विद्युत् प्राधिकरणद्वारा वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल विद्युत प्राधिकरणले प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ। प्राधिकरणले बुधबार प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत रहेका ६ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग डिभिजन कार्यालय प्रमुख केदारराज सिलवालले कार्यसम्पादन सम्झौता गर्नुभएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गर्नुभएको हो।

प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं १, २ र ३ का प्रादेशिक कार्यालय प्रमुख र कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग सम्झौता गरिसकेको छ।हेटौंडा डिभिजन कार्यालय अन्तर्गत प्रदेश नं ३ का चितवन, मकवानपुर र सिन्धुलीका २ लाख ५० हजार ग्राहक छन्।

डिभिजन कार्यालयको गत आर्थिक वर्ष २०७५/७६मा रहेको ७ दशमलव ३५ प्रतिशतको विद्युत् चुहावटलाई ५ दशमलव ७५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ। चालु आर्थिक वर्ष २०७६/७७को कात्तिकसम्मको विद्युत् चुहावट ७ दशमलव ४८ प्रतिशत छ। कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट चितवनको टाँडी वितरण केन्द्रको छ।

केन्द्रको १५ दशमलव ९७ प्रतिशतको चुहावटलाई १२ दशमलव शून्य ५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ। कात्तिकसम्ममा केन्द्रको चुहावट १५ दशमलव ९३ प्रतिशत छ।कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले केन्द्र प्रमुखलगायत सम्पूर्ण कर्मचारीको कामले ऊर्जामन्त्री, प्रधानमन्त्रीको कार्यसम्पादन देखिने भएकाले आफ्नो क्षेत्रमा शतप्रतिशत विद्युतीकरण र ऊर्जा खपत बढाउन सोहीअनुसार संरचना बनाउन केन्द्रित हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्