नहर भत्किँदा सिंगो गाउँ नै जोखिममा



नेपाल समाचारपत्र, पर्वत। 

वर्षा याममा सिँचाइ नहर भासिँदा पर्वतको फलेबास नगरपालिकाको एउटा गाउँ जोखिममा परेको छ । गाउँमा सिँचाइ सुविधा पुर्याउन ४ वर्षअघि निर्माण भएको मुडिकुवा सिँचाइ आयोजनाको नहर भासिएपछि फलेबास–४ मुडिकुवाको घिमिरे र गौंडेलटोलको बस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत क्षति भएको हो।

तत्कालीन सिँचाइ विकास सव–डिभिजन कार्यालयले उपभोक्ता समिति र विभिन्न निर्माण व्यवसायीमार्फत निर्माण गरेको मल्याङ्दीखोला सिँचाइ नहर घना बस्तीको बीचमा भासिएको हो।

गत साउनमा नहरको केही भाग भासिएपछि स्थानीय भीम घिमिरे, देवीप्रसाद घिमिरे, हेम शर्मा घिमिरे, अरुण तिवारी, रामचन्द्र घिमिरेलगायतका करिब दुई दर्जन घर जोखिममा परेका हुन्।

आरसीसी ढलान गरिएको नहरको पानी चुहिन थालेको र बिस्तारै भासिने क्रम शुरु भएको स्थानीयले बताएका छन्। ‘शुरुमा तलपट्टि पानी चुहिएको देखियो,’ स्थानीय भीम घिमिरेले भन्नुभयो– ‘पछि बिस्तारै जमिन भासिन थाल्यो, अहिले त घरसम्मै चर्किएको छ।’

आफ्नो घरअगाडिको शौचालय, करेसाबारी, आँगनको डिल हुँदै पिढीसम्मको भाग धसिएपछि घरमा बस्नसमेत जोखिम रहेको उहाँहरूको गुनासो छ। भासिने क्रम बढ्दै गए छिमेकीका अरु घरमा समेत क्षति पुग्ने उहाँको भनाइ छ।

जमिन भासिएपछि शौचालय र घरमा केही क्षतिसमेत पुगेको छ। उहाँको करिब एक रोपनी करेसाबारी र अरु खेतीयोग्य जमिनसमेतमा क्षति पुगेको छ । त्यसबाहेक आसपासको अरु खेतमा समेत क्षति पुगेको छ।

नहरमा दुई सातायता पानी सञ्चालन गरिएको छैन। धान काट्ने सिजन भएकाले पानी रोकिएपछि भासिने क्रम अरु बढ्न नपाएको स्थानीयले बताएका छन्।

‘अब धान काटिसकेपछि हिउँदे खेतीको सिजनमा पानी चलाउनुपर्छ,’ देवीप्रसाद घिमिरेले भन्नुभयो– ‘पानी चल्यो कि भासिन थालिहाल्छ। कसरी जोगाउने ? उपाय हामीसँग छैन।’

जमिन भासिएको बारे नहर उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कृष्ण गौंडेल, वर्तमान अध्यक्ष पुनाखर गौंडेल, वडाध्यक्ष, नगरपालिकालगायतमा जानकारी गराए पनि संरक्षणको पहल नभएको पीडितको गुनासो छ। ‘उत्तिबेलै हामीले गुणस्तरीय काम नभएको गुनासो गरेका थियौं,’ रामचन्द्रले भन्नुभयो।

नहरसहित भासिएको जमिन संरक्षण र नहरको मर्मतका लागि पहल भइरहेको उपभोक्ता समितिका अध्यक्ष पुनाखर गौंडेलले बताउनुभयो ‘केही भाग भासिएको हो,’ उहाँले भन्नुभयो, ‘अब पुरेर नहरमर्मत गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्