दुइतिहाइ बहुमतको सरकारले छुट्टै आमसञ्चार विश्वविद्यालयको अनुमति दिनैपर्छ



डा. मञ्जु मिश्र

डा. मञ्जु मिश्र विगत तीन दशकदेखि नेपाली मिडियासँग आवद्ध रहेका यस क्षेत्रका लागि सुपरिचित व्यक्ति हुनुहुन्छ। कलेज अफ जर्नलिजम एण्ड मास कम्युनिकेसनका संस्थापक उहाँले हालसम्म पनि त्यसका लागि कार्यकारी निर्देशक भएर सेवा गरिरहनुभएको छ। विगत झण्डै २० वर्षको सेवामा उहाँले नेपाली पत्रकारितामा पाँच सयभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसक्नुभएको छ। काठमाडौंको कपन, पय्युटारमा विगत एक वर्षदेखि आफ्नै भवनमा कलेज सारेर सञ्चालन गर्दैआएकी उहाँ पत्रकारिता विधामा छुट्टै विश्वविद्यालय आवश्यक छ भनेर निरन्तर पैरवीमा लाग्नुभएको छ। प्रस्तुत छ, उहाँसँग रहेको नेपाली मिडिया क्षेत्रको वृहत् अनुभवमा आधारित रहेर नेपाल समाचारपत्रका पाठकहरूलाई केही जानकारी दिने उद्देश्यले गरिएको कुराकानी ः

तपाइँले कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन काठमाडौंको शहरी एरिया कोटेश्वरबाट टाढा कपनमा सार्नुभयो। कस्ता समस्या वा सुविधा भोगिरहनुभएको छ ?

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन आफ्नै भवनमा विगत एक वर्षदेखि सञ्चालित छ। मुख्यगरी पत्रकारिता पढ्नचाहनेहरू शहरको केन्द्रमै पढ्न रुचाउँछन्।

तर, कलेजलाई काठमाडौंबाहिर लगेर सञ्चालन गर्दा पढ्ने वातावरण अनुकूल हुने, शान्तिमय अवस्था रहने, प्रदूषण नरहने र सबैभन्दा ठूलो कुरा इनसर्भिसमा रहेका पत्रकारका लागि शहरभन्दा बाहिर उनीहरूको कार्यालयबाट आउने फोनले तत्काल बाधा नपुर्याउने लगायतका धेरै लाभ छन्, त्यसैले पनि यसलाई अलिकति बाहिर लगिएको हो।

बाहिर पनि के भन्ने, रत्नपार्कबाट करिब १० किलोमिटर उत्तर–पूर्व न हो। बाटोको अवस्था राम्रो भए आधा घण्टाको कुरा हो। पठन–पाठन राम्रो बनाउने मेरो जिम्मा, आधा घण्टा लगानी विद्यार्थीको जिम्मा।

अग्रगामी सरकारले पत्रकारितासम्बन्धी विश्वविद्यालय खोल्न अनुमति दिनेछभन्ने मेरो विश्वास छ, तपाईंको नेपाल समाचारपत्रमार्फत मेरो आवाज बुलन्द रुपमा सरकारसमक्ष पुर्याइदिन आह्वान गर्दछु।

पठन–पाठन राम्रो बनाउने जिम्मा मेरो भन्नुभयो, के–कस्ता सुविधा छन् कलेजमा ?

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनमा मूलतः तीन–चारथरी विशेषता र सुविधा छन्। पहिलो त हामीकहाँ एफएम रेडियो सञ्चालनको सुविधा छ। प्रयोगात्मक रूपमा रेडियो सञ्चालक वा पत्रकार बनेर सिक्न सकिन्छ।

अर्को कुरा छिमेकी मित्रराष्ट्र चीनको कम्युनिकेसन युनिभर्सिटी अफ चाइनाले दिएको भिडियो क्यामराको पूर्णसेट हामीसँग छ। कलेजका विद्यार्थीले कलेज परिसरमा छायाँकन, रेकर्डिङ, अभिलेखीकरणआदिमा प्रयोग गर्नसक्छन्।

त्यसैगरी हामीसँग पर्याप्त ल्याप्टपहरू पनि छन्, विद्यार्थीले यी सबै सामग्री कलेज परिसरमा प्रयोग गर्नसक्छन्। यस्ता सुविधा दिनेगरी अन्यत्र कलेज चलेको मलाई थाहा छैन। त्यसैले यसलाई कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनको विशेषताका रूपमा लिनसकिन्छ।

करिब २० वर्षदेखि स्नातक र स्नातकोत्तर लेवलमा पत्रकारिताका विद्यार्थी उत्पादन गर्दै आउनुभएको छ, कति विद्यार्थी नेपाली मिडिया क्षेत्रको नेतृत्व तहमै पुगेहोलान्, होइन ?

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनबाट उत्पादित विद्यार्थीमध्ये अधिकाँश कतै न कतै राम्रो जिम्मेवारीमा छन्। सबैको तथ्यांक मसँग छैन। तर जति विद्यार्थीका बारेमा मसँग जानकारी छ, त्यो पनि तपाईंको प्रश्नको जवाफका लागि पर्याप्त होला। केही त सेलिब्रिटीकै रूपमा चर्चित पनि छन्।

नामै लिएर भन्नुपर्दा आरती चटौत नेपाल टेलिभिजनमा डाइरेक्टर हुनुहुन्छ, साथमा लैङ्गिक समानतासम्बन्धी विधाका एक सशक्त प्रस्तोता पनि हुनुहुन्छ। यस्तै, कोमल ओली राष्ट्रियसभाका सभासद् हुनुहुन्छ।

यसरी नै बालकृष्ण चापागाईं राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष, मोहन चापागाईं पूर्व अर्थमन्त्री विष्णु पौडेलका प्रेस सल्लाहकार, बुद्धिबहादुर केसी रेडियो नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ।

यसैगरी, यशोदा तिमिल्सिना राष्ट्रिय सूचना आयोगका आयुक्त हुनुहुन्छ, प्राध्यापक बुद्धि शर्मा चीनको एक सुप्रसिद्ध विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ। चेतनाथ आचार्य चाइना रेडियोमा वरिष्ठ संवाददाता हुनुको साथै डा. समिक्षा कोइरालाले नर्वेको ओस्लो मेट युनिभर्सिटीबाट विद्यावारिधि गरिसक्नुभएको छ।

यस्तै, कल्पना आचार्य हेल्थ टेलिभिजनको निर्देशक हुनुहुन्छ भने अनिता विन्दु प्रेस युनियनको नेतृत्वमा हुनुहुन्छ। यस्ता उदाहरण धेरै छन्, मैले लिनैपर्ने नाम यहाँ लिन सकिन होला, म उहाँहरूसँग माफी चाहन्छु।

तपाईंको कलेजमा के के विषय कति अवधिका लागि पढाइ हुन्छ, विस्तारित रूपमा भनिदिनुस् न ?

यो पूर्णतः पत्रकारितासँग सम्बन्धित कलेज हो। यसमा आमसञ्चार र पत्रकारिताका सबै विषयको पढाइ हुन्छ। समाचार लेखन, खोजी पत्रकारिता, इनडेप्थ रिपोर्टिङ, फोटोग्राफी, भिडियो तथा चलचित्र छायांकन, रेडियो पत्रकारिताआदि सबै विषयमा पढाइ हुन्छ।

पत्रकारिताको अभिन्न अंगका रूपमा रहेको अनुसन्धान पद्धति अथवा रिसर्च मेथोडोलजी पढाइ हुनुका साथै मानवअधिकार, लोकतन्त्र, शान्ति निर्माण तथा राष्ट्रिय सुरक्षासम्बन्धमा आमसञ्चारको भूमिकालगायतका विषयमा पढाइ हुन्छ।

अब अन्त्यमा, तपाईंको कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनका भावी योजना र कार्यक्रमका बारेमा बताइदिनुहुन्छ कि ?

विगत १५ वर्षदेखि मैले उठाउँदै गरेको आवाज हो कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनलाई विश्वविद्यालयको मान्यता प्रदान गराउने। किन विश्व विद्यालय नै बनाउनुपर्यो भनेर मलाई केही साथी–शुभचिन्तकहरूले सोध्नेगरेका छन्, मेरो जबाफ छ, पत्रकारितामा गुणस्तरीयता कायम गर्न र नयाँ–नयाँ विषय समावेश गरेर समयसापेक्ष आमसञ्चार तथा पत्रकारिताको शिक्षा दिन छुट्टै विश्वविद्यालयको आवश्यकता रहेको देखिन्छ।

विश्वविद्यालय भएपछि स्वायत्तता हासिल हुन्छ, हामी विभिन्न संकाय खोलेर कार्यक्रम चलाउन सक्छौं। विश्वविद्यालयको सञ्चालन नयाँ पुस्तामा नयाँ सोचका साथ जान्छ भन्ने मेरो दृढ विश्वास छ।

विश्व विद्यालय खडा भएपछि दक्षिण एसियामा नेपाल पत्रकारिताका लागि एक केन्द्रका रूपमा विकसित हुनेछ। हाल पढाइ भइरहेका कुनैपनि कलेज र विद्यालयहरूमा पत्रकारिता तथा आमसञ्चार विषयले विद्यार्थीलाई अपेक्षित रूपमा आकर्षित गर्न सकिरहेको छैन। विश्व विद्यालय खडा भएपछि यसमा आकर्षण थपिनेछ।

अन्त्यमा केही भन्नुन्छ कि ?

महिला सशक्तिकरणको वकालत गर्दैआएको नेपाल सरकारले महिलाका पक्षमा खासै योगदान दिन सकेको छैन्। तपाईंसँग कुराकानी गरिरहँदा केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ जसमा ३३ प्रतिशतको त टाढाको कुरा ८ प्रतिशत पनि महिला सहभागिता देखिन्न।

महिला मन्त्रालयमा पनि पुरुष पुर्याइएका छन्। अग्रगामी सरकारले पत्रकारितासम्बन्धी विश्वविद्यालय खोल्न अनुमति दिनेछभन्ने मेरो विश्वास छ, तपाईंको नेपाल समाचारपत्रमार्फत मेरो आवाज बुलन्द रूपमा सरकारसमक्ष पुर्याइदिन आव्हान गर्दछु। दुइतिहाइ बहुमतको सरकारले छुट्टै आमसञ्चार विश्वविद्यालयको अनुमति दिनेछ भन्ने मैले विश्वास लिएकी छु।

 

प्रतिक्रिया दिनुहोस्