केराबारीलाई झिलिमिली बनाउँछु



रोहित कार्की
अध्यक्ष, केराबारी गाउँपालिका, मोरङ

प्रदेश १ को राजधानी रहेको मोरङका १७ वटा पालिका मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो गाँउपालिका हो केराबारी। २ सय १९ दशमलव ८३ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविक केराबारी गाविस–१ (हाल केराबारी गाउँपालिका–१०) मा रहेको छ। ८ हजार ६ सय ८३ घरधुरी रहेको गाउँपालिकाको जनसंख्या ३० हजार ४ सय ३१ रहेको छ। कुनै समय मोरङको कर्णालीका रूपमा परिभाषित गरिन्थ्यो केराबारीलाई तर अहिले यो परिभाषा समय र विकाससँगै परिर्वतन हुँदै गएको छ। प्रदेश १ कै पर्यटकीय क्षेत्र जेफाले भ्यु टावर, सिंहदेवी, महादेव (पार्वती गुफा, पाटी, सप्तकन्या गुफा, याङशिला तथा ओख्रे भ्यु टावर रहेको यस गाँउपालिकाका धेरै भूभाग पहाडी क्षेत्रमा पर्छन जहाँ भर्खरै मात्रै सडक, पानी बिजुली र सञ्चारको पहुँच पुग्दैछ। जनप्रतिनिधि भएर आएपछि पालिकाको विकासमा के गर्दै हुनुहुन्छ ? भन्ने बिषयलाई समेटेर गाँउपालिकाका अध्यक्ष रोहित कार्कीसँग विराटनगर प्रतिनिधि सरोज यादवले गरेको कुराकानीको सारसंक्षेपः

जनप्रतिनिधिको रूपमा गाउँपालिकाको नेतृत्व सम्हाल्नुभएको पनि २ वर्ष बित्यो। अहिलेसम्म के के काम गर्नुभयो ?

कार्यकालको तेस्रो वर्ष लाग्यो यो बीचमा भर्खरै हामीले बजेट ल्याएका छौं। यसबीचमा स्थानीय तहको निर्वाचनका समय र त्यसपछि जनतामाझ गरिएका बाचा प्रतिबद्धता र त्यसयता आर्थिक समृद्धिका लागि गरिएका प्रतिबद्धतालाई आवश्यकताका आधारमा पूरा गर्ने क्रममा हामी लागि परेका छांै।

हामी विकास निमार्णका काममा दत्तचित्त भएर जनप्रतिनिधिको हैसियतले हामी काम गरिरहेका छांै। केही समस्या केही कठिनाइ स्थानीय तहमा देखिएका थिए तर कानुन निमार्णसँगै ती समाधान भएर गएका छन। यो अवधिमा हामीले शिक्षा स्वास्थ्य पूर्वाधारका क्षेत्रमा दुई वर्षको बजेट बनाएर काम गर्दा धेरै विकासका कामहरू अघि बढाएका छांै।

यो दुई वर्षको अवधिमा के के गर्नुभयो, तपाईंले गर्व गर्न लायकका काम के गर्नु भयो ?

यो अवधिमा हामीले जारी गरेको घोषणापत्रअनुसार नै अघि बढिरहेका छांै। त्यस समयमा हामी त्यस्ता ठूला प्रतिबद्धता जनाएका थिएनौं जनताका बीचमा शुद्ध खानेपानीको व्यवस्था गर्छाैं बाटो निमार्ण गर्छौं, पुल नभएका ठाँउमा पुल निमार्ण गर्छौं सडकको कालोपत्रे शुरू गर्छांै। कार्यकाल भरि एक दुई सय मिटर साना ठूला सडक बनाएर कालोपत्रे गर्छौं भनेका थियौ। अहिले क्रमश ती काम भईनै रहेका छन।

यति हो जनताको आवश्यकता खानेपानी विद्युत स्वास्थ्य, सडक हरेक कुरामा आकांक्षा बढेका छन र तीनलाई क्रमश आवश्यकताका आधारमा सम्बोधन गर्न अघि बढेका छांै।

हामीले खानेपानी नभएका स्थानमा शुद्ध खानेपानी पुर्याएका छौं। २ वर्ष भित्रमा साढे ५ किलोमिटर सडक पिच गरेका छौं। अहिले नै पालिकामा कालोपत्रे सडकको अवस्था २५ किलो मिटर छ भने २ सय किलोमिटर सडक हामीले ग्राभेल गरिसकेका छौं।

पालिकामा कच्ची तथा धुले सडक भने अब १ सय ५० किलोमिटर रहेको छ। हरेक वडामा स्वाथ्य इकाइ राखेर कर्मचारीको आफैले व्यवस्था गरेका छौंै। ९ नम्बर वडा पालिकासँग टाढा र बेलबारीसँग नजिक रहेको थियो तर उहाँहरूले हामीसँगै बस्न चाहानुभयो।

जंगल र खोलाको कारणले अहिले त्याहाँ हामीले प्रदेश सरकारसँगको सहयोगमा मोटरेबल पुलको निमाण अघि बढाएका छौं। यो आउने वैशाखसम्म पूरा भइसक्ने छ। हिजोको अवस्थामा प्रसुतिका लागि समेत अस्पताल जान नसक्नेहरू अब पुल बनेपछि सहजरूपमा गाडी चढेर पुग्न सक्ने हामीले बनाएका छौं।

निर्वाचनका समयमा बोलेका कुराहरू सम्बोधन भइरहेको अवस्थामा अहिलेसम्म जनताबाट पनि गुनासा पनि आएका छैनन्। विशेष गरी केराबारी गाँउपालिकाको समस्या भनेको खदमखोलाको कटान र आवातजावतका लागि आवश्यक पुल हो। र यी पुलको निमार्णमा पालिकास्तरको बजेटबाट निमार्ण सम्पन्न हुन नसक्ने स्थिति रहेको छ।

यद्यपि पालिकाबाट अहिलेको वर्ष नेपाल सरकारले घोषणा गरेर मदन राजमार्ग बनाइरहेको अवस्थामा यही आयोजनाबाट सम्बोधन हुन्छ भन्नेमा हामी पर्खाइमा पनि छौं।

यदि त्यस योजनाबाट भएन भने पनि प्रदेश सरकारसँग सहकार्य गरेर हामीले डीपीआरका लागि बजेट राखेका छौं यसैमा सकहार्य गरेर पुल निमार्ण अघि बढाउन पहल गरिरहेका छौं।

जनताका धेरै ठूला आकांक्षाका बीच ठूलो र दुर्गम पालिकाको नेतृत्व गर्न कत्तिको कठिनाइ छ ?

चुनौती र कठिनाइका बीच नै मैले सुधार गर्छु, विकास गर्छु, भनेर जनप्रतिनिधिका रूपमा नेतृत्वमा आएको हुँ। केराबारी गाउँपालिका तत्कालीन ५ वटा गाविस मिलेर बनेको हो। निश्चिितरूपमा केही विकट छ। सहजरूपमा पालिकाको केन्द्रमा आउने बाटा छैनन्।

विद्युतको व्यवस्था नभएको, सूचना प्रविधिको अहिलेको विकासको यो अवस्थामा टेलिफोनका टावर ठाँउठाँउ नबनेको स्थिति छ। तर हाम्रोतर्फबाट गर्न सक्ने कुराहरूको हामीले संयोजन गरिरहेका छौं।

अब जनतालाई विकासका कामहरू र हिजो जस्तो ढिला सुस्ती र बजेट अपुगका हिजोका घटनाबाट जुन समस्याहरू हामीले भोगेका थियो अहिलेसम्मको पालिकाको कामले त्यस्ता समस्याहरू चाहिँ अब हट्दै जानेछन भन्ने विश्वास चाहिँ बढेर गएको छ।

उदाहरणको रूपमा हाम्रो वडा नम्बर ४ साविकको याङशिलाका माथिल्लो क्षेत्रमा हामी विद्युत पोलको व्यवस्था गरेर विद्युत पुर्याएका छांै। यस्तै पाटी गाउँका केही स्थानमा मात्र विद्युत पुगेको थियो अब यसवर्ष भित्र सबै स्थानमा विद्युत पुग्नेछ। हामी मोरङको कर्णाली भनेर चिनिने क्षेत्रलाई झिलिमिली बनाउने योजना बनाएर लागिपरेका छौं।

सडक निमार्णलाई विकासको मुख्य पाटोका रूपमा हेरिन्छ तर योजनाबद्ध नभई जथाभावीरूपमा बाटो निमार्णले विकाससँगै विनास निम्ताइएको छ। बजेट र योजना वर्षाको पानीले बगाएर लाने गरेको छ। पहाडी क्षेत्र रहेको केराबारीले विकासका कामलाई कसरी अघि बढाइरहेको छ ?

यो समस्यामा हाम्रो पालिकामा पनि नभएको होइन तर हामीले के गरिरहेका छौं भने हाम्रो पहाडी क्षेत्रमा एकपटक मेसिन लगाउँदा भोलि पहिरोको स्थिति देखियो भने अर्काे वर्षदेखि हामीले मेसिनको प्रयोग नगर्ने नीति लिएका छौं। हामीले सामन्य ट्रयाक खोल्ने कुरा सामान्य नियमअनुसार नै गरिहेका छौं।

हामीसँग प्रशस्त प्राविधिक हुनुहुन्छ। दुईवटा वडा हेर्नै गरी एउटा सबइन्जिनियर र ५ वटा वडा हेर्ने गरी एक इन्जिनियर हामीले राखेका छौं। अब यहाँका योजना बनाउँदा उहाँहरूले डिजाइन गर्नुहुन्छ र उहाँहरूबाट नभएकोमा हामी थप अनुभवी र मन्त्रालयका इन्जिनियरसँग परामर्श लिएर विकास निमार्णका योजनाहरू बनाईरहेका छौ।

वर्षको पानीले बगाउने संभावना भएका तथा पहिरोको जोखिममा रहेका सडकमा हामीले सुरक्षा प्रखाल तथा जाली हालेर व्यवस्थित पार्ने काम गरेका छौं। यसरी बुझौं हामीले इन्जिनियरिङ निरीक्षण र योजनाअनुसार नै काम गरिरहेका छांै।

जनतामा त जनप्रतिनिधिबाट भनेअनुसार र अपेक्षा गरेअनुसार काम भएन भन्ने गुनासो छ नि होइन ?

यस्तो छ २० वर्षसम्म निर्वाचन भएन कर्मचारीबाट चल्यो नि त होइन ?२० वर्षपछि निर्वाचन भयो, सिंहदरबारको अधिकार गाउँगाउँमा भनिएको छ त्यसको २ वर्षको कार्यकालको अवधिमा छांै हामी।

यो २ वर्षको कार्यकालमा यत्रो २० वर्षको अभावलाई पूरा गर्न त गाह्रो छ र यसका लागि समय लाग्छ नै। यो त तत्काल हुने कुरा पनि होइन कानुन कार्यान्वयनका कुराहरू अधिकार जनतासम्म पुर्याउने कुराहरू क्रमिकरूपमा हँुदै गइरहेका छन। २ वर्षको अवधिलाई हेर्दा ७ सय ५३ वटै स्थानीय तहका जनता खसी हुनुपर्छ भन्ने मलाई लाग्छ। यसमा पनि हाम्रो पालिकामा त यस्तो गुनासो छैन।

हिजो धुलोबाटो हिड्ने स्थानमा ग्राभेल भएको छ। ग्राभेल भइसकेको बाटो पिच हुने क्रममा छ। पिचमा हिड्न थाल्नुभयो हिजो खोलाको पानीखानेआज धाराको पानी खान थाल्नुभएको छ। केही अबरुद्ध योजनालाई सुचारु गराउने काम भइरहेको छ।

२ वर्षभित्रमा निश्चित पानीको मुहान पहिचान गरी योजना बनाइसकेका छौं। स्वास्थ्य क्षेत्र त्यहीरूपमा सुधार भएको छ। सिटामोल खान नपाएर ज्यान जानुपर्ने वा अस्पताल नपुगी ज्यान गुमाउनु पर्ने अवस्था छैन। विद्यालयको अनुगमन भएको छ।

नियमितरूपमा १० देखि ४ बजेसम्म पढाउन लगाएका छौं। हिजो १ बजे घर फकिर्ने बालबालिका ४ बजेसम्म त्यहीँपनि पढेर घर फर्किन्छन्। कामका लागि जिल्ला सदरमुकाम हँुदै राजधानी पुग्नु पर्ने बाध्यता अब आफ्नै घरनजिकै हुन थालेको छ। यसर्थ पनि जनताले निराश हुने ठाउँ मैले देखेको छैन।

पछिल्लो २०७६/०७७ को बजेट कस्तो ल्याउनुभयो ? यसका मुख्य प्राथमिकता के छन ?

खासगरी गाँउपालिकाले लिएको अल्पकालीन तथा दीर्घकालीन नीतिमा आधारित भई बस्तीस्तरबाट प्राथमिकतामा परेका योजना तथा कार्यक्रमलाई यो बजेटमा हामीले समेट्ने कोसिस गरेको छ।

बजेटमा भौतिक पूर्वाधार विकासका साथसाथै आर्थिक तथा सामाजिक विकासलाई सँगसँगै बढाउनुपर्छ भन्ने मान्यताका साथ पूर्वाधार विकासतर्फ सडक कालोपत्रे, स्तरोन्नति, खानेपानी तथा सरसफाइ सिँचाई, ग्रामीण विद्युतीकरण, बजार व्यवस्थापन, कृषि तथा पशुपालन, विद्यालय क्षेत्र सुधारका कार्यक्रमलाई जोड दिएका छौं।

यस्तै सुलभ एवम पहुँच योग्य स्वास्थ्य सुधार, पर्यटन प्रवद्र्धन तथा लक्षित वर्गलाई समेत विकासको मूलप्रवाहमा ल्याउने योजनाका साथै महिला सशक्तिकरण एवम बालमैत्री कार्यक्रमलाई हामीले महत्व दिएका छांै।

हाम्रो लक्ष्य भनेकै केराबारी गाँउपालिकाको भौतिक सामाजिक, आर्थिक स्तरोन्नति गर्दै नागरिकको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि गराउनु हो। यसमा हामी कटिबद्ध भएर लागेका छौं।

पालिकाले यस आर्थिक वर्षका लागि ५२ करोड १३ लाख १६ हजार ५ सय बराबरको बजेट ल्याएको छ। गाउँपालिकाले ‘पूर्वाधारमैत्री लगानी स्वरोजगार उन्मुख बिहानी’ भन्ने नारा हामीले तय गरेका छौं।

यसमा बजेटमा संघीय सरकारबाट ३३ करोड ७८ लाख, प्रदेश सरकारबाट १३ करोड ६७ लाख ३ हजार प्राप्त भएको छ। यस्तै आन्तरिक स्रोतबाट ६ करोड ३० लाख, सामाजिक सुरक्षा भत्ताबापत ७ करोड र विविध आम्दानीबाट अनुमानित १ करोड ५४ लाख ९० हजार रुपियाँको सहयोग प्रप्त हुने प्रक्षेपण गरेका छांै।

प्रतिक्रिया दिनुहोस्