लैंगिक हिंसा अन्त्य गर्न जोड



बैतडी, (नेस)। 

बैतडीको पाटनका महिलाहरूले लैगिंकहिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा देउडा खेल आयोजना गरेका छन्।

पाटनमा आयोजना गरिएको देउडा कार्यक्रममा महिलाहरूले लैगिंकहिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन्।

देशमा तीन तहका सरकार भएपनि महिलामाथि हुने विभिन्न खालका हिंसा न्यूनीकरण नभएको भन्दै उनीहरूले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

लैगिंकहिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको अवसरमा सहस्त्रलिंग सामुदायिक विकास संस्था, रेडियो निङ्लाशैनी र सञ्चारिका समूहको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, सुआहाराको सहयोगमा आयोजना गरिएको देउडा कार्यक्रममा सहभागी महिलाले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि समाजका सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

सरकारले बनाएका कानुनहरू अझै पनि कार्यान्वयनमा नआएका, कानुन कार्यान्वयनमा राज्यका निकाय लाग्नुपर्ने सहस्त्रलिंग सामुदायिक विकास संस्थाका अध्यक्ष डम्मरी भट्टले बताउनुभयो।
देउडा कार्यक्रम गर्नु अघि अभियानको शुरुवात गर्दै र्यालीको आयोजना गरिएको थियो।

र्यालीमा सहभागी महिलाले महिला हिंसा गर्न पाइँदैन, भेदभावको अन्त्य गरौं, समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता लगायतका नाराहरू थिए। पाटनको कृष्ण माविबाट शुरु भएको र्याली खुला मञ्चमा पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस्