बैतडीमा १ सय ४९ थान हातहतियार संकलन



बैतडी, (नेस)। 

बैतडी प्रहरीले १ सय ४९ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा उक्त हातहतियार संकलन गरिएको हो। यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि हातहतियार संकलन गर्न लागिएको हो।

बैतडीका ३ वडामा उपनिर्वाचन हुँदै छ। संकलित हतियारमध्ये १ सय ३५ थान एकनाले भरुवा बन्दुक, १० थान दुईनाले बन्दुक र ४ थान बारबोर रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो।

संकलित हतियार सबै जिल्ला प्रशासन कार्यालयबाट इजाजतप्राप्त रहेका जनाइएको छ। हतियार संकलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउने साथै वन्यजन्तुको चोरी–शिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको छ।

गृह मन्त्रालयले उपनिर्वाचन हुने जिल्लामा यही मंसिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको छ। अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले बैध अबैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो।

यसका साथै गत फागुन २८ को मन्त्रिपरिषद्को बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारबाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्