मतदाता परिचयपत्र वितरण शुरू



बैतडी, (नेस)। 

उपनिर्वाचन हुने बैतडीका ३ वडामा बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरू गरिएको छ। दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागी तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण सञ्चालनमा रहेको निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो।

दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ। सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ।

यस्तै पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बांगालाई मतदानस्थल तोकिएको छ। वि स २०७४ सालमा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र वितरण भइरहेको हो।

मतदानमा सहभागी हुन अनिवार्य रहेकोले आ–आफ्नो मतदाता परिचयपत्र लिन हुन जिल्ला निर्वाचन कार्यालय बैतडीले अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्