हस्तकला व्यापार मेलाको तयारी पूरा



नेपाल समाचारपत्र, काठमाडौं ।

१७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिताको तयारी पूरा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नबिल बैंक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला हुनेछ छ।

हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ। मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागिता हुने मेलाका संयोजक धर्मराज शाक्यले जानकारी दिनुभयो।

गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ। नेपाली हस्तकला वस्तुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयँँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने, स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूको सहयोगमा यो व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको शाक्यले बताउनुभयो। मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन्।

प्रतिक्रिया दिनुहोस्