बोक्सीको आरोपमा महिलामाथि कुटपिट 



नेपाल समाचारपत्र, बैतडी। 
बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उहाँकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताउनुभयो।

उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर उत्तरामाथि कुटपिट भएको महराले बताउनुभयो। बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि शनिबार राति नै जिल्ला अस्पताल बैतडी पुर्याइएको छ।

उत्तरामाथि कुटपिट भएको पुर्चौंडी नगरपालिका–९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टि गर्नुभयो। उत्तरामाथि कुटपिट भएको भन्ने कुरा सुनेपछि आफू गाउँमै पुगेको र उहाँमाथि कुटपिट भएको उहाँले बताउनुभयो। कुटपिटको कारण भने खुल्न नसकेको उहाँको भनाइ छ।
एकल महिला उत्तरामाथि बोक्सीको आरोपमा कुटपिट गरिएकाले आफू दिदीको उपचारकै लागि धनगढीबाट बैतडी पुगेको शेरबहादुर महराले बताउनुभयो। कुटपीट गर्नेहरूको नाममा मुद्दा दिने तयारी गरिरहेको उहाँले बताउनुभयो।

बोक्सीको आरोपमा महिलामाथि कुटपिट भयो भन्ने खबर आएको  प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो। उहाँले शनिबार खबर पाएको घाइतेको उपचार गर्न आग्रह गरेको बताउनुभयो। बोक्सीको आरोपमा अथवा जुनसुकै हिसाबले कुटपिट गरिएको रहेछ भने कुटपिट गर्नेमाथि कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्