डेपुटी गभर्नरमाथिको छानबिन प्रतिवेदन अर्को साता बुझाउने तयारी



नेपाल समाचारपत्र, काठमाडौं।

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठित समितिले अर्को साता आफ्नो रायसहितको सुझाब बुझाउने भएको छ। समितिका संयोजक तथा राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेलले आवश्यक अनुसन्धान भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभया–‘लगभग सबै काम सकियो, केही केहीमात्र बाँकी छन्, अब श्रेष्ठजीसँग आवश्यक सोधपुछ गर्ने तयारीमा छौं।’

छानबिन समितिले श्रेष्ठसँग अहिलेसम्म कुनै लिखित वा मौखिक स्पष्टीकरण नमागेको उहाँको भनाइ छ। उहाँले लिखित नभई उनीसँग मौखिक स्पष्टीकरण सोधिने बताउनुभयो।

सरकारले श्रेष्ठमाथि तीन वटा आरोप लगाएको छ। त्यसपछि मन्त्रिपरिषद्को बैठकले उनीमाथि छानबिन गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको थियो।

श्रेष्ठमाथि अनुसन्धान गर्न पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुवोधकुमार कर्णको समिति गठन गरिएको छ।

समिति गठनसँगै श्रेष्ठ निलम्बनमा छन्।यसैबीच निलम्बनमा रहेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ४८ पृष्ठ लामो स्पष्टिकरण बुझाएको राष्ट्र बैंक स्रोतले बताएको छ। छानबिन समितिमा भने सो स्पष्टिकरण पुगेको छैन।

छानबिन समितिले राष्ट्र बैंकका अन्य अधिकारीसँग बयान सकेपछि मात्र श्रेष्ठसँग लिखित वा मौखिक बयान लिने बताएको छ।

राष्ट्र बैंक स्रोतबाट प्राप्त जानकारी अनुसार श्रेष्ठले डेपुटी गभर्नरको एकल निर्णयबाट राष्ट्र बैंकमा निर्णय नहुँने र डेपुटी गभर्नर कार्यकारी भूमिकामा नहने दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्