प्रदेश १ मा पर्यटन प्रबद्र्धनका लागि ‘यात्रापूर्वको‘



सरोज यादव, विराटनगर ।
प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रबर्द्धनका गर्नका लागि यात्रापूर्वको शुभारम्भ गरिएको छ ।

यात्रा पूर्वको अभियान मार्फत प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’ को सहकार्यमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई यात्रामा सहभागी गराउने छ ।

प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रबर्द्धन तथा प्रचार गर्नका लागि एकहप्ताको यात्रा सुरु गरिएको मन्त्री जगदिशप्रसाद कुसियैतले जानकारी दिनुभएको छ । यात्रामा विभिन्न बैंकरदेखि पूर्वमिस एसियासम्म सहभागीहुनेछन । उनीहरु प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्नेछन् ।

मन्त्री कुशियैतले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आफ्ना ठाउँको विशेषता विश्वस्तरमा फैलाउन सानो प्रयास गरिएको बताउनुभयो । प्रदेश १को राजधानी विराटनगरमा आयोजना गरिएको एक कार्यक्रमबीच यात्रा पूर्वकोमा सहभागी भएका अतिथिलाई आइतबार भव्य समारोहबीच स्वागत गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले सहभागीहरुलाई खादाले अभिनन्दन गर्नुभएको थियो । राईले प्रदेश १ मा सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथासमेत रहेको बताउँदै यस प्रदेशमा घुम्ने दर्जनौ अन्य स्थलहरु रहेपनि तिनको व्यापक रुपमा जानकारी र प्रचार हुननसकेको बताउनुभयो ।

उहाँले पर्यटकीय स्थलको प्रचार होस जनस्तरसम्म पुगोस भनेर नै यात्रा पूर्वको मार्फत सानो प्रयास गरिएको बताउनुभयो । राईले पहिले आफ्नो ठाउँ घुमफिर गरेर त्यसको बारेमा जानकारी राखेमात्र देश बुझ्ने प्रयास हुने सुझाउनुभयो ।

उहाँले कञ्चनजंघादेखि मकालु र सगरमाथासम्म मुन्धुम ट्रेलको विकास गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढेको र धेरै पर्यटकीयस्थलको प्रवद्र्धनमा सरकारले काम गरिरहेको सुनाउनुभयो । उहाँले प्रदेश १ चिया, रुद्राक्ष र गुराँसको पनि राजधानी रहेको बताउनुभयो ।

अभियानमा सहभागि हुन विराटनगर पुगेका नबिल बैंकका सिईओ अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याएको सोच नविनतम भएको बताउनुभयो ।

यात्रामा निस्किएकी मिस एसिया युनिभर्स २०१७ पिंकी राजगढियाले आफ्नो जन्म धरानमा भएको र पूर्वीनेपाल अत्यन्तै सुन्दर रहेको बताउनुभयो ।

यस्तै यात्रामा सहभागि हुने अष्ट्रेलियन नागरिक जेम्सन बेभ्सले नेपाल सुन्दर भएको टिप्पणी गर्नुभयो । यात्राको सहकार्यमा अमेरिका निवासी पाइलट प्रितम कुसियैतले सहयोग गरेका छन् ।

७० जना सहभागी रहेको यात्रापूर्वको टोलीले शनिबार बेलुका कोशीटप्पु र आइतबार बिहान सुनसरी चिमडीको बर्जुताल भ्रमण गरेको छ ।

टोली विराटनगरबाट इलामतर्फ लागेको छ । यात्रामा गायिका अभया सुब्बा, विभिन्न मिडियाका पत्रकार, ब्लगर, अष्ट्रेलियाका पर्यटकसमेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्