जनप्रतिनिधिलाई मेरो अनुरोध



देशको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र समृद्धिको दिशामा अघि बढिरहेको यहाँहरूलाई सर्वविदित नै छ। सरकारको उद्देश्य पूरा गर्न देशको यस वर्तमान परिस्थितिमा स्थानीय सरकारका जनप्रतिनिधिज्यूहरूले आफ्नो नगर–गाउँका जनताको समस्या र गुनासाप्रति त्यति चासो राखेको देखिँदैन।

जनप्रतिनिधि भैसकेपछि जनताको साथ लिएर नगर–गाउँको विकास र समस्या न्यूनीकरण गर्न अघि बढ्नुपर्छ। तर यसको मानसिकतामा त्यति विकास भएको पनि देखिँदैन। जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीले जस्तो अफिसमा बसेर यसो गर्नुस् उसो गर्नुस्, यस्तो लिएर आउनुस्, उस्तो लिएर आउनुस् भन्ने मात्र होइन।

जसरी भोट माग्न घर–घर, खेत–खेत र आली–आली पुग्नुभएको थियो, त्यसै गरी जनताको घर–घर गएर जनताका गुनासा सुन्ने गर्नुपर्छ। हरेक शनिबार बिहान २–४ घन्टा घर विभाजन गरेर जनताका समस्या सुनिदिने बानी गर्नु उपयुक्त हुनेछ।

आफ्नो नगर–गाउँमा भएका केही गरौँ भन्ने आकांक्षा भएका युवाहरूलाई साथ लिएर समग्र क्षेत्रको विकास र समृद्धिका लागि छलफल गर्नुहोस्। समय–समयमा आर्थिक व्ययभार नलाग्ने केही चेतनामूलक कुराहरू सिकाउँदै हिँड्नुहोस्।

उदाहरणका लागि चुनावको समयमा जस्तै प्रत्येक घर–घर पसेर घरवरिपरि फोहोर नगर्नुन्, सफा राख्ने गर्नुस्, म अर्कोपटक आउँदा सफा हुनुपर्छ भन्दिनुस्, त्यो घरवरिपरि सधैँ सफा हुनेछ।

जनप्रतिनिधिप्रति जनताको विश्वास, माया र आस्था हुन्छ। त्यस्ता जनता छन्, जो जनप्रतिनिधि घरमा आउँदा पनि हर्षित हुन्छन्। त्यस्ता जनताको मुहारमा खुशी छर्ने काम गर्नुस्।

एकपटक हरेक घरमा गएर सोध्नुस् त तपाईंका समस्या के–के छन् भनेर, अनि उनीहरूका अनुहार पढ्नुस्। जनताका चाहना कति सरल र कति आवश्यकीय लाग्छन् भन्ने कुरा बुझ्नुहुनेछ।

तपाईं डुल्नुस्, आफ्नो नगर–गाउँभित्रका कुना–कुनाका सडकमा र सडकका खाल्डा पुर्न पहल गर्नुस्। कति नै खर्च लाग्ला र ? ग्राभेलले खाल्डा पुर्न, श्रमदान गर्न इच्छुक युवा समूह र टोलवासीलाई अनुरोध गर्नुहोस्, ग्राभेल सम्मिनेछ। सम्याएपछि रोलर लगाइदिनुस्, सडकको समस्या समाधान हुनेछ।

गर्न इच्छाशक्ति निकाल्नुहोस, सजिलै सकिन्छ। तर, इच्छाशक्ति नै छैन भने विभिन्न बहाना बनाएर उम्किने प्रयास मात्र हुनेछ।आफ्नो वार्डको फोहोर समयमा उठे–नउठेको कहिल्यै हेक्का राख्नुभएको छ तपाईंहरूले ? जनताले आफ्नो काम गर्ने हो र जनतालाई सुविधा तपाईंहरूले दिने हो।

यो काम गर्न त बजेट चाहिँदैन नि। के गर्नुहुन्छ तपाईंले जनताका लागि ? आ–आफ्नो पार्टीको आस्था भएको व्यक्ति बोकेर उनीहरूका स्वार्थको काममात्र गरेर देश समृद्ध हुँदैन। विपक्षी दलका व्यक्तिसँग प्रतिशोध साँधेर न देश बन्छ, न समाज नै सुध्रिन्छ।

तपाईंले मेरो वार्डमा कति अपांगता भएका व्यक्ति छन् र कसरी जीवनयापन गरेका होलान् भनेर कहिल्यै बुफ्नुभएको छ ? मेरो वार्डमा कति बालबालिका स्कुल जानबाट वञ्चित छन् भनेर कहिल्यै महसुससम्म गर्नुभएको छ त ? मेरो वार्डमा मेरा जनता जातीय विभेदको सिकार भएका त छैनन् भनेर बुझ्नुभएको छ कहिल्यै ?

सामाजिक विषयमा जनतालाई खुशी दिन बजेट चाहिँदैन जनप्रतिनिधिज्यूहरू। नगर तथा गाउँभित्र रहेका हरेक इच्छुक युवाहरूलाई स्वयंसेवकका रुपमा परिचालित गरी सँगै डोर्याएर विनाबजेट पनि धेरै चेतनामूलक कार्यहरू गर्न सकिन्छ।

समाज रुपान्तरण र विकास असारमा बाटोमा कालो टालो हालेर मात्र हुँदैन। जनताको प्रतिनिधि भैसकेपछि दलको पट्टी फुकाएर काम गर्न सम्पूर्ण स्थानीय सरकारका जनप्रतिनिधिज्यूहरूलाई विनम्र अनुरोध गर्दछु।

– मनिस भुसाल, गाईघाट, उदयपुर।

प्रतिक्रिया दिनुहोस्