‘नीतिगत स्पष्टता चाहियो’



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ । सरकारीस्तरबाट भ्रमण वर्ष मनाउन लागिएको यो तेस्रो पटक हो । भ्रमण वर्ष शुरू हुन एक महिना बाँकी हुँदा भ्रमण वर्षको तयारी कस्तो छ, विगतका अनुभवबाट के सिक्न सकियो भन्ने, भ्रमण वर्षमा के कुराको आवश्यकता छ, कसरी भ्रमण वर्ष सफल बनाउन सकिन्छ, कहाँ के कमजोरी भएको छ भन्नेलगायतका विषयमा नेपाल समाचारपत्रको नेपाल भ्रमण वर्ष २०२० विशेषाङ्कका निम्ति पर्यटन क्षेत्रमा सरोकारवालासँग परिवर्तन देवकोटाले गरेको कुराकानी ः

नवराज दाहाल
पूर्वअध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल (टान)

भ्रमण वर्षको तयारीलाई कसरी हेर्नुभएको छ ?

भ्रमण वर्षको तयारी भएको छ तर त्यो पूर्ण सन्तोषजनक छैन। नेपाल भ्रमण वर्ष–२०२० सरकारले घोषणा गरेको छ। यसको उद्देश्य नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्याउने हो। मुलुकको आर्थिक समृद्धिका लागि यसको महत्वपूर्ण भूमिका हुन्छ।

भ्रमण वर्षको घोषणाले हामी पर्यटनव्यवसायी स्वभाविकरूपले उत्साहित भएका थियौं। यसको घोषणापछाडि त्यसका गतिविधि राम्रै तवरले अघि बढिरहेको थियो। दुर्भाग्यवश तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी दिवंगत हुनुभयो।

त्यसपछि तत्काल पर्यटनमन्त्री हामीले पाएनौं। त्यसपछि बीचमा यसका गतिविधि अलि सुस्ताउन गयो। तर, अहिले फेरि हामीले पर्यटनमन्त्री पाएका छौं। आशा भरोसा र धेरै अपेक्षा गरिएको युवा नेता माननीय योगेश भट्टराई मन्त्रालयमा आउनुभएको छ।

उहाँ आएपछि पर्यटन प्रवद्र्धनका काम पुनः अघि बढेका छन्। यद्यपि जति हुनुपर्ने हो भ्रमण वर्ष सफल बनाउनका लागि त्यति भएको चाहिँ छैन।हामीले पर्यटकलाई ल्याउनका लागि पर्यटकलाई दिइने सेवा सुविधा र आकर्षित गर्ने विषयवस्तु के–के हुन् ?

जस्तै, २०१५ मा भूकम्प गयो, काठमाडौंलगायत महत्वपूर्ण पर्यटकीय ठाउँहरू, भ्युटावरहरू क्षतविक्षत भयो। तिनीहरूको पुनःसंरचना अझै पनि हुन सकेको छैन। सबैले बुझेको कुरा, धरहरा, रानीपोखरीलगायतको अवस्था त्यस्तो छ। काठमाडौं, पाटन, भक्तपुर दरबार स्क्वायरमा हुनुपर्ने पुनर्निर्माण भएको छैन।

दोस्रो कुरा, पूर्वाधार हो। अहिले समग्र देशको पूर्वाधारको विकास आवश्यकता त छ। तर, अहिले पर्यटनको कुरा गरिरहँदा पर्यटकलाई तत्काल दिन सक्ने सेवा–सुविधा र तत्काल आकर्षित गर्ने पूर्वाधार विकासतर्फ हामी लक्षित हुनुपर्ने हो, त्यो अलि सुस्ताएको छ।

तेस्रो कुरा, पर्यटन पोलिसी हो। मुलुक संघीय संरचनामा गएको छ भने भ्रमण वर्ष पनि यही समयमा रहेको छ। यस कारण हामीले सबैको हितमा हुने गरी पोलिसी ल्याउनुपर्ने थियो। बदलिँदो परिस्थितिअनुसार पर्यटन पोलिसी आउनुपर्नेमा त्यो अझै पनि आउन सकेको छैन।

पर्यटन पोलिसीमा भिसा, ट्रेकिङ परमिट, अन्य शुल्कलगायतका कुरा पर्छन्। यी कुनै कुरामा पनि अहिलेसम्म सम्बोधन भएको छैन। यसलाई घटाएर पर्यटकलाई आकर्षित गर्नुपर्नेमा झन् बढाइएको छ। कठिन अवस्था सिर्जना गरिएको छ। २०२० मा पर्यटकहरूलाई के दिने भन्ने कुरा नै यकिन नभएको जस्तो देखिएको छ।

अर्को कुरा प्रवद्र्धन हो, नेपालमा भ्रमण वर्ष मनाइँदै छ, भनेर यहाँ बसेर चिच्याएर मात्रै त हुँदैन नि। भ्रमण वर्षको प्रचारप्रसार पहिलेकै जस्तो छ। यसलाई बदल्नुपर्छ। अहिले डिजिटल युग हो। यसलाई सही प्रयोग गर्नुपर्छ।

दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अवस्था छ। उनीहरूलाई तालिम दिनुपर्छ। पर्यटक ल्याएर मात्रै हुँदैन, उनीहरूबाट नेपालले लाभ लिन सक्नुपर्छ। व्यवसायीले लाभ लिन सक्नुपर्छ। रोजगारीमा वृद्धि हुनुपर्छ। तर, अहिले कतै केही भएको देखिँदैन। सामान्य कार्यक्रम भइराखेको छ, यसलाई पनि सकारात्मक ढंगले हेर्नुपर्छ।

तपाईंले देखाउनुभएको अवस्थालाई हेर्दा सरकारको लक्ष्य पूरा हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

संख्या त पुर्याउन सकिन्छ नै। तर, सही पर्यटक ल्याउन भने अलि कठिन नै देखिन्छ। यस्तो पर्यटक हामीले चाहेका छौं, जुन पर्यटक नेपाल आउँदा नेपालीलाई रोजगारी सिर्जना होस्, व्यापार वृद्धि होस्। सरकारले पनि पर्यटकको आवागमनबाट आम्दानी लिन सक्ने हुनुपर्छ।

गुणस्तरको पर्यटक भित्याउन अलि कठिन नै देखिन्छ। एनआरएनएका सदस्य पनि पर्यटक भिसामा आउँछन्, अरू पनि त्यसरी नै आउँछन्। यसरी संख्या पुग्छ, तर भ्रमण वर्ष–२०२० सफल भयो भनेर भन्न सकिँदैन।

यसअघिका भ्रमण वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

विगतमा दुईपटक नेपाल भ्रमण वर्ष आयोजना गरियो। त्यस बेला देशको राजनैतिक अवस्था फरक थियो। राज्यले पर्यटनलाई त्यति महत्व दिएको पनि थिएन। देश अस्थिर अवस्थामा थियो। राज्य र निजी क्षेत्रको बीचमा राम्रो समन्वय थिएन।

अहिले स्थायी सरकार छ भने सरकारले पर्यटन क्षेत्रलाई महत्व दिएको छ। त्यो बेला र अहिलेको तुलना गर्दा अहिले भ्रमण वर्षबाट ठूलो सफलता लिन सक्ने अवसर हामीसँग छ। विगतमा पनि सफल नै नभएको भन्न मिल्दैन।

सरकारले भ्रमण वर्ष मनाइरहँदा पर्यटकलाई देखाउने पूर्वाधारमा कत्तिको नेपालीपन झल्केको देख्नुभएको छ ?

हामीले पर्यटकलाई दिने सेवासुविधामा नेपालीपन त झल्काउनुपर्छ नै र झल्किन्छ पनि। सामान्यतया निजी क्षेत्रको एकल प्रयासले पर्यटक नेपाल आउथे। अहिले भ्रमण वर्ष भनेको त राष्ट्रिय आयोजना हो। यो उद्योग हो।

त्यसैले भ्रमण वर्षमा नेपाली मौलिकता पनि देखाउनुपर्छ। योजनाबद्ध ढंगले लैजानुपर्छ। हिजोको जस्तो अस्तव्यस्त, अराजक ढंगले, नीति नियम कानुन कसैले केही पालना गर्नु नपर्ने गरी पर्यटन चलिरहेको थियो त्यो अब हुनुहुँदैन। अब सिस्टममा चलाउनुपर्छ।

पर्यटकका लागि हामीले देखाउने संसाधन पनि पुरानो भयो भन्ने कुराहरू छन्, यसको अलावा पर्यटकलाई देखाउने केही नयाँ, भर्जिन पनि केही छन् कि ?
हाम्रा सम्पदा, संस्कृति कहिले पनि पुराना हुँदैनन्।

तर, मात्र के हो भने, विभिन्न प्राकृतिक प्रकोपले गर्दा ती सम्पदा ध्वस्त भएका छन्। पुनर्निर्माण गरिनुपर्छ तर नयाँपन ल्याउने बाहानामा हाम्रो कला, संस्कृति, मौलिकतालाई मास्नुहुँदैन। हाम्रो कला, संस्कृति जे–जस्तो छ, त्यो एकदमै राम्रो छ। त्यसलाई सुरक्षित, संरक्षण गर्नुपर्छ। भत्केका सम्पदालाई त्यही अवस्थामा पुनर्निर्माण गर्नुपर्छ।

नेपालमा पर्यटक आउने तर खर्च नगर्ने भन्ने कुरा छ नि ?

यसका दुई कारण छन्। एउटा हाम्रो पर्यटन नीति जुन छ, त्यसले नै सबै कुराको निर्धारण गर्छ। पर्यटनलाई धेरै खर्च गर्ने वातावरण सिर्जना गर्ने हाम्रो पर्यटन नीतिले होे। दोस्रो हाम्रो सेवा सुविधा हो।

पर्यटकलाई दिनुपर्ने सेवा सुविधा कस्तो हो त ? पैसा धेरै लिने तर दिनुपर्ने सेवा सुविधा नदिएर त हँुदैन। पर्यटकले चाहेको जस्तो सेवा सुविधा दिनुपर्यो नि। त्यो हामीले कत्ति पनि गर्न सकेका छैनौं।

पद यात्रामा जानु पर्यो पर्यटक आफूखुसीले जान्छन्, जसले मगायो त्यसले पर्यटकको व्यवस्थापन गर्छ। अनि राज्यले कर कहाँबाट पाउँछ ? रोजगारीमा वृद्धि कहाँबाट हुन्छ ?

कम्तीमा पनि ३ हजार मिटरभन्दा माथि पर्याक्रममा जाँदा गाइड लिएर जाने वातावरण बन्यो भने त पर्यटकले खर्च गरिहाल्छन् नि। त्यहीअनुसार कम्पनीमार्फत जान्छन्। रोजगारीका अवसर पनि सिर्जना हुन्छ। यसरी जाँदा कम्पनीले व्यवसाय गर्छ। अनि सरकारलाई भ्याट तिर्छ।

भ्रमण वर्ष सफल पार्नका लागी सरकारी, निजी तथा अन्य क्षेत्रलाई आह्वान गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

हामी एकदमै ठूलो अवसरमा उभिएका छौं। सबै एकताबद्ध हुनुपर्छ। यो सरकारको मात्र अभियान होइन, निजी क्षेत्रको मात्र पनि हैन। यो राष्ट्रिय अभियान हो। पर्यटक धेरै आउँदा हामी सबैले नै लाभ लिने भएकाले आग्रह, पूर्वाग्रहमा अल्झिने, काम बन्द गर्नुपर्छ।

नकरात्मक कुरालाई न्यूनीकरण गर्नुपर्छ। सबैले सकरात्मकरूपमा सोचेर आ–आफ्नो ढंगबाट भ्रमण वर्षलाई सहयोग गर्नुपर्छ। सरकार, व्यवसायी, सम्बन्धित निकाय एवं अन्य पक्ष सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ यसका लागि म सबैलाई आह्वान गर्छु।

प्रतिक्रिया दिनुहोस्