मौन अवधि भनेको पैसा बाँड्ने समय हैन



दल र उम्मेदवारहरूको बुधबारको अन्तिम चुनावी सभापछि उपचुनाव हुने ठाउँमा मौन अवधि शुरु भएको छ। मौन अवधि भन्नासाथ यसको आफ्नै मूल्य, मान्यताहरू निर्वाचन आयोगले स्थापित गरेको छ। मौन अवधि आचारसंहिताको पूर्णपालना गरी निर्धक्करूपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माणका लागि हो।
यस अवधिमा चुनावी सभा, कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न, गराउन बन्देज छ। मौन अवधिमा आफ्ना वेबसाइड, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न निषेध गरिएको छ।
उपनिर्वाचनको उदेक लाग्दो विषय त निर्वाचन क्षेत्रमा बाहिरियाहरूको वर्चश्व देखियो।
यसले उम्मेदवारलाई सद्भाव, शुभेच्छा र केही हदसम्म सहयोग त मिल्ला। तर, त्यो भन्दा बढी चुनावी खर्चको दर बढ्ने निश्चित भएको छ। त्यहाँ पुगेकाहरूले भोट बढाउँछन् कि बढाउँदैनन् ? उम्मेदवारको चुनावी खर्च भने उल्लेख्यरुपमा बढाइदिएका छन्।
जे होस्, भड्किलो र खर्चिलो निर्वाचनपछि उपनिर्वाचन हुने क्रममा छ। अहिलेको उपनिर्वाचन बढी खर्चिलो र भड्किलो बन्ने नबन्ने संवेदनशील घडी भने अब शुरु भएको छ।
मौन अवधि शुरु भएपछि अझ बढी राजनीतिकरुपमा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको विगत हामीसँग छ। आर्थिक चलखेलदेखि नागरिकलाई मत र मन फकाउने र अनेक तर्कनाका साथ धम्क्याउने शृङ्खला पनि यही बेलामा बढी हुने गरेको देखिन्छ।
जिल्लाको पश्चिम क्षेत्रको प्रदेश सभा सदस्यको निर्वाचनमा पनि यस्तो बाछिटाहरू देखिने प्रति चासो र चिन्ता पनि व्यक्त भइरहेको छ। निर्वाचनलाई कुनै एक व्यक्तिलाई पदमा पुर्याउनेमा भन्दा सही विधि, प्रक्रियाबाट सही पात्रलाई छनोट गर्ने स्वस्थ र स्वच्छ बाटो हिँड्नेमै हामी लाग्नुपर्छ।
मौन अवधिका बेला जनताको अमूल्य मतलाई पैसाले खरिद गर्ने दरिद्र मानसिकता देखिन सक्छ। जनताको नाममा दोस्रो व्यक्तिले ब्ल्याक मेलिङ पनि गर्न सक्छ। यस्ता पात्र आजको २४ घण्टाभित्र तपार्ईंका गाउँ–समाजमा पनि आउन सक्छन्।
अब जनताले नै यस्ता पात्र र प्रवृत्तिलाई उदाङ्गो बनाउन सक्नुपर्छ। तब मात्र सबल लोकतन्त्र, सुशासनको मार्गमा समाज र देश अघि बढ्न सक्छ।मौन अवधिको सबैभन्दा विचारणीय पक्ष मौन अवधि ‘मनी’ अवधि हुने गरेको गुनासो तीव्र छ। हुन पनि यस अवधिमा पैसा र शक्तिको अधिक चलखेल हुन्छ।
यसले विवेक शून्यताको अवस्था सिर्जना गर्छ। मानिसहरूको गरिबी, चेतना र जागरणको कमजोरीलाई लिएर जुनसुकै दल र उम्मेदवारले खेल्ने खेल समाज र राजनीतिको उन्नत संस्कारका लागि दुर्भाग्यपूर्ण हो। यसले राम्रो मान्छे चुन्ने वातावरणलाई धुमिल बनाउन सक्छ।
तपाईं–हामी जो जहाँ छौं, मौन अवधिका बेला हुने पैसाको चलखेलको विकृतिजन्य क्रियाकलापलाई निरुत्साहित गरौं। मौन अवधि भनेको पैसा बाँड्ने समय हो भन्ने जबर्जस्त विषयलाई गलत साबित गरौं। यो हामी सबैको दायित्व र जिम्मेवारी हो।
– प्रमिता तामाङ, कास्की, पोखरा।

प्रतिक्रिया दिनुहोस्