सबैले निष्ठाको खेती गरौं



निष्ठावान् मानिस किन यति दुर्लभ ? खोज्न नसकेको कि भेटाउन। देख्न नसकेको कि निष्ठा भएको प्रमाणित गर्न। सामान्य मानिसहरू ठूला पद, प्रतिष्ठा बोकेका मानिसहरू अझ बढी त्यो निष्ठाको खोजी गर्छन्, परीक्षण गर्छन् र निष्ठामा विचलन पैदा हुन थालेको आभास भयो भने संकेत पनि गर्छन्, गुनासो पनि गर्न सक्छन्।

यतिले पनि पुगेन भने कुनै खास व्यक्ति र समूहलाई सचेत बनाउन सुझाउन सक्छन्। त्यतिले पनि पुगेन भने निष्ठाको समाप्ति भएको दिन, महिना र वर्षको सेरोफेरोमा कि अख्तियार, कि जेलतिरको यात्रा शुरू हुन्छ।
सांसद, नेता, कर्मचारी, जनप्रतिनिधि सबैले निष्ठाबाट नचुक्ने संकल्प गरौं भन्ने प्रतिबद्धता व्यक्त गर्छन्।

अब पनि निष्ठाबाट बहकिएर या विचलित भएर बाटो बिराउँछ या अन्तै मोडिन्छ भने अख्तियार कमजोर हुन सक्छ। या अख्तियारबाट पावर र पहुँचका कारण बच्न सकिएला। तर, जनताले सडक, चोक, गल्ली–गल्लीमा समातेर कारबाही गर्ने दिन नआउने भन्ने छैन।

त्यसैले अब आश्वासनको खेती होइन, निष्ठाको खेती गरौं। आश्वासनको खेतीले एक मौसम, एक चुनाव, एक स्वार्थ, एक समूहलाई क्षणिक खुशी दिलाउन सकिएला या विजयी बनाउन सकिएला। तर, त्यसले समाज र राष्ट्रलाई पुर्याउने असरलाई सामान्य आँकलन नगरौं।

सबैमा निष्ठाको प्रतिवद्धताको कमीका कारण हामीले राजनीतिक व्यवस्था परिवर्तनपछि जहाँ पुग्ने सोचेका थियौं, जे गर्छौं भनेका थियौं। त्यो अपेक्षाकृतरूपमा गर्न सकेनौं, त्यहाँ पुग्न सकेनौं भन्ने स्वीकारोक्ति सर्वत्र छ।

नसक्नु या नगर्नुमा जनताले नेतालाई, नेताले कर्मचारीलाई दोषारोपण गर्न त सक्छौं तर त्यो समस्याको दिगो समाधान होइन। हरव्यक्ति र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि अझ बढी अपरिहार्य निष्ठाको गुणलाई कसैले पनि सौदाबाजीको विषय कदापि बनाउनुहुँदैन।

हाम्रा सांसद, जनप्रतिनिधि, कर्मचारी, मानिस नजिकबाट हेर्दा अझ दागरहित, अझ बढी प्रियकर देखिनुपर्छ। जनताको चाहना र कामना यति नै छ। यसैको हितमा काम गरौं।

– प्रनिसा पाठक,
चाबहिल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्