नेपाल भाषा साहित्य महोत्सव भोलि शुक्रबार



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल भाषाको दैनिक पत्रिका नेपाल भाषा टाइम्सको आयोजनामा शुक्रबार तेस्रो नेपालभाषा साहित्य महोत्सव हुने भएको छ ।
काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको खुल्ला डबलीमा सो महोत्सव सञ्चालन हुनेछ ।

अहिले घर घरमा नेपालभाषा बोल्ने र यो भाषामा साहित्य रचना गर्ने क्रम अत्यन्त सुस्त रहेको सन्र्दभमा सो महोत्सव आयोजना गरिएको बताइएको छ । नेपालभाषा र यसको साहित्यलाई यो दयनीय स्थितिबाट मुक्त गरी पुनः पहिले झै सक्रिय र समुन्नत अवस्थामा पु¥याउने अभियानलाई टेवा दिन नेपालभाषा साहित्य महोत्सव आयोजना गरिएको टाईम्सका सम्पादक सुरेशकिरण मानन्धरले बताउनुभयो ।

‘इतिहासको विभिन्न कालखण्डमा आएको राजनीतिक परिवर्तन र त्यसमा सवार शासक–प्रशासकहरूको कृदृष्टिले गर्दा नेपालभाषाको यो गौरवमय साहित्यिक वाङ्मय क्रमशः किनारा लाग्दै गए । ’ सम्पादक मानन्धरले भन्नुभयो ‘शाह–राणा शासकहरूले सयौंं वर्षसम्म नेपालभाषामा लेख्न समेत नपाइने गरी लगाएको कठोर प्रतिबन्धले नेपालभाषाको साहित्य मात्र होइन यो भाषा नै लोप हुनेसम्मको स्थिति उत्पन्न गराइदिएको छ ।’

महोत्सव उद्घाटनका दिन विभिन्न विधाका ७ वटा पुस्तकहरू विमोचन हुने छन् । यस अघिको दुई वटा महोत्सव एक दिवसीय थियो भने अहिले दुई दिन महोत्सव हुनेछ वरिष्ठ उपन्यासकार मथुरा साय्मिको आत्मकथा, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल संंग्रह, युवा कवि तथा समालोचक राजेन्द्रकुमार पुताको गजल समालोचना र ‘कविता संंग्रह गरी दुई पुस्तक, नेपालभाषाका पहिलो जासुसी उपन्यासकार राज साय्मिको उपन्यास, उद्धव मास्केको नियात्रालगायत कवि बासुदेव अधिकारीको नेपालभाषामा अनुदित कविता संग्रहको विमोचन हुनेछ ।

महात्सवको पहिलो दिन रञ्जना लिपिको पुरुत्थान विषयमा अन्तिक्र्रिया, साहित्यिक रचना पाठ र अन्तमा संगीत तथा हास्यव्यंग्यपूर्ण प्रहशन प्रदर्शनको कार्यक्रम हुनेछ । दोस्रो दिन वरिष्ठ उपन्यासकार मथुरा साय्मिसँग उहाँको साहित्यिक यात्रा बारे परिचर्चा चलाइने छ भने नेपालभाषाका चलचित्र बारे अर्को अन्तक्र्रिया गरिने छ । साथै रचना पाठ र सांगीतिक कार्यक्रम पनि यथावत रहने छ ।

कुनै बेला नेपालको राजभाषा समेत रहिसकेको नेपाल भाषासँग करिब ६ सय वर्ष लामो साहित्यिक इतिहास रहेको पाइन्छ । नेपालभाषा वाङ्मय भित्र सिर्जनात्मक साहित्यिक रचना मात्र नभई चिकित्सा, वास्तु, शब्दकोष, ज्योतिषी, धर्म, संस्कृति आदि जस्ता थुप्रै विधामा लेखिएका ग्रन्थहरू पनि समाहित छन्।यसको पुनःजागरण गर्ने उद्देश्य पनि महोत्सवले राखेको छ ।

महोत्सव अवधिमा ३५ जना वरिष्ठ तथा युवा साहित्यकारबाट कविता, कथा वाचन हुनेछ भने कार्यक्रम स्व. पद्मरत्न तुलाधर लिखित प्रहसनका साथै रामकृष्ण खड्गी, विजय मानन्धर लिखित प्रहसन मञ्चन गरिनेछ । त्यस्तै कार्यक्रममा यमन श्रेष्ठ, रानीशोभा महर्जन, रोजी डंगोल श्रेष्ठले गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बैकुण्ठ भण्डारीले क्यारिकेचर प्रस्तुत गर्नुहुनेछ । दुवै दिन नेपालभाषाका पुस्तक प्रदर्शनी, खाना महोत्सव र रञ्जना लिपिको क्यालिजात्रा पनि आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्