कक्षाको २ दिने चित्रकला प्रतियोगिता



भक्तपुर, (नेस)।

भक्तपुरको सूर्यविनायक नगरपालिका –३ बालकोट रोजभिलेज अगाडि रहेको कक्षा (द क्लास रुम) ले वार्षिकोत्सवको अवसरमा ३ विधामा दुई दिने चित्रकला प्रतियोगिता आयोजना गरेको छ।

कला, संगीत र नृत्य ३ विधामा प्रशिक्षण दिँदै आएको कक्षले विद्यालयतर्फ जुनियर, सिनियर तह र खुल्ला चित्रकला प्रतियोगिताको आयोजना गरेको कक्षाका संयोजक अभिषेक बुढाथोकीले बताए।

भक्तपुर जिल्ला अन्तरविद्यालय स्तरीय जुनियर तहमा भएको चित्रकला प्रतियोगितामा मातृभूमि स्कुलका विलक्षण केसी प्रथम, ग्लोरी स्कुलकी कृतिका कसलवट द्धितीय र ग्लोरीकै अनुराग घिमिरे तृतीय भएका छन्।

त्यसै गरी सिनियरतर्फ सूर्यविनायक स्कुलकी दृष्टि मानन्धर प्रथम, त्रिस्टार स्कुलका प्रदीप श्रेष्ठ द्धितीय र मोडेल जनता स्कुलकी कुसुम आले मगर तृतीय भएका छन्। खुल्लातर्फ एलिसीना पुरी उत्कृष्ट चयन भएकी छिन्।

प्रतियोगिताको शीर्षक प्रविधि र म दिइएको थियो। प्रतियोगितामा विभिन्न १० विद्यालयका २३ जना विद्यार्थी सहभागी थिए। शनिबार कक्षाकै हलमा आयोजित एक कार्यक्रमका बीच विजयी विद्यार्थीलाई प्रमाणपत्र तथा ट्रफी र सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

समारोहमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए।विश्व बालदिवसको समेत अवसर पारेर आयोजित चित्रकला प्रतियोगिताको निर्णायकमा प्यागोडा आर्टस्का निर्देशक रोशन प्रधान र कक्षाकै सञ्चालक, प्रतियोगिता संयोजक तथा प्रशिक्षक निरु गिरी रहेका थिए।

कक्षाले आगामी दिनमा पनि प्याब्सन भक्तपुरसँग समन्वय गरेर स्थलगत रूपमा चित्रकला प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको र यसका लागि जिल्ला अध्यक्ष चन्द्र अधिकारीसँग छलफल भइरहेको सञ्चालक गिरीले बताइन्।

१ वर्षअघि स्थापना भएको कक्षाले २ सयभन्दा बढीलाई चित्रकला, संगीत र नृत्यको प्रशिक्षण दिइसकेको र आगामी दिनमा व्यक्तित्व विकासका विभिन्न विधामा समेत प्रशिक्षण दिने तयारी गरिरहेको कक्षाका संयोजक अभिषेक बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्