वकिल, डाक्टर र इन्जिनियरप्रतिको आरोप



बालकृष्ण मैनाली

वकिललाई गाली गर्नुपर्यो भने कालाकोटे, डाक्टरलाई गाली गर्नुपर्यो भने सेताकोटे र इन्जिनियरलाई गाली गर्नु पर्यो भने टोपे भन्दा रहेछन् केही जनहरू। ‘वडाइ’ अर्थात् वकिलको कालो कोट, डाक्टरको सेतो कोट र इन्जिनियरको पहेँलो टोपीलाई इंगित गरेर उनीहरूको कामबारे चित्त नबुझने जनहरू यसरी प्रस्तुत हँदा रहेछन्। ‘वडाइ’ले देश बिगारे।

आलम प्रकरणमा बहस सकिएर पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिने न्यायाधीश र आलमको विपक्षमा बहस गर्ने सरकारी वकिलले सुरक्षाको कारण देखाउँदै जिल्लामा बस्न नसक्ने भएको कारण देखाई सरुवा माग्नुपर्ने स्थिति वर्तमान शताब्दीमा पनि कायम देखिनु भनेको देशमा सुशासनको मामिलामा अझ धेरै कार्य गर्नुपर्ने आवश्यकता रहेको अनुभूति विज्ञलगायत जनजनले गरेका छन्।

एकातिर देशमा अहिले निर्माण सम्पन्न प्रमाणपत्रको माहौल तातेको तात्यै छ। महानगरपालिका वा नगरपालिकाले भनेको दृश्य–अदृश्य शुल्क तिर्ने हो भने जे–जस्तो मापदण्ड मिचेर बनाएको घर–टहरा भए पनि निर्माण सम्पन्न हात लागिहाल्ने अनौठो प्रचलनले व्यापकता पाएको छ।

दृश्य–अदृश्य भनेजति रकम खर्च गर्न नसक्ने जनको कुनै मापदण्ड विपरीत नगएको भए पनि निर्माण सम्पन्न प्राप्त गर्न धौ–धौ पर्ने रहेछ। अर्कोतिर मेडिकल कलेजहरूले असुलेका अवैध रकम र सँगसँगै आलम प्रकरणमा आलमको पक्षमा वकालत गर्न पुगेका वरिष्ठ वकिलहरूको विषयलाई लिएर ‘वडाइ’ अर्थात् वकिल, डाक्टर र इन्जिनियरले देश बिगारे भनी आरोप लगाउने गर्दा रहेछन् केही जनहरू।

आजभोली ‘वडाइ’ अर्थात् वकिल, डाक्टर र इन्जिनियरहरूलाई जनजनमार्फत मिल्ने नमिल्ने गालीेगलौजमार्फत विभूषित गरिने कार्यमा बढोत्तरी हुँदै गइरहेको छ। अवस्थाअनुसार यसको पछिल्लो उदाहरण बन्न पुगेको छ आलम प्रकरण।

सामाजिक सञ्जालहरूमा केही नाम चलेका वरिष्ठ वकिलहरूलाई आफूलाई इच्छा लाग्दो तीतो पोख्न जान–अन्जानमा वातावरण बन्न पुगेको छ आलमको मुद्दा। आलम दोषी हुन् कि होइनन्, त्यसको छिनोफानो हुन बाँकी नै छ। हाललाई पुर्पक्षको लागि थुनामा पठाइएका छन् उनी।

तथापि यसबारेको चर्चा–परिचर्चा अझै सेलाएको छैन। विशेष गरेर आलमको पक्षमा वकालत गर्ने वरिष्ठ वकिलहरू गालीगलौजको तारो बन्न पुगेका छन्।सामान्यतया कुनै पनि मुद्दामा पक्ष र विपक्षले आपूmले रोजेको कानुन व्यवसायी रोज्न पाउने नैसर्गिक हक हुन्छ।

संविधानप्रदत्त अधिकार र विश्वव्यापी मान्यता पनि हो यो। तर कहिलेकाहीँ अक्षम्य अपराधसँग जोडिएको विषयवस्तुमा कानुनी उपचार र हककै नाउँमा अपराधसँग सम्बन्धित आरोपित व्यक्तिको पक्षमा उभिनाले जनजनमा के हो भन्ने कुराको तरंगले स्थान पाउँदो रहेछ। त्यस्तै हुन पुगेको छ आलमको तर्फबाट मुद्दाको पैरवी गर्न पुगेका वरिष्ठ वकिलहहरूलाई।

हेर्दा सामान्य जनले मुद्दाको विषयलाई लिएर पक्ष र विपक्षले आफूले रोजेका वकिल राखेजस्तै आलमको मुद्दामा पनि पीडक र पीडित दुवै पक्षका वकिलहरू समावेश हुन पुगे। कसले कति संख्यामा वकिल राख्यो भन्ने कुरा गौण विषय हो। सेवा लिएबापत पैसा तिर्न सक्नेले जति पनि वकिल राख्न पाउँछ।

त्यसलाई पनि अन्यथा मानिदैन। तथापि यो मुद्दामा केही नाम चलेका वरिष्ठ वकिलहरू ज–जसले आलमका पक्षमा बहस पैरवी गरे तिनीहरूका बारेमा व्यापकरुपमा आलोचनात्मक टिप्पणीहरू सामाजिक सञ्जाललगायत छापा सञ्चार र विद्युत्तीय सञ्चारमाध्यमहरूमा सार्वजनिक हुन पुग्यो र यो क्रम अहिले पनि यथावत् नै छ।

जीवनका हरेक पाटामा केही कुराले महत्वपूर्ण अर्थ राखेजस्तै मुद्दामामिलाको विषयमा पनि केही कुराले महत्वपूर्ण अर्थ राख्छन्। नागरिकका लागि विभिन्न महत्वपूर्ण मानिएका कुनै पनि विषयको सवालमा पहिलो सत्यता दोस्रो विषयबारे सेवा दिने र सेवा लिनेबीचका आचरण र तेस्रो विषयबारेको बहसले महत्वपूर्ण अर्थ राख्छन्।

आजभोलि सत्य र धनको बीचमा कसले बाजी मार्ने हो भनेर प्रायः सदैव लडाइँ भैरहेको हुन्छ। सत्य र धनका बीचको प्रतिस्पर्धाले कता–कता न्याय हार्न पुगेको हो कि भन्ने भान पनि थुप्रै जनलाई पर्न गएको छ। प्रायः सत्य र धनका बीचको प्रतिस्पर्धामा कतै न कतै तेस्रो पक्ष अनिवार्यरुपमा मिसिन आउँछ।

त्यो तेस्रो पक्ष भनेको सम्बन्धित विषयमा ज्ञान राख्ने र सो विषयमा पोख्त भएको मानव नै हो। रोगी र व्यक्तिको बीचमा डाक्टर जोडिए जस्तै मुद्दाको पक्ष र विपक्षमा वकिल जोडिन पुग्छ। गाडी र यात्रुबीच चालक जोडिन पुगेजस्तै हवाईजहाज र यात्रुबीच पाइलट जोडिन पुग्छ।

रोगीको पक्षमा जोडिएको डाक्टरले रोग चाँडो निको पार्नको लागि, यात्रुमा जोडिएको चालक वा पाइलटले यात्रुहरूलाई तोकिएको स्थानमा सुरक्षित अवतरणका लागि र मुद्दाका पक्ष–विपक्षहरूमा जोडिएका वकिलहरूले भए दुवैले न्याय प्राप्त भएको महसुस हुनको लागि आफ्नो भूमिकालाई सदैव विवादमुक्त बनाइराख्न सक्नुपर्छ। डाक्टरको सामान्य त्रुटि वा लापरबाहीले रोगीको मृत्यु हुन सक्छ।

चालक वा पाइलटको सामान्य त्रुटिले यात्रुहरू दुर्घटनामा पर्न सक्छन्। वकिलको गलत आचरण र रवैयाले मुद्दाका पक्षहरूले अन्याय महसुस गर्न सक्छन्।हाम्रो देशको परिप्रेक्ष्यमा डाक्टरी र कानुनी सेवा महँगो सेवा मानिन्छ। देशमा अझै पनि सामान्य जनले रोगको उपचार पाउनु र कानुनी उपचार पाउनु हम्मेहम्मे नै परेको अनुभूति सदैव ताजै रहिआएको छ। दुवै विषयको उपचार खर्च निकै महँगो साबित हुँदै आएको छ।

वर्षौंदेखि न्यायिक विचलनमार्फत पिल्सिँदै आएका केही जनले आलम प्रकरणलाई कानुनी उपचारको नाउँमा पैसा र राजनीतिमात्र सबै विषय हो त भन्ने सवाललाई उजागर बनाउने प्रयासमा लागिपरे। जनजनको यो मामिलामा देखिएको चासो के हो भने पैसा, धाकधम्की र राजनीतिक चक्रव्यूहले न्यायलाई प्रभावित गर्ने प्रयास गर्न पाइन्छ कि पाँइदैन भन्ने सवालमा देखिएको चासो हो।

चासोचाहिँ मिथ्या पक्कै होइन।कुनै पनि विषयसँग सम्बन्धित मुद्दामा कानुनी सेवा लिने पक्ष र कानुनी सेवा दिनेको आचरणले न्याय प्राप्तिमा महत्वपूर्ण भूमिका राख्छ। विडम्बना, प्रायः सेवा लिने–दिने दुवै आ–आफ्नो स्वार्थमा केन्द्रित भइदिँदा एकथरी वा एउटा पक्षले न्याय प्राप्तिको अनूभूति नै गर्ने अवसर प्रायः गुमाउन पुग्छ।

केही कानुनी सेवाप्रदायकको अनुभूति के छ भने, देवानी मुद्दाका पक्षहरू आफूले अर्को पक्षलाई जति अन्याय गरेको भए तापनि आफूले अन्याय नगरेको नै बताउँछन् र जसरी भए पनि मुद्दा आफ्नो पक्षमा ल्याउनको निमित्त वकिललाई आफूबाट भएको त्रुटि देखाउने कहिल्यै जमर्को गर्दैनन्, जसको कारण पक्षको हित हुने नाउँमा पक्षको त्रुटिलाई पनि आँखा चिम्लेर समर्थन गर्नु वकिलको व्यावसायिक आचरणभित्र बाध्यतापूर्वक पारिएको कुरालाई स्वीकार्छन्।

एउटा फौजदारी मुद्दाको आरोप लागेको पक्ष कानुनी उपचारको लागि उपचार माग्न जाँदा आफूले गरेका त्रुटिको कहिल्यै वर्णन गर्दैन रआफूलाई फसाइएको मात्रै भन्छ। जबकि कानुनी उपचार दिने वकिललाई कागजपत्र हेर्दैमा आफ्नो पक्षको के–कतिसम्म त्रुटि भएको छ, थाहा पाउन कतै समय लाग्दै लाग्दैन। सामान्यतया पक्षले आफूले गरेको गल्तीलाई लुकाएको स्वतः थाहा हुन्छ।

यसरी थाहा हुँदाँहुँदै पनि उपचार माग्न आउने आफ्नो पक्षलाई ‘तिम्रो यो–यो त्रुटि भएको छ, तिमीले पूरै सफाइको पक्षमा होइन कि त्रुटिअनुसारको सजायको भागी हुनुपर्छ’ भनेर कहिल्यै भन्दैन। यदि कुनै वकिलले त्यो कुरा भन्ने जमर्को गर्छ भने उसकोमा आएको त्यो पक्ष उम्केर अर्को वकिलकोमा पुग्न जान्छ। वकिलको आचरणलाई तल–माथि पार्न सघाउ पुर्याउने मुख्य कारण यही हो।

कानुन र संविधानका प्रत्येक क्षिद्रहरू खोज्नलाई बाध्य बनाउँछन् यस्ता पक्षहरूले।सम्भवतः वकिलहरूको छाता संगठन नेपाल बारको इतिहासमा विरलै हुने कार्य पनि आलम प्रकरणले निम्त्याउन पुग्यो। अर्थात् यसबारेमा गएको कार्तिक २४ गते नेपाल बारले विज्ञप्ति नै निकाल्न पुग्यो।

विज्ञप्तिमा कानुन व्यवसायीहरूले मुद्दाका पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने सिलसिलामा हालै केही पत्रपत्रिका, अनलाइन खबरलगायत सामाजिक सञ्जालमा कानुन व्यवसायी व्यक्तित्वसमेतलाई आक्षेप लगाउने कुनै पक्षको कानुनी प्रतिरक्षा गर्न पाउने हकलाई कुण्ठित गरिएको बारेमा नेपालको संविधानको धारा २० (२) को हवाला दिँदै विज्ञप्ति जारी भएको छ।

तथापि धारा २० (२)ले दिएको अधिकार विपरीत जनजनले विरोध गरेको अर्थमा यो मामिलालाई यसलाई लिइनु हुन्न भन्ने जनमत पनि अत्यधिक रहेको छ। बारको पदाधिकारीमा रहेको अवस्थामा आलम प्रकरणको विषयमा लिएको बारको निर्णय र हाल सम्बन्धित व्यक्ति बार पदाधिकारीबाट मुक्त भएपश्चात् लिएको भूमिकाको विषयमा उठाइएको सवालमा बारले नै संविधानको धारा २० (२) अथ्र्याउनु शोभनीय भएन भन्ने केही कानुनी जनको भनाइ पनि त्यति विरोधाभास देखिँदैन।

अदालतमा हुने तर्क र बहस अनि वास्तविक सत्य र व्यक्तिगत आचरण नितान्त फरक–फरक कुरा हुन्। अदालतमा पक्षहरू र विपक्षहरूबाट गरिने बहस र त्यसका बुँदाहरू सबै सत्य हुँदै हुँदैनन्। प्रायः एउटा पक्षको कम सत्य हुन्छ भने अर्को पक्षको धेरै सत्य हुन्छ।

यसो भन्नुको तात्पर्य एउटा पक्षको धेरै असत्य हुनु र अर्को पक्षको कम असत्य हुनु हो अर्थात् यसले के पुष्टयाइँ गर्छ भने, अदालतमा गरिने बहसमा कतै न कतै असत्यले प्रतिनिधित्व गरेको छ भन्ने देखाउँछ।

हो, यस मानेमा वकिलहरूको छाता संगठन नेपाल बारले पक्ष–विपक्षका दुवैतर्फबाट सत्यको मात्र प्रतिनिधित्व हुन सक्ने अवस्था कसरी सिर्जना गर्न सकिन्छ, यसबारेमा पहल गर्न सके सुनमा सुगन्ध हुने कुरामा जनजन विश्वस्त देखिन्छन्। बहस सकिएपछि सत्य र प्रमाणमा आधारित रहेर न्याय प्रदान गर्ने अदालतलाई पनि बारको सहयोग महत्वपूर्ण हुन्छ।

आलम प्रकरणमा बहस सकिएर पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिने न्यायाधीश र आलमको विपक्षमा बहस गर्ने सरकारी वकिलले सुरक्षाको कारण देखाउँदै जिल्लामा बस्न नसक्ने भएको कारण देखाई सरुवा माग्नुपर्ने स्थिति वर्तमान शताब्दीमा पनि कायम देखिनु भनेको देशमा सुशासनको मामिलामा अझ धेरै कार्य गर्नुपर्ने आवश्यकता रहेको अनुभूति विज्ञलगायत जनजनले गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्