बिरामीको बाध्यता 



सरकारी अस्पतालले बिरामीको चाप थेग्न नसक्नु र मागअनुसार स्तरीय स्वास्थ्य सेवा दिन नसक्नाले निजी क्षेत्रबाट अस्पताल खुल्ने क्रम तीव्ररुपमा बढेको छ।
धेरैजसो रोगको उपचारका लागि अब विदेश जानुपर्ने स्थिति पनि छैन। ईसीजी, इको, सिटी स्क्यान, एमआरआई जस्ता विशेष स्वास्थ्य सेवासहित स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, अप्रेसन एवम् अन्य उपचार सेवा एउटै छानामुनिबाट प्राप्त गर्न सकिने भएको छ। सरसर्ती हेर्दा स्वास्थ्य सेवामा निजी अस्पतालहरूको योगदान सरकारी अस्पतालको तुलनामा कम आँक्न सकिँदैन।
मुलुकमै अस्पतालको संख्या बढ्दो छ। कुनै पनि वस्तु वा सेवा बढी मात्रामा उपलब्ध भएमा त्यसको मूल्य घट्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हो तर स्वास्थ्य सेवामा भने यसको उल्टो भएको छ। निजी अस्पतालले असुल्ने महँगो शुल्कका कारण सर्वसाधारण बिरामीको पहुँच ती अस्पतालमा पुग्न सकेको छैन।
फेरि सबै अस्पताल शहर केन्द्रित भएकाले अधिकांश ग्रामीण जनता आधारभूत स्वास्थ्य सेवा पाउनबाट पनि वञ्चित भएका छन्। विशेष गरी राजधानी काठमाडौंमा निजी क्षेत्रमा खुलेका अस्पताल अत्यधिक छन्।
तर दिनभरि कमाएर बेलुका खानुपर्ने परिवारका लागि ती अस्पताल खुलेका होइनन् जस्तो लाग्छ। स्तरीय अस्पताल धनीवर्गका लागि मात्र खुलेका हुन् कि जस्तो ती अस्पतालले विभिन्न नाममा असुल्ने शुल्कले नै जनाउँछ।
सरकारी अस्पतालमा उपचार गराउन त्यहाँको कोही चिनेको हुनुपर्ने वा भनसुन गर्नुपर्ने परम्पराजस्तै भएको छ। एउटा अप्रेसन गर्न वर्षौं पालो पर्खनुपर्दा त्यतिन्जेल मृत्युको मुखमा पुगिसक्ने भएकाले घरखेत बेचेर भए पनि बिरामीले निजी अस्पतालतिर दौडनुपर्ने बाध्यता छ।
यही बाध्यताको फाइदा निजी क्षेत्रका अस्पतालले उठाउँदै आइरहेका छन्। सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएर केही राहत त मिलेको छ तर यसको व्यवस्थापन राम्रोसँग हुन सकेको छैन।
उदाहरणका लागि मध्यपुर ठिमी, भक्तपुरको कोरियन अस्पताल नै काफी छ। जहाँ काउन्टरमा लाइन, बीपी चेक गर्न लाइन, डाक्टरकोमा लाइन, ल्याबमा लाइन अनि औषधि लिन लाइन, जता पनि लाइन बस्दा पूरै दिन माया मार्नुपर्छ।
साथै ल्याब टेस्टको रिपोर्ट लिन जाँदा पनि लाइन बस्दा उत्तिकै हैरान। अनि बिरामी सम्पत्ति बेचेर भए पनि निजी अस्पतालमा जान बाध्य किन नहोस्।
– सुयोग त्रिपाठी, मध्यपुर ठिमी, भक्तपुर

प्रतिक्रिया दिनुहोस्