चुनावी प्रचारप्रसार शुरू



सुनील महर्जन, काठमाडौं।

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरू चुनावी प्रचारप्रसार अभियानमा उत्रिएका छन्।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार चुनावका लागि प्रचारप्रसार शुरू भएको हो। राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिनको समयावधि उपलब्ध गराइएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्य पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिन सक्नेछन्।

चुनावी प्रचार शुरूसँगै निर्वाचन आयोगले उपनिर्वाचनको अन्तिम तयारी थालेको छ। अन्तिम तयारीअन्तर्गत मतदानका लागि आवश्यक पर्ने सामग्री सम्बन्धित निर्वाचन क्षेत्र र स्थानीय तहमा पठाउने र व्यवस्थापन र त्यसको सुरक्षाका कार्यहरू रहेको छ।

आयोगका अनुसार उपनिर्वाचनका लागि मतदाता छाप्ने कार्य मंगलबार सकिएको छ। यही मंसिर १४ गते हुने उपनिर्वाचनमा कुल मतदाता ५ लाख ५४ हजार १ सय १४ रहेकामा त्यसको १० प्रतिशत थप हुने गरी मतपत्र छपाइएको निर्वाचन आयोगले जनाएको छ।

छापिएका मतपत्रहरू मंसिर ६ गतेभित्र उपनिर्वाचन हुने सम्बन्धित जिल्ला र स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा मतपत्र पठाइसकेपछि मतदान अधिकृतको तालिम, प्रशिक्षण गर्ने कार्य अघि बढाइने पनि आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुनेछ।

मतदानका लागि २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको छ।यसै गरी मतदाता परिचयपत्र वितरण कार्य पनि तीव्र गतिमा भइरहेको छ।

२०७४ सालको निर्वाचनपछि थप भएका १६ हजार २ सय १९ मतदाताको परिचयपत्र तयार गरी वितरण गर्न पठाइसकेको छ।

तीबाहेक अन्य मतदाताले २०७४ सालमा आयोगले उपलब्ध गराएको परिचयपत्र साथमा देखाएर मतदान गराउन सकिने व्यवस्था मिलाइएको छ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम भोलि बिहीबारदेखि शुरू हुनेछ। त्यसका लागि आवश्यक प्रबन्ध मिलाइसकेको आयोगले जनाएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा दुई जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरिएको छ। ११ गतेसम्म सो कार्यक्रम सञ्चालन हुनेछ।

सो अवधिमा मतदाताहरूलाई जानकारीमूलक नमुना मतपत्र, पोस्टर, हातेपुस्तिकालगायतका सामग्रीको माध्यमबाट मतदाता शिक्षा दिइने यसका साथै नमुना मतदान कार्यक्रम, मतदाता शिक्षा गोष्ठी, आयोगको वेबसाइट, मोबाइल एप्स, फेसबुकमार्फत मतदातालाई शिक्षा दिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

त्यसै गरी उपनिर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय संघसंस्थाबाट आवेदन प्राप्त भइरहेको छ। ती आवेदनको जाँचबुझ गरी पर्यवेक्षण गर्न अनुमति दिने प्रक्रियामा रहेको पनि आयोगले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्