अफगानिस्तानमा जापनिज डाक्टरको हत्या



काबुल, (एजेन्सी)।

पूर्वी अफगानिस्तानमा भएको एक आक्रमणमा आफ्नो करियर नै अफगानी जनताको जीवनस्तर सुधार्न अर्पण गरेका एकजना जापानी डाक्टरको ज्यान गएको छ। सरकारी अधिकारीका अनुसार एउटा परियोजनाको अनुगमनका लागि कारमा जाँदै गरेका ७३ वर्षीय तेत्सु नाकामुराको बन्दुकधारीले गोली हानेर हत्या गरेका हुन्।

जलालावाद शहरमा भएको यस आक्रमणमा अन्य पाँचजना अफगानी पनि मारिएका छन्। अफगानिस्तानमा सिँचाइको अवस्था सुधार्न केन्द्रित एउटा जापानी दातृ निकायका डाक्टर नाकामुराले अध्यक्षको भूमिका निभाउँदै आएका थिए।

उनको निस्वार्थ मानव कल्याणकारी सेवाको कदर गर्दै गत अक्टोबरमा मात्र उनलाई अफगान सरकारले सम्मान स्वरूप नागरिकता प्रदान गरेको थियो। अझैसम्म सो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। साथै आक्रमणको उद्देश्य पनि स्पष्ट भएको छैन।

जापानी प्रधानमन्त्री सिन्जो आवेले डाक्टर नाकामुराको हत्याको खबर सुनेर आफू स्तब्ध भएको भन्दै उनको परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। यसैबीच राजधानी काबुलस्थित अमेरिकी दुतावासले यस घटनाको घोर भत्सर्ना गर्दै दातृ निकायका कर्मचारीलाई आक्रमणको तारो बनाउन नहुने बताएको छ।

अफगानिस्तानस्थित दि यनाइटेड नेसन्स एसिस्टेनट मिसन (यूएनएएमए)ले हत्याप्रति घृणा व्यक्त गरेको छ। अफगानिस्तानमा यस्तो हमला पटक पटक दोहरिने गरेको छ। गत सातामात्र संयुक्त राष्ट्रसंघको सवारी साधनलाई लक्षित गरी गराइएको विस्फोटनमा अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघीय कार्यालयमा कार्यरत एक अमेरिकी नागरिक मारिएका थिए। बुधबार बिहान पूर्वी प्रान्त नान्गारहारको जलालावादमा आफ्नो कारमा सवार अवस्थामा नाकामुरामाथि आक्रमण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्