सात लडाकूलाई मृत्युदण्ड सुनाइयो



ढाका, (एजेन्सी)।

सन् २०१६ मा बंगलादेशको राजधानी ढाकाको एउटा क्याफेमा भएको आतंककारी हमलामा सरिक रहेको अभियोगमा सातजना इस्लामिक लडाकूलाई बुधबार मृत्युदण्ड सुनाइएको छ। सो घटनामा मारिने कुल २२ जनामध्ये अधिकांश विदेशी नागरिक रहेका थिए। ढाकास्थित होली आर्टिसन क्याफेमा आक्रमण गर्ने ५ जना सशस्त्र पुरुषले त्यहँँ रात्रिभोजमा सरिक व्यक्तिहरुलाई बन्धक बनाएका थिए।

ती आक्रमणकारीहरुलाई हतियार उपलब्ध गराएको तथा आक्रमण योजना बनाएको अभियोगमा आठजनामाथि मुद्दा चलाइएको थियो। तीमध्ये एकजना पुरुषले सफाइ पाएका छन्। १२ घन्टासम्म आक्रमणकारीको कब्जामा रहेको सो क्याफेको घटना बंगलादेशकै ैसबैभन्दा भयावह आतंककारी आक्रमण मनिएको छ। पीडितहरुमा अधिकांश इटालियन र जापानी रहेका थिए।

यस आक्रमणको औपचारिक जिम्मेवारी इस्लामिक स्टेट ( आईएस) समूहले लिएको थियो। तर बंगलादेश सरकारले यसका लागि एक स्थानीय लडाकू समूह जिम्मेवार रहेको बताउँदा घटना विवादास्पद बनेको थियो। त्यस आक्रमणपछि मुश्लिम बाहुल्य रहेको बंगलादेशको सुरक्षा निकायले लडाकू समूहहरुमाथि निर्ममतापूर्वक दमन गरेको थियो।

सरकारी वकिल गोलाम सरवार खानले अदालतले तिनीहरुलाई अधिकतम संजाय दिएको तथा तिनीहरुको अपराध निसन्देह प्रमाणित भएको पत्रकारहरुलाई बताएका छन्। तर प्रतिवादी वकिलले भने सँजाय पाएका ती सातैजनाले यो निर्णयविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन्। बंगलादेशमा अभियुक्तहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइने गरिन्छ।

तिनीहरु प्रतिबन्धित समूह जमात उल मुजाहिद्दिन बंगलादेश (जेएमबी ) को सदस्य रहेको बताइएको छ। तिनीहरुले क्याफेमा रहेका विदेशीहरुलाई गोली हानेर र घाँटी छिनालेर हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्