ठाउँ चिनाउन फेरि भिडियो च्यालेन्ज



वि विल राइज फाउन्डेसनको आयोजनामा हुने राष्ट्रव्यापी अभियान मेरो गाउँ, मेरो ठाउँ, भिडियो च्यालेन्ज–२०२० को शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच औपचारिक घोषणा गरिएको छ।

यो कार्यक्रम ठीक १ सय दिन चल्नेछ। सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरू पठाइसक्नुपर्ने प्रावधान राखिएको छ भने सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फुल एचडी हुनुपर्ने र समय अधिकतम ५ मिनेट हुनुपर्ने व्यवस्था गरिएको छ। निर्णायक मण्डलले प्रतियोगितामा सामेल भिडियोमध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन्।

छनोटमा परेका १० उत्कृष्ट भिडियोलाई आगामी अप्रिलमा कार्यक्रम गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराए। सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपालीलाई सार्थक बनाउन र हामी नेपाली उठ्नेछौं भन्ने मनोभावका साथ कार्यक्रम अगाडि बढाइने आयोजकले जनाए।

कार्यक्रममा नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य वि विल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ, कार्यक्रम संयोजक प्रभात रिमाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्