उसुमा विजय र सुस्मिताले स्वर्ण जित



नेपाल समाचारपत्र, काठमाडौं। 

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् मंगलबारदेखि शुरू भएको उसुतर्फ २ स्वर्ण जित्न सफल भएको छ। विजय सिन्जालीले पुरुषतर्फ र सुस्मिता तामाङले महिलातर्फ नेपालका लागि स्वर्ण जितेका हुन्।

विजयले चान क्वान थाउलोमा ९.४८ अंकसहित स्वर्ण हात पार्दा बंगलादेशका मोहम्मद ओमार रजतमा सीमित भए।

उनले ९.३४ अंक जोडेका थिए। यस्तै सुस्मिताले ९.४४ अंकसहित स्वर्ण हासिल गरेकी हुन्। रजत पदक जितेकी श्रीलंकाकी पीएचजी वाथसालाले ८.४४ अंक लिएकी थिइन्।

वीर र काजललाई स्वर्ण

१३औं सागअन्तर्गत् तेक्वान्दोमा नेपालले थप २ स्वर्ण जितेको छ। नेपालका लागि वीरबहादुर महराले ग्यारोगी पुरुष ६८ केजी तौलमुनि पाकिस्तानका मोहम्मद फहिमलाई ४१–३६ ले हराएर स्वर्ण जिते।

सोही विधाको महिला ४७६ केजी मुनि काजल श्रेष्ठले स्वर्ण जितेकी हुन्।काजलले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ अंकको फराकिलो अन्तरले माथ खुवाएकी हुन्। यो समेत गरी तेक्वान्दोमा नेपालले कूल ९ स्वर्ण हासिल गरेको छ। 

तर नीमा गुरुङ भने महिला ५७ केजी तौलमा फाइनलमा पराजित भएर स्वर्णबाट वंचित भइन्। उनले भारतकी कसिस मालिकसँग ८–७ अंकले हार्दै रजतमा चित्त बुझाउनु पर्यो। यस्तै पुरुष ५४ केजीमा मनोज मल्लले कांस्य पदक हासिल गरेका छन्।

महिला भलिबलमा नेपाल रजतमै

१३औं सागअन्तर्गत् महिला भलिबलतर्फ नेपालले रजतमै चित्त बुझाएको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनल खेलमा नेपालले भारतसँग ५ सेटमा हार बेहोर्नु परेको हो।

यो हारसँगै नेपालले रजत पदक हासिल गरेको छ। नेपाली महिला भलिबलले यसअघि तीन वटा सागमा कांस्य पदक जितेकोमा यसपटक स्वर्ण जित्ने अनुमान गरिएको थियो।

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–२३, २५–२१ ले जित्दै खेलमा रोमाञ्चक थपेको थियो।

चौथो सेटमा भने भारतले पुनरागमन गर्दै २५–२० ले नतिजा आफ्नो पक्षमा पार्यो। तर निर्णायक तथा पाँचौं सेट भने एकपक्षीय रह्यो। सो सेट १५–६ ले गुमाउनुका साथै नेपाल रजतमै सीमित भयो। कांस्य पदक श्रीलंकाले जितेको थियो।

टंकले कांस्य पदक जिते

१३औं सागअन्तर्गत पुरुषको १५ सय मिटर दौडमा नेपालका टंक कार्कीले कास्य जितेका छन्। मंगलबार भएको दौडमा टंकले निर्धारित दुरी ३ मिनेट ५९.२० मा पुरा गरे। भारतका अजयकुमार सारो र अजित कुमारले क्रमशः स्वर्ण र रजत हासिल गरेका थिए।

फुटबलमा शानदार जित

१३औं सागअन्तर्गत् पुरुष फुटबलमा नेपालको शानदार शुरूवात भएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले हराएको हो।

नेपालको जितमा कप्तान सुजल श्रेष्ठले २ तथा अभिषेक रिजाल र मिक्छेन तामाङले १–१ गोल गरेका थिए। सुजलले खेल शुरू भएको पाँचौ मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि शुरू भएको पाँचौ मिनेटमा उनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए।

क्रिकेटमा पराजित

१३औं सागअन्तर्गत् पुरुष क्रिकेटमा नेपालले पराजय बेहोरेको छ। त्रिवि मैदानमा भएको खेलमा नेपालले श्रीलंकासँग ६ विकेटले हार आत्मसात गरेको हो।

श्रीलंकाको यु २३ टोलीले नेपालले दिएको १ सय ७३ रनको विशाल लक्ष्य ५ बल बाँकी राखी ४ विकेट गुमाएर प्राप्त गर्यो। नेपालका लागि पवर्न शर्राफले दुई विकेट लिएका थिए।

यसअघि नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतिमा १ सय ७२ रन जोडेको थियो। टोलीका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७२ रन जोडे। उनले ४४ बलको सामना गरेर ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

टीम इभेन्टमा नेपाल बाहिरियो

१३औं सागअन्तर्गत् टेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलबाट बाहिरिएका छन्। नेपालका दुबै टिम भारतसँग समान ३–० ले पराजित भयो।

सिंगल्सतर्फ प्रवण खनाल मनिष सुरेश कुमारसँग ६–१ र ६–० ले पराजित भए। अर्को सिंगल्समा संरक्षक बज्राचार्य साकेथ माइनेनीसँग ६–१ र ६–१ ले हारेपछि डबल्स अघि नै भारतले फाइनलमा स्थान बनायो।

स्वर्णका लागि भारतले पाकिस्तानको सामना गर्नेछ।महिलातर्फ सलोनी तामाङ भुवना काल्भासँग ६–२ र ६–१ ले तथा प्रेरणा कोइराला सत्विका समासँग ६–१ र ६–० ले हारे।

डबल्समा प्रेरणा र सलोनीको जोडी प्रेरणाभाम्ब्री र श्रब्याशिभानी चिलाकलापुडीसँग ७–५ र ६–१ ले पराजित भए। महिला टिम इभेन्टको फाइनलमा भारतले श्रीलंकासँग खेल्नेछ।

नवीन र सुनीतालाई स्वर्ण

१३औं सागअन्तर्गत् कराँतेतर्फ नवीन रसाइली र सुनीता महर्जनले नेपालका लागि थप स्वर्ण ल्याएका छन्। सुनीताले महिलातर्फ ६८ केजी तौलमा स्वर्ण जितेकी हुन्।

उनले सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा पाकिस्तानकी कुल्सुनलाई ८–२ अंकले पछारेकी हुन्। नवीनले भने स्वर्ण जित्न निकै पसीना बगाउनु पर्योे।

उनले प्रतिद्वन्द्वी पाकिस्तानका अहमद नासिरलाई ८–६ अंकको झिनो अन्तरले हराउन सफल भएका हुन्। कराँतेमा पनि नेपालले कूल ९ स्वर्ण हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्