शैक्षिक सूत्र



त्रिचन्द्र क्याम्पस, नेपालको शैक्षिक धरोहर। नेपालको उच्च शिक्षाको इतिहासमा छुटाउनै नहुने शैक्षिक थलो। जहानियाँ राणाकालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले स्थापना गर्या शिक्षाको मन्दिर।

ऊ बेला त्रिभुवन चन्द्र इन्टरमिडिएट क्याम्पसका रूपमा चिनिएको त्रिचन्द्रमा दरबार, राणा र शासक र शक्ति निकटकाले मात्रै पढ्न पाउँथे। तर, अहिले सबै वर्ग, क्षेत्र, जातजातिकालाई त्रिचन्द्र प्रवेश र पढाइमा रोकतोक छैन। फरक यति छ, ऊ बेला त्रिचन्द्र विद्याको मन्दिरका रूपमा पुजिन्थ्यो, विद्यार्थीले शिक्षक/शिक्षिकालाई आदर सत्कार गर्न कञ्ज्युस्याइँ गर्दैनथे।

अहिले ठ्याक्कै उल्टो छ, शिक्षकले विद्यार्थीलाई आदर सम्मान गर्नुपर्ने अवस्था आएको छ। खुकुरीभन्दा कर्द लाग्ने फर्मुला त्रिचन्द्रमा लागू भा’छ। आफूलाई नसोधी एक पक्षीय ढंगमा अध्यापन शुल्क बढाइएको झ्वाँकमा विद्यार्थीले क्याम्पस चिफलाई भकुर्नु भकुर्या छन्।

मास्टर भकुर्ने सत्तारूढ दल निकटका विद्यार्थी छन्। दुई तिहाइ बहुमतवाला माऊ पार्टीले मुलुक हाक्या बेला कलेजले फि बढाएसी विद्यार्थीलाई झ्वाँक नचल्ने कुरै भएन। ‘दुई तिहाइ बहुमतको सरकारका हामी विद्यार्थी कम्रेडलाई क्याम्पस चिफले हेप्नी’ भन्ने विद्यार्थीको तर्क धरहरालाई अच्छा लाग्यो।

यस्तै फर्मुलाले नै होला मुलुकले आर्थिक र शैक्षिक समृद्धिमा फड्को मार्ने। ए साँच्ची ! माऊ पार्टी नेकपाले विद्यार्थी कम्रेडहरूलाई बहादुरी प्रदर्शन गरेबापत सम्मान गर्या छ भने खबर पाउँ है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्