मेलम्चीको काम रफ्तारमा



काठमाडौं, (नेस)।

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रोले काम थालेको एक महिना बितिसकेको छ।

सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणका लागि गरी दुई छुट्टाछुट्टै ठेक्का चिनियाँ ठेकेदार कम्पनीले पाएको छ। कम्पनीले सुरुङको १२ महिनाभित्र र हेडवक्र्सको काम १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य तय गरेर काम गरिरहेको छ।

मेलम्चीको काम अन्तिम चरणमा आइपुग्दा इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेको थियो। त्यसको ६ महिनापछि चिनियाँ कम्पनीको छनोट गर्दै आयोजनाको बाँकी रहेको काम गरिरहेको छ।

सीएमसीले मेलम्चीको सुरुङको काम करिब १ किमि ढलान र सपोर्टको काम छोडेको थियो भने मुहान (हेडवक्र्स) निर्माण गर्नै बाँकी राखेको थियो। त्यस्तै तीनवटा भेन्टिलेसन साफ्ट (सुरुङको हावा फाल्न) निर्माण, टनेल गेटसमेत निर्माण गर्न बाँकी थियो।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले सुरुङको फाइनल सपोर्ट, रक बोल्टलगायत सुरुङको हेडवक्र्सको कामसमेत शुरू भएको बताउनुभयो। ‘चिनियाँ कम्पनीले काम थालेको एक महिना भइसकेको छ। काम रफ्तारमा गइरहेको छ।’ –उहाँले भन्नुभयो।

ठेकेदार कम्पनी खटेको शुरूको दिनमा सीएमसीसँग भुक्तानी लिनुपर्ने स्थानीय मजदुर र स्थानीय निर्माण व्यवसायीको आन्दोलनले गर्दा काम रोकिए पनि त्यसपछि भने काम नरोकिएको उहाँले बताउनुभयो।
तोकिएको अवधिभित्र मेलम्चीको पानी काठमाडौं ल्याइपुर्याउने लक्ष्य आयोजनाले लिएको छ।

यहीअनुसार दु्रत गतिमा काम गर्न गराउन ठेकेदार कम्पनीसँग विस्तृत कार्ययोजनाअनुसार काम गराइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले जानकारी दिनुभयो।

बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको यस आयोजनाले २७ किलोमिटर सुरुङमार्ग पार गर्दै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना छ।

प्रतिक्रिया दिनुहोस्