स्वयंसेविकालाई प्रोत्साहन भत्ता



नेपाल समाचारपत्र, बैतडी। 

डिलाशैनी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने भएको छ। स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई वार्षिक दशहजार भत्ता दिने गरी बजेट विनियोजन भएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले जानकारी दिनुभयो।

गाउँपालिकाभरका ७० जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने गाउँपालिकाको योजना रहेको स्वास्थ्य संयोजक खत्रीले जानकारी दिनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि पहल गरेकाले उनीहरूलाई प्रोत्साहन गर्न छाता, झोला र टर्च वितरणको कार्यक्रमसमेत राखिएको संयोजक खत्रीले बताउनुभयो।

गाउँपालिकाले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूले खुसी व्यक्त गरेका छन्। थोरै भए पनि गाउँपालिकाले आफूहरूको कामको मूल्यांकन गरेको उनीहरूले बताएका छन्। गत आर्थिक वर्षमा पनि गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्