बालअधिकारको ३० वर्ष प्रतिवेदनमा



काठमाडौं, (नेस),

बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाको संयुक्त सहकार्यमा तयार गरिएको ‘नेपालमा बालअधिकारको अवस्था’ प्रतिवेदन राजधानीमा सार्वजनिक गरिएको छ।

चाइल्ड फन्ड जापान, प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, एसओएस बालग्राम नेपाल, टेरे देश होम्स र वल्र्ड भिजन इन्टरनेसनलको संयुक्त सहकार्यमा तीन वर्ष लगाएर सो प्रतिवेदन तयार गरिएको हो।

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको ३० वर्षको वार्षिकोत्सवको अवसर (१९९०–२०१९) पारेर सो प्रतिवेदन सार्वजनिक गरेको हो।

एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, बालअधिकारकर्मी चेतना केसी र आरजु विक, प्रहरी प्रधानकार्यालयको महिला तथा बालबालिका निर्देशनालयकी प्रहरी नायब उपरीक्षक छिरिङकृपा लामालगायतले सो प्रतिवेदन सार्वजनिक गरेका हुन्।

बालअधिकार महासन्धिमा नेपालले अनुमोदन गरेयताका ३० वर्षको अवधिमा नेपाल सरकारले बालअधिकारको क्षेत्रमा प्राप्त गरेको सफलता उपलब्धि, यसका चुनौतीलगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्