प्रचण्डले बोलाउनुभयो सचिवालय बैठक



काठमाडौं, (नेस)।

पार्टी एकीकरणको डेढ वर्षपछि पार्टीभित्र कार्यकारी भूमिका पाउनुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बुधबार सचिवालय बैठक बोलाउनुभएको छ।

पार्टीको कार्यकारी जिम्मेवारी प्राप्त गरेपछि उहाँले दोस्रोपटक सचिवालय बैठक बोलाउनुभएको हो। यसअघि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाँदा पहिलोपटक प्रचण्डको नेतृत्वमा सचिवालयको बैठक बसेको थियो।

उहाँले अस्पतालमा उपचारत पार्टीका अध्यक्ष ओलीसँग परामर्श गरेर सचिवालय बैठक बोलाउनुभएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएको जानकारी दिँदै बैठकमा सामान्य एजेन्डामा छलफल हुने बताउनुभयो।

सचिवालय बैठक बोलाउनुअघि प्रचण्डले पार्टीका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको थियो। सचिवालय बैठकबाट प्रचण्डले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने तयारी गर्नुभएको छ। पार्टी एकीकरण भएको डेढ वर्षभन्दा बढी समय बितिसक्दासमेत केन्द्रीय समितिको बैठक बस्न सकेको छैन।

नेकपाको केन्द्रीय समितिको संख्या ४ सय ४५ सदस्यीय रहेको छ। नेकपाभित्र पोलिटब्युरो गठनको कामले पनि पूर्णता पाउन सकेको छैन।

यसअघि बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्