धेरै पदक बटुल्ने भारत्तोलोन



ASIAD-2018-WEIGHTLIFTING

कविरस शर्मा, काठमाडौं

सागमा धेरै पदक बटुल्ने खेलमध्ये भारोत्तोलन पनि परिचित छ। इभेन्ट्सको आधारमा धेरै पदक जित्न सकिने खेल हो भारोत्तोलन। तर सागको इतिहासमा नेपाली भारोत्तोलनको नतिजा भने राम्रो छैन।

दशौँ सागमा नेपालले एक स्वर्ण जितेको थियो। श्रीलंकाको कोलम्बोमा नेपालका कमलबहादुर अधिकारीले स्वर्ण जितेका थिए। त्यो नै साग इतिहासमा पहिलो स्वर्ण हो।

त्यसपछि नेपालले अहिलेसम्म भारोत्तोलनमा स्वर्ण हात पार्न सकेको छैन।पहिलो सागमा भारोत्तोलनमा नेपालले ५ रजत र ३ कास्य हात पारेको थियो।

यसैगरी दोस्रो सागमा ६ रजत र १२ कास्य, तेस्रो सागमा १९ कास्य, चौंथो सागमा ६ रजत र २३ कास्य, पाँचौं सागमा ३ रजत र १९ कास्य, सातौँ सागमा २ रजत र ३ कास्य, आठौंमा ३ कास्य र नवौँमा १ कास्यमा सीमित बनेको थियो।

११औं सागमा पदकविहीन बनेको भारोत्तोलनले १२औं संस्करणमा १ रजत र ३ कास्य जितेको थियो। भारतको गुवाहाटीमा भएको १२औं सागमा नेपालका विकास थापाले रजत जितेका थिए।

तर, स्वर्ण पदकको संख्या एउटा मात्र रहे पनि रजत र काश्य पदकको संख्या भने थुप्रै छ। पहिलो संस्करणमै ५ रजत र ३ कास्य हात पारेको भारोत्तोलनले यसपटक घरेलु मैदानमा हुन लागेको सागमा स्वर्णका लागि चुनौती दिनेछ।

आसन्न १३औं सागको तयारीलाई लिएर घरेलु मैदानमा, घरेलु दर्शकको समक्ष प्रदर्शन गर्न खेलाडीहरू पनि निकै उत्साहित छन्। १३औं सागमा स्वर्ण ल्याउने लक्ष्यसहित भारोत्तोलनले साउनबाट बन्द प्रशिक्षणको शुरुआत गरेको थियो।

त्यसपछि उज्वेकिस्तानमा २२ दिन र दक्षिण कोरियामा समेत वैदेशिक प्रशिक्षण गरिएकाले यसपटक भारत्तोलनले ‘सरप्राइज रिजल्ट’ ल्याउने आशा गर्न गरिएको छ। खेलाडीहरूले पनि विगतको भन्दा यसपटक नतिजामा सुधार आउने दाबी गरेका छन्।

भारोत्तोलनमा नेपालको बलियो प्रतिद्वन्द्वी भारत, बंगलादेश र श्रीलङ्का नै हुन्। १३औं सागमा सबै प्रतिद्वन्द्वी सहभागी हुने निश्चित भएकाले भारत्तोलनलाई स्वर्ण जित्न मुख्य चुनौती छ। तर दक्षिण कोरिया तथा उज्वेकिस्तानमा लामो समयको प्रशिक्षणले स्वर्ण पदकको सम्भावना भने नकार्न सकिँदैन।

यदि नेपालले घरेलु मैदानमा हुने सागमा ऐतिहासिक पदकको संख्या बढाउने लक्ष्य राख्छ भने त्यसमा भारोत्तोलनको पदक संख्यालाई मध्यनजर गरी प्रदर्शनलाई तिखार्न अझ आवश्यक छ। १३औं सागमा नेपालको तर्फबाट भारोत्तोलनमा समान ७ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्