चिनियाँ कलाकारको चित्रकला प्रदर्शनी 



काठमाडौँ ।
चिनियाँ कलाकार जियाओ बेनको एकल चित्रकला प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)मा आज सम्पन्न भएको छ ।

कलाकार बेनले तयार पार्नुभएका चित्रमा विशेष गरेर चीन–नेपाल सम्बन्ध, हुनान प्रान्तको सांस्कृतिक पक्ष, प्राकृतिक सम्पदा, इतिहासलगायत पक्ष समेटिएको छ ।

एकदिने सो कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ कलाकार बेनको चित्रकला प्रदर्शनीबाट नेपाल–चीन सम्बन्ध जनस्तरमा थप प्रगाढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले नेपाल र चीन कला तथा सम्पदाको दृष्टिले धनी मुलुक भएकाले दुई मुलुकका कलाकारबीचको सम्बन्ध जारी रहनुपर्ने औँल्याउनुभयो ।

नाफाका उपकुलपति गोपाल चित्रकारले बेनको चित्रकला नेपाली कला क्षेत्रका पारखीका लागि प्रेरणादायी भएको बताउनुभयो ।

चिनियाँ कलाकार बेनले नेपाल र हुनान प्रान्त कला तथा संस्कृतिको दृष्टिले धनी मुलुक भएको र नेपालमा रहँदा स्वयम्भूनाथ, हिमाल तथा नदीनालाको सुन्दरताले आफूलाई लोभ्याएको बताउनुभयो ।

उक्त कार्यक्रम चाइना आइकोनिक टेक्नोलोजी कम्पनी, चाइना नम्बर २ रेल्वे इञ्जिनीयरिङ ग्रुप कम्पनी लिमिटेड, हुनान एलोनवार्ड जेनेरेटिङ इक्विपमेन्ट कम्पनी, नेपाल करेन्ट मेडिया एण्ड रिसर्च सेन्टर तथा सगरमाथा पावर कम्पनी लिमिटेडको संयुक्त आयोजनामा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्