सरौतोमा भिड्न २ वर्ष एक्सनको तालिम



नेपाली फिल्ममा महिलालाई प्रमुख भूमिका दिन अझै हिचकिचाउने गरिन्छ। पर्सी बिहीबार अल नेपाल रिलिज हुन लागेको फिल्म सरौतोले भने नायिका सुमी मोक्तानलाई प्रमुख भूमिकामा उभ्याएको छ। छायाकार हरि हुमागाईंको डेब्यु निर्देशन र नवनायिका सुमी मोक्तानको मुख्य भूमिका रहेको फिल्म बदलाको कथामा निर्मित छ।

फिल्ममा सुन्न नसक्ने युवतीको भूमिकामा रहेकी सुमी मार्सलआर्ट खेलाडीकाका रूपमा देखिनेछिन्। यो भूमिकामा अभिनय गर्न करिब २ वर्ष तालिम लिएको सुुमीले बताइन्। ‘यो फिल्ममा म साइन ल्याङ्वेजमा कुरा गर्छु। तर, मेरो क्यारेक्टर एकदमै पावरफुल छ। फिल्मले फिमेलले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्ने मेसेज दिन्छ।

फिल्म ओमन सेन्ट्रिकभन्दा पनि फिमेल सेन्ट्रिक एक्सनमा छ। जसले फिमेलले एक्सन पनि गर्छन् भन्ने ट्रेन्ड सेट गर्न मद्दत गर्छ।’ –सुमीले भनिन्। फिल्मका निर्देशक हरि हुमागार्इंले चाहे छोरा होस् या छोरी न्यायका लागि बदला लिनै पर्छ भन्ने सन्देश समावेश गरेको बताए।

‘कसैको सपना टुट्यो भने त्यसले कस्तो रूप लिन्छ भन्ने विषयमा बनेको सरौतो बुबा र छोरीबीचको कथा हो। सुपारी काट्ने उपकरण सरौतोको नामबाट बनाइएको फिल्ममा सुपारी तस्करीको विषय पनि उठाइएको छ।’ –हरिले सुनाए।

छायांकनसँगै म्युजिक भिडियो तथा विज्ञापन फिल्म निर्देशनमा लामो समय बिताएका हरिले म्युजिक भिडियो र विज्ञापन फिल्ममा आफ्नो अनुभवलाई फिल्ममा प्रयोग गरेको चर्चा गर्दै उनले भने– ‘एड फिल्ममा काम गर्दा एउटा स्टोरीलाई २ मिनेटमा देखाउनुपर्ने हुन्छ। त्यसरी काम गरिरहेको मान्छेले २ घण्टाको समय पाउँदा कस्तो काम गरेको होला यो हेर्न भने हलमा नै जानुपर्छ।’ फिल्ममा सुमीको बुबाको भूमिकामा अभिनेता विजय लामाले अभिनय गरेका छन्।

विजयले फिल्ममा आफूसुमीको बुबाको साथै कराते कोचको भूमिकामा रहेको खुलाए। ‘फिल्ममा सुमी मार्सल आर्टसको खेलाडीका रूपमा छिन्। म पनि मार्सल आर्टको खेलाडी हुँ। तर सुमीले जस्तो एक्सन मैले अहिलेसम्म गरेको छैन।’ –विजयले भने।

फिल्ममा नवनायक सनी सिंहले आफू धेरै नबोल्ने फोटोग्राफरको भूमिकामा रहेको बताए। कार्यकारी निर्माता सिर्जना जोशी महर्जनले फिल्म सफल हुनेमा आफू आशावादी रहेको बताइन्।

फिल्मका अन्य कलाकारहरूमा लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरूणा कार्की, सुवाम शाह, मनिषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायत छन्।

फिल्ममा राघवकृष्ण गौतमको लेखन, भिटेन, कमल खत्री र राजनराज सिवाकोटीको संगीत तथा भिटेन, कमल खत्री, राजनराज सिवाकोटी, मेलीना राई र श्रेया सोताङको स्वर रहेको छ। त्यसै गरी निशिला शाक्य तथा हरि हुमागाईंको कोरियोग्राफी, शकर मर्हजनको द्वन्द्व तथा नेमिस श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्