिका खेल्छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम उत्साहप्रद ढंगले अगाडि बढेको छ।

केही समयअघि तपाईं इन्टरपोलको महासभामा भाग लिन जानुभएको थियो त्यसबाट नेपालले के उपलब्धि हासिल गर्न सक्छ ?

हालै चिलीमा सम्पन्न भएको ८८औं महासभामा विभिन्न मुलुकका प्रहरी चिफहरूसँग भेटघाट भई आपसी सहकार्य गर्ने छलफल भएको छ।

इन्टरपोलमार्फत नेपालमा अपराध गरी फरार रहेका ९ जना नेपालीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ।

इन्टरपोलबाटबाट हालै प्रकाशित भएको जर्नलमा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै लेख प्रकाशित भएको छ। अब अपराध गरेर विश्वका जुनसुकै कुनामा गएर बसे पनि प्रहरीले फिर्ता ल्याउन सक्ने आधार तय भएको छ।

तपाईंले गरेको प्रतिबद्धता कतिको कार्यान्वयन गर्नुभयो ?

मैले नेतृत्व लिँदा १६/१७ वर्षसम्म सई एउटै पदमा रहेका प्रहरी कर्मचारी थिए। वर्षौंसम्म रोकिएको बढुवा खोल्दा केहीले भन्दै थिए सकिन्न, तर मैले तत्काल बढुवा गरे, उनीहरूले ठूलो न्यायको महसुस गरे।

|त्यसपछि हालसम्म करिब ९ हजार ५०० बढुवा, ३३ हजारको सरुवा गरिएको छ। यसले पनि एउटा ऊर्जा थपेको छ।

हरेक व्यक्तिको वृत्ति विकासको अवसर रोकिएको छैन। वर्षांैदेखिको प्रयास तर सफल हुन नसकेको ट्राफिक प्रहरीको भत्ता निकास भएको छ।

संगठनभित्र रामो काम गर्ने करिव ८ हजार ५०० जनालाई पुरस्कृत गरिएको छ। सुशासनमा देशभरको सार्वजनिक निकायमध्ये सर्वोकृष्ट भई नेपाल सरकारद्वारा पुरस्कृत भएको छ। साथै बेरुजू फछ्र्याेटमा नेपाल प्रहरी सर्वोकृष्ट हुँदै गृह मन्त्रालयबाट पुरस्कार प्राप्त गरेको छ।

संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमअन्तर्गत एसिया इन्भाइरोन्मेन्टल इनफोर्समेन्ट अवार्ड २०१८ प्राप्त गर्नुका साथै अन्य अन्तराष्ट्रियस्तरको पुरस्कारसमेत प्रहरीले पाएको छ।

यसले पनि संगठनको गरिमालाई उँचो राख्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राखेको छ। मैले गरेको प्रतिबद्धता कार्यान्वयन भएका छन्, केही हुने क्रममा छन्।


अपराध नियन्त्रणमा प्रहरीले सञ्चालन गरेको अभियान नि ?

कसुरमा संलग्न रहेकाहरूलाई कसुरको आधारमा पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। लागूऔषधको बरामद विगत १५ वर्ष पश्चात यो वर्षको उच्च रहेको छ। फरार रहेका अपराधी पक्राउलाई तीव्रता दिइएको छ।

कुनै पनि ठूला जधन्य अपराध घटेका छैनन्, भन्सार चोरी निकासी रोकथाममा गत आर्थिक बर्ष करिब ३ अर्ब ४० करोड राजस्व दाखिला गरेको छ। यस वर्ष पनि दर उच्च छ। जबरजस्ती करणी र उद्योगका घटनामा ९७५ अपराधको सफल अनुसन्धान भएका छन्।

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनमा जघन्य अपराधमा अदालतबाट कसुर ठहरको प्रतिशत वृद्धि भएको देखाएको छ।

मानब बेचबिखनमा संलग्न रहेका कसुरदारलाई विदेशबाट समेत पक्राउ गरेर ल्याइएको छ। गत वर्षको तुलनामा २७.५ बढी अभियुक्तहरू पक्राउ परेका छन्।

कुबेत, लिबिया, भारत, ग्रिस, केन्या, किर्गिस्तान, इन्डोनेसियालगायतका विभिन्न मुलुक तथा स्वदेशका विभिन्न नाकाहरूबाट गरी कुल २६० जना मानव बेचविखनमा परेका पीडितको उद्दार गरिएको छ।

बालयौन दुराचारमा संलग्न ३०७ जना प्रतिवादी पक्राउ गरी  पीडितको उद्दार गरिएको छ।  किडनीको अवैध तवरबाट प्रत्यारोपण गरेको अभियोगमा संलग्नलाई कानुनी दायरामा ल्याइएको छ।
प्रहरीले अन्तर्राष्ट्रियस्तरमा समेत सहकार्य गर्दै आएका छ। नेपालको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको नेपालमा गरिएको सर्वेले पनि देखाएको छ। नेपालको शान्ति सुरक्षा भरपर्दो रहेको छ।
तर तपाईंले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको र संगठनभित्र गुटबन्दी गरेको आरोप पनि छ नि ?

मैले संगठनको हित र कल्याणका लागि सम्पूर्ण मेहनत र प्रयास लगाएको छु। संगठनभित्रका नकारात्मक पक्षलाई शुद्धीकरण गर्ने मेरो अभियान जारी रहन्छ।

नीलो पोसाकमा कुनै दाग र छिटा लाग्नुहुन्न भन्ने मेरो ढृढ मान्यता रहेको छ। म सम्पूर्ण ७९ हजार ५ सय २३ प्रहरीहरूलाई एउटै आँखाले हेर्छु।

संगठनको हित र प्रहरी कर्मचारीको कल्याणका लागि हामी सबै एउटै ग्रुपमा छौं। संस्थागत रूपमा म कार्यालय सहयोगीदेखि प्रहरी अतिरिक्त महानिरीक्षकसम्मको आईजीपी हुँ र सबैको अभिभावक पनि।

मेरो नजरमा नेपाल प्रहरी एकताबद्ध र सामाथ्र्यवान् संगठन हो। कुनै समूह  वा उप–समूहको झुन्ड होइन। यदि कसैले त्यस्तो आरोप लगाउँदछ भने त्यो नेपाल प्रहरीको सांगठनिक एकता खलबल्याउन खोज्ने तत्वको निराधारपूर्ण आरोप मात्र हो।

  •  सरकारको नीति कार्यक्रम, कानुन र विधिमा प्रहरी चल्छ
  •  सामान खरिदमा कुनै अनिमियता भएको छैन, कदापि हुन दिने र गर्ने पनि छैन
  •  म कुराभन्दा काम गर्न मन पराउने मान्छे हुँ
  •  प्रहरीको संस्थागत विकास र क्षमता अभिवृद्धिमा यथेष्ट लगानी गरिएको छ
  •  प्रहरी कसैको इसारामा हैन कानुन र विधिमा चल्छ
  •  आशा गरौं छिट्टै हामी नतिजा दिनेछौं
  •  प्रहरी देखेर अपराधी काँप्नुपर्दछ
  •  मेरो जीवनभर यो संगठनबाहेक अन्य केही पनि सोचिनँ
  •  नेपालमा शान्ति सुरक्षाको अवस्था राम्रो छ
  •  समुदाय प्रहरी साझेदारी कार्यक्रमले नयाँ जागरण ल्याएको छ

प्रतिक्रिया दिनुहोस्