उपनिर्वाचनले दिएको सन्देश



डा. टीकाराम पोखरेल

उपनिर्वाचनमा आफ्नो दल, उम्मेदवार वा शुभेच्छुकको हार र जित भएपछि सामाजिक सञ्जालमा जितमा बधाई दिनेदेखि हारबाट शिक्षा सिक्नुपर्ने उपदेशहरू बग्रेल्ती देखिए। जित्नेले खुशी मनाए। हार्नेहरूले शिक्षा लिनुपर्ने कुरा गरे। तर यस्ता सिक्नुपर्ने शिक्षामा आफू सुधार हुनुपर्ने कुरा भने कमै मात्रले गरे।

परिणाम हेर्दा नेकपाका लागि स्थिति पूरै बिग्रिसकेको नभए तापनि खतराको घन्टी बजेको देखिन्छ। निर्वाचन परिणामले दुई वर्षअगाडिभन्दा पार्टीको स्थिति अहिले केही खस्केको संकेत गर्दै नेकपालाई सुध्रिन सन्देश दिएको छ। नसुध्रेर यही स्थिति रहे अबको ३ वर्षपछि हुने आमनिर्वाचनमा नेकपाले उपनिर्वाचनको भन्दा थप गुमाउने देखिन्छ।

तपसिलका कुरामा सुधार गर्नुपर्ने भन्दै हारको जिम्मेवारीबाट नेता पन्छिने वा कार्यकर्ताले आफ्नो गुटको नेतालाई चोख्याउने कसरत गरेको धेरै पाइयो। तर जतिसुकै आफ्ना पक्षमा तर्क गरे पनि यो निर्वाचनले केही सन्देश प्रवाह गरेको छ। समग्रमा राजनीतिक दल, नेता र स्वयम् जनताले समेत उपनिर्वाचनबाट सिक्नु र बुझ्नुपर्ने सन्देश यी हुन सक्छन्।

जनताको मन जित्नुपर्ने

दलका नेताहरूले निर्वाचनको मुखमा आएर घाँटीमा माला भिर्ने र कार्यकर्ताको झुन्डमा हात जोड्दै शहर घुम्ने गरेर मात्र पुग्दैन। बरु निरन्तर जनताको मन जित्नुपर्ने सन्देश उपनिर्वाचनले पराजितहरूलाई सिकाएको छ। कुनै पनि निर्वाचन क्षेत्र कुनै पनि पार्टी वा नेताको पुख्र्यौली विरासत होइन, बरु जनताको विरासत हो।

त्यसैले कुनै निर्वाचन क्षेत्रमा अघिल्लो पटक आफ्नो दलले जित्यो भन्दैमा सधैँ त्यही दलले जितिरहने भन्ने होइन। हार्नेले जतिसुकै अन्तरघात र धाँधलीका कुरा गरे पनि ती विषय तपसिलका हुन्।

कतिपय ठाउँमा कांग्रेसले आफ्नो पूर्वनिर्वाचित सिटसमेत गुमायो। कांग्रेसले थप जति कमायो त्यो सबै आफ्नो कमाइ नभएर जनताको नेकपाप्रतिको असन्तुष्टिको मत मात्र हो। त्यसैले आन्तरिक समस्यामा फसेको कांग्रेसको स्थिति सुध्रेको छैन, मात्र नेकपा खस्किन शुरु गरेको फाइदा भने कांग्रेसलाई भएको छ। उपनिर्वाचनमा कांग्रेसले जितेको सिटमा कांग्रेसले जितेको होइन, नेकपा हारेको मात्र हो भन्दा उपयुक्त हुन्छ।

प्रमुख कुरा पराजितहरूले विजेताहरूको तुलनामा जनताको मन जित्न नसक्नु नै हारको प्रमुख कारण हो। यसैले हारको कारण अन्यत्र खोजेर पाइँदैन, आफैँभित्र खोज्नुपर्छ। निर्वाचनमा विजेता हुनका लागि पार्टी र नेताले जनताको मन जित्नुको अर्को विकल्प छैन।

जनउत्साहमा कमी

उपनिर्वाचनमा अपेक्षाकृत मत खसेन। स्वयम् निर्वाचन आयोगले नै ७० प्रतिशत मत खस्ने अपेक्षा गरेकोमा ६५ प्रतिशत मात्र मत खसेको भनिसकेको छ। अझ सबैभन्दा कम १६ प्रतिशत मत खसेको र त्यही मतका आधारमा विजय र पराजयको परिणाम घोषणा भएको पनि देखिएको छ।

बाँकी ८४ प्रतिशतले भोट नहाले पनि विजित हुने संवैधानिक र कानुनी व्यवस्था त एकातिर होला, तर राजनीतिक आँखाले हेर्दा जम्मा १६ प्रतिशत मत खसेको मत पनि बाँडिएर १३ प्रतिशत मतले जित्नेलाई कसरी जनप्रतिनिधि भन्ने प्रश्नचाहिँ उब्जिएको छ।

धरानजस्तो राजनीतिक चेतना भएको ठाउँमा समेत ६० प्रतिशतभन्दा कम मत खस्नु भनेको उपनिर्वाचनप्रति जनउत्साहमा कमी भन्ने देखिन्छ। दुर्गमको कुरै छाडौँ, सुगममा समेत कम मत खस्नु भनेको राजनीतिक दल र निर्वाचन आयोगले जनतामा निर्वाचनको उत्साह जगाउन नसकेको प्रस्ट देखिन्छ।

नेकपा नबिग्रेको तर खस्कँदो

२०७४ सालको आमनिर्वाचनमा झैँ यो उपनिर्वाचनमा पनि सत्तारुढ दल नेकपाले प्रतिपक्षी कांग्रेसको तुलनामा बढी सिटमा विजय हासिल गरेको छ। घोषित परिणाम हेर्दा अझै पनि नेकपा ठूलो दल देखिन्छ। तर उसले केही आफ्ना महत्वपूर्ण सिट भने गुमाएको छ। परिणाम हेर्दा नेकपाका लागि स्थिति पूरै बिग्रिसकेको नभए तापनि खतराको घन्टी बजेको देखिन्छ।

निर्वाचन परिणामले दुई वर्षअगाडिभन्दा पार्टीको स्थिति अहिले केही खस्केको संकेत गर्दै नेकपालाई सुध्रिन सन्देश दिएको छ। नसुध्रेर यही स्थिति रहे अबको ३ वर्षपछि हुने आमनिर्वाचनमा नेकपाले उपनिर्वाचनको भन्दा थप गुमाउने देखिन्छ।त्यसैले आगामी निर्वाचनका लागि नेकपाले आफूलाई सुधार गर्नु आवश्यक छ।

जोडिएको पार्टी फाटेको मन

नेकपा पार्टी एक त भयो तर नेताहरूको मन एक भएको देखिएन। नेकपा पार्टीभित्र पूर्वपार्टीहरूको अवशेष बाँकी नै भएको आभास निर्वाचनको परिणामले देखाउँछ। भक्तपुरको प्रदेशसभा र धरानको मेयरको निर्वाचनका लागि उम्मेदवार छनौट नै ठीक नभएको विश्लेषण नेताहरूले नै गरिरहेका छन्।

पूर्वमाओवादी र एमालेका नेताहरूलाई अब मात्र नेकपाका नेताका रुपमा एकले अर्कालाई स्वीकार गर्न नसक्नु सत्तारुढ पार्टीभित्रको समस्या देखिएको छ। धरानजस्तो कम्युनिस्ट किल्ला जहाँ पूर्वएमालेले एक्लै जितेको ठाउँमा अहिले पूर्वमाओवादी र एमाले एक भएपछिको नेकपाले गुमाउनु भनेको पार्टीभित्र मन मिल्न बाँकी भएर वा सर्वमान्य उम्मेदवार चयन हुन नसक्नु हो भन्ने प्रस्टै देखिन्छ।

नसुध्रेको कांग्रेस

उपनिर्वाचनमा कांग्रेसले भक्तपुर प्रदेशसभाको र धरान उपमहानगरको मेयरको सिट हात पारे पनि कांगे्रस सपेक्षाकृत सुध्रेको देखिएन, त्यसको सट्टा उसले केही गाउँपालिका र वडाका सिट पनि गुमाएको छ। कांग्रेसले दाबी गरेजस्तो निर्वाचनमा सत्ताधारी दल पत्तासाफ भएन।

बरु कतिपय ठाउँमा कांग्रेसले आफ्नो पूर्वनिर्वाचित सिटसमेत गुमायो। कांग्रेसले थप जति कमायो त्यो सबै आफ्नो कमाइ नभएर जनताको नेकपाप्रतिको असन्तुष्टिको मत मात्र हो। त्यसैले आन्तरिक समस्यामा फसेको कांग्रेसको स्थिति सुध्रेको छैन, मात्र नेकपा खस्किन शुरु गरेको फाइदा भने कांग्रेसलाई भएको छ। उपनिर्वाचनमा कांग्रेसले जितेको सिटमा कांग्रेसले जितेको होइन, नेकपा हारेको मात्र हो भन्दा उपयुक्त हुन्छ।

उस्तै मधेस केन्द्रित दल

उपनिर्वाचनको परिणाम हेर्दा मधेस केन्द्रित दलहरूमा पनि सुधार आएको देखिएन। परिणाम उनीहरूका लागि न ठूलो आशा, न ठूलो निराशा भयो। उनीहरूले थप जनमत आफ्नो हातमा पार्न सकेनन्, बरु विगतको आफ्नो केही सिट गुमाए।

राजपाले त खासै उपस्थिति देखाउन सकेन। संघीय समाजवादीले मधेस केन्द्रितबाट आफू राष्ट्रिय पार्टी भएको दाबी गरे पनि परिणाम भने उही मधेसतिरका केही सिटमा मात्र विजय हासिल गरेको देख्दा उसको राष्ट्रिय पार्टी भन्ने कुरामा दम नभएको प्रस्टै देखियो। यसपटक सिके राउतको पार्टीले समेत चुनावमा भाग लिए पनि सो पार्टीको पनि खासै जनाधार देखिएन।
जनताले नपत्याएका वैकल्पिकहरू

आफूलाई नयाँ र वर्तमान राजनीतिक शक्तिको वैकल्पिक शक्ति दाबी गर्ने साझा र विवेकशीलजस्ता पार्टीहरूलाई जनताले पत्याएनन्। उनीहरू न जनताको साझा हुन सके, न विवेकशील नै बनेर आफूलाई जनतासामु देखाउन सके।

उनीहरूको मत उनीहरूले अपेक्षा गरेको जति त आएन नै। उनीहरूले प्राप्त गर्ने मतमा विश्लेषकको समेत अनुमान मिलेन। यो हेर्दा अहिले पनि जनमत पुरानै दहहरूप्रति देखिन्छ। नयाँहरूले आफूलाई जति अब्बल दाबी गरे पनि जनताले उनीहरूको दाबीलाई अनुमोदन गरिदिएनन्। वैकल्पिकहरू दाबीमा वैकल्पिक भए पनि विचार, व्यवहार र संस्कारमा वैकल्पिक हुन सकेनन्।

परिवर्तन जनअपेक्षा

२०७४ सालको निर्वाचनको परिणाम र अहिले उपनिर्वाचनको परिणामलाई तुलनात्मकरुपमा दाँजेर हेर्दा तात्विक अन्तर नदेखिए पनि जनता दलहरूको आलापालो र परिवर्तन चाहन्छन् भन्ने कुरा देखिएको छ। विगतमा केही नेकपाले जितेकोमा कांग्रेसले जित्नु र कांग्रेसले जितेकोमा नेकपाले हात पार्नु जनताको आलोपालोको चाहना हो।

धरान, भक्तपुर, चितवनजस्ता ठाउँ यसका उदाहरण हुन्। जहाँ हिजो नेकपाले जितेको ठाउँ आज कांग्रेसको हात पर्यो। त्यस्तै केही गाउँपालिकामा कांग्रेसले हिजो जितेको स्थान गुमायो। मूलतः जनता एउटै पार्टीलाई सधैँभरि सत्तामा राख्न पनि चाहन्नन्, बरु आलोपालो सत्तारुढ बनाउन चाहन्छन् भन्ने देखिन्छ।

उपनिर्वाचनले ठूलो परिवर्तन ल्याउने त होइन तर उपनिर्वाचनको चुनावी परिणाम दलहरूलाई भविष्यको चुनावी रणनीति बनाउन आधार बन्न सक्छ। जुन दलले उपनिर्वाचनको सन्देशलाई आत्मसात् गर्दै अगाडि बढ्छन् ती दलहरूले नै भोलिको जनमत आफ्नो पक्षमा पार्छन्।

तर जसले यो उपनिर्वाचन केही पनि होइन भन्छ, उसले भोलि जनमत गुमाउन सक्छ। त्यसैले राजनीतिक दलहरूका लागि आगामी तीन वर्षपछि हुने निर्वाचनका निम्ति यो उपनिर्वाचन पूर्वसूचक हो। दलहरूले सतर्क भई आ–आफ्नो कमजोरी सच्याउनु जरुरी छ।

 

 

प्रतिक्रिया दिनुहोस्