विविध कार्यक्रमसहित २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो



प्रताप बानियाँ, म्याग्दी ।

‘पहुँचयुक्त भविष्य, बनाउनेछौं अवश्य’ भन्ने मूल नारासहित मङ्गलबार म्याग्दीको बेनीमा २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस–२०७६ मनाइएको छ ।

बेनी नगरपालिकाको सहयोग, बेनपास्थित अपाङ्ग सञ्जाल बेनी, बौद्धिक अपाङ्गता अभिभावक संघ, अपाङ्ग–बहिरा–नेत्रहिन संघ म्याग्दीको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर जिल्लाको विभिन्न ठाउँका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्रीहरु सहयोग गरिएको छ । सहायता सामग्रीको अभावमा कष्टपूर्ण जीवन बिताइरहेका म्याग्दीका १८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्रीहरु सहयोग गरिएको अपाङ्ग संघ म्याग्दीले जनाएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आर्थिक सहयोगमा सहायता सामग्रीहरु खरिद गरी अपाङ्गहरुलाई वितरण गरिएको हो ।

सहायता सामग्रीको सहयोग विना हिँडडुल गर्न समस्या भोगिरहेका ६ जनालाई सादा लठ्ठी, ५ जनालाई ह्वीलचियर, ४ जना दृष्टिविहिनलाई सेतो छडी र ३ जनालाई बैसाखी उपलब्ध गराइएको अपाङ्ग संघका जिल्ला सचिव सुरेन्द्र केसीले जानकारी दिएका छन् ।

कार्यक्रमको अवसरमा बाल जागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गता स्रोतकक्षा र धौलागिरी माविको बहिरा स्रोतकक्षामा अध्ययनरत सुस्तश्रवण विद्यार्थीहरुलाई खेलकुदजन्य विभिन्न प्रतियोगितामा सहभागी तथा उत्कृष्ट स्थान हासिल गरेकोमा शिक्षा विकास तथा समन्वय इकाइले पुरस्कृत गरेको छ ।

उक्त सहायता सामग्री तथा नगद र प्रमाणपत्रसहितको पुरस्कार बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, जिल्ला समन्वय अधिकारी ज्ञानराज कोईराला र अपाङ्ग संघका जिल्ला अध्यक्ष गोपाल केसीले अपाङ्गता व्यक्ति र प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई वितरण गरेका थिए ।

सामग्री एवं पुरस्कार वितरण गर्दै बेनपाका उपप्रमुख बरुवालले अपाङ्गता भएका व्यक्तिहरुलाई सबैले सहयोग र अवसर दिएको खण्डमा समाज परिवर्तन गर्न सक्ने क्षमता रहेको बताइन् । उनले नगरपालिकामार्फत अपाङ्गताको क्षेत्रमा विभिन्न कार्यक्रम तथा व्यक्तिहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । सहायक प्रजिअ सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मबल बलियो बनाएर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कार्की, समन्वय अधिकारी कोईराला, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, बेनी नगर कार्यपालिका सदस्य गोरी दर्जी, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमर बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष तारानाथ शर्मा, अपाङ्ग उत्थान समाज पर्वतका सचिव जमुना आचार्य र धौलागिरी मावि सिङ्गाका प्रधानाध्यापक डण्डपाणी सापकोटाले मन्तव्य राखेका थिए ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गरेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा व्यानर र प्लेकार्डसहित प्रभातफेरी ¥याली आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्