पहिला देश अनि विदेश



आज अंग्रेजी महिनाको डिसेम्बर १ तारिख, ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुरू हुन अब एक महिना मात्रै बाँकी छ। विश्व प्रसिद्ध बीबीसीलगायतका विदेशी सञ्चारमाध्यमको छनोटमा विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र नेपाल पनि पर्छ। विश्व मानचित्रमा सानो मुलुक भए पनि प्रकृतिले नेपाललाई अनुपम वरदान दिएको छ, हिमाल, पहाड र तराई यहीं अटाएको छ।
पृथक भौगोलिक बनावट, प्राकृतिक सुन्दरता, ऐतिहासिक कला, सम्पदा र मौलिक जनजीवन अनि संस्कृतिले पर्यटकलाई बाह्रैमास स्वागत गरिरहेका हुन्छन्।
अल्पविकसित मुलुक नेपालले पर्यटकीय पूर्वाधारमा ठूलो फड्को मार्न नसके पनि यस्तै गहना पर्यटकको रोजाइमा पर्ने गरेका छन्।
१० वर्ष लामो सशस्त्र जनयुद्ध र त्यसपछिको लामो राजनीतिक संक्रमणकालमा खस्किएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन थालेकाले सरकारले भ्रमण वर्षलाई महत्वाकांक्षी कार्यक्रममा राखेको छ। आर्थिक समृद्धिलाई जोड दिएको सरकारका लागि पर्यटन क्षेत्र मेरुदण्ड हो, यसैका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकोमा कुनै दुविधा छैन।
भ्रमण वर्षमा नेपाल आउने पर्यटकको संख्या २० लाख पुर्याउने सरकारी लक्ष्य छ, यो अस्वाभाविक लक्ष्य होइन।तर, लक्षित संख्या पुर्याउनु मात्रै भ्रमण वर्षको सफलता होइन।
अहिले नेपाल भित्रिने पर्यटकको बसाइ अवधि डेढ साता हाराहारीमा मात्रै भएकाले यो अवधि लम्ब्याउँदै खर्च गर्ने वातावरण बनाउन सक्नुपर्छ। पर्यटकको संख्याभन्दा उनीहरूले खर्च गर्ने धनराशीको परिमाणले सफलता देखाउनेछ।
पछिल्लो तथ्यांकअनुसार भारत र चीनबाट आउने पर्यटकको संख्या सुधार भए पनि खर्च गर्ने पर्यटकको संख्या खस्किँदै गएको देखिन्छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा एक जना पर्यटकले प्रतिदिन औशतमा ५४ डलर खर्च गरेका थिए।
तर, सन् २०१८ मा त्यो दर बढ्नुको साटो घटेर प्रतिदिन ४४ डलरमा झरेकोे छ। पर्यटकको नेपाल बसाइ र खर्चको दर घट्दै जाँदा नेपाल भ्रमण वर्षको सफलताको मापदण्ड केलाई बनाउने भन्ने प्रश्न पनि खडा हुन थालेको छ। सरकारले घोषणा गरेको भ्रमण वर्ष तेस्रो हो, यसअघि सन् १९९८ र २००१ मा पनि भ्रमण वर्ष मनाइएको थियो।
पछिल्ला वर्षमा नेपालीको समेत विदेश घुमफिर गर्ने आनीबानी बढिरहेका बेला सरकारले विदेशी मात्रै होइन स्वदेशी पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि सारेको छ। स्वदेशकै पर्यटकीय गन्तव्य पुग्नुपर्छ, घुम्नुपर्छ भनेर ‘पहिला देश अनि विदेश’ भन्ने नारा अघि सारिएको छ।
सरकारले आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न मुलुकभर १ सय पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकोमा कुल १ सय ९२ गन्तव्यलाई प्रचार गर्ने योजना गरेको छ।
भ्रमण वर्ष अन्य मुलुकका नागरिकका लागि मात्रै होइन र सरकारको एक्लो कार्यक्रम पनि होइन। सबै नेपाली यस कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष ढंगमा जोडिएका छौं, जोडिनुपर्छ। त्यसैले भ्रमण वर्षमा हामी सबै नेपाली सहभागी बनौं, पहिला देश घुमौं अनि विदेश पुगौं !

प्रतिक्रिया दिनुहोस्