क्रिकेटमा अञ्जलीको कीर्तिमान



पोखरा, (नेस) ।
अञ्जली चन्दको कीर्तिमानी बलिङसँगै १३औं दक्षिण एशियाली खेलकुदअन्र्तगत महिला क्रिकेटमा नेपालले ऐतिहासिक जित निकालेको छ।

आयोजक नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १० दशमलव १ ओभरमा १६ रनमै समेटिएको थियो। माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोड्नु बाहेक अन्य शून्यमै पवेलियन फर्केका थिए। जितका लागि १७ रनको लक्ष्य नेपालले पहिलो ओभरमै भेटायो। मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन्।

२ दशमलव १ ओभरमा २ मेडनसहित रन नदिई ६ विकेट लिएकी अञ्जली चन्द प्लेयर अफ द म्याच घोषित भइन्। यो टी–ट्वान्टीमा कीर्तिमान हो। त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटाले बताउनुभयो। १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ।

ब्याडमिन्टनमा कांस्य
१३औं सागअन्तर्गत् ब्याडमिन्टनतर्फ पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कांस्यमा चित्त बुझाएको छ। पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित भएपछि नेपाल फाइनल पुग्नबाट वञ्चित भएको थियो। पुरुष टिमतर्फ नेपाललाई ३–१ को सेटमा हार्नेक्रममा एकमात्र जित प्रिन्स दाहालले हात पारेका थिए।

प्रिन्सले श्रीलंकाका रन्थुस्का ससिन्डु करुणाथिलाकेलाई २१–१८, १९–२१ र २१–१९ ले हराएका थिए। जबकी नेपालका शीर्ष खेलाडी रत्नजीत तामाङ र दिपेश धामी भने सिंगल्स र डबल्समा पराजित भएका थिए। त्यस्तै महिला टिमतर्फ ३–० को सेटमा नेपाल पराजित भयो। नेपालका शीर्ष खेलाडी नङसल तामाङ, सिमा राजवंशी र अनुमाया राई सोझो सेटमै हारेका थिए।

प्रतिक्रिया दिनुहोस्