गढिमाई मेलामा दर्शनार्थी आवासका लागि विद्यालय बन्द



बारा, (नेस)। 

गढीमाई मेला भर्नआउने तिर्थालुको बासस्थानको लागि जिल्लाका सामुदायिक विद्यालय भवनको प्रयोग हुने भएका छन्। प्रमुख जिल्ला अधिकारीसहित बसेको मेला व्यवस्थापन मूल समितिको बैठकले बिहीबारबाट जिल्लाका सबै विद्यालय दश दिनसम्म बन्द गर्ने निर्णय गरेको हो।

मेलामा आउने श्रद्धालु तथा भक्तजनको बासस्थान र सुविधाको लागि महागढिमाई नगरपालिकासहित जिल्लाका सबै सामुदायिक विद्यालय बन्दगर्ने निर्णय भएको शिक्षा समितिका सदस्य परमहंश यादवले जानकारी दिनुभयो।

मेला समितिका संयोजक एंव महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर २० गतेसम्म विद्यालयहरू बन्दगर्ने निर्णय गरेको हो। हजारांै श्रद्धालुले भर्ने मेला मंसिर ३० गतेसम्म चल्ने छ।

जिल्लाका अलगअलग पालिकाको शैक्षिक क्यलेन्डरअनुसार हाल चल्दै गरेको अर्ध वार्षिक परीक्षा सकिएपछि वर्षे बिदाबाट कट्टा हुनेगरी दश दिनको लागि विद्यालय बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख शशि यादवले बताउनुभयो।

गढीमाई मेलामा केही दिनयता प्रतिदिन ५० हजार भन्दा बढी दर्शनार्थी आउने गरेको र मेला अवधिभर नेपाल तथा भारतबाट करिब ७० लाख भन्दा बढी श्रद्धालु आउने अनुमान रहेको मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहाले जानकारी दिनुभयो।

आवासको अर्को व्यवस्था नहुदा श्रद्धालुले विद्यालय भवनलाई आवास र खाना बनाउने तथा खाने स्थानको रूपमा प्रयोग गर्ने गरेका छन। यसैबीच यस वर्षदेखि मेला व्यवस्थापन समतिले मन्दिरमा चढाइएका परेवा समातेर घर लैजान नपाउने व्यवस्था गरेको छ।

बलीमा चढाइएका परेवा समातेर खान लैजाने व्यक्तिलाई समितिले जरिवाना स्वरुप ५ हजार रुपियाँ तिराउने निर्णण गरेको मन्दिरका मूल पुजारी मंगल चौधरीले जानकारी दिनुभयो।

उहाँले पक्षी संरक्षण अभियानअन्तर्गत यस वर्षदेखि परेवा समातेर लैजान रोक लगाइएको बताउनुभयो। यसपटक पनि मेलामा ५० हजारभन्दा बढी परेवा चढाइने पनि उहाँले जानकारी दिनुभयो। यसअघि मेलाको क्रममा मन्दिरमा चढाइएका परेवा स्थानीयले समातेर खाने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्