सरकारी गाडीमा अवैध कपडा, वडा अध्यक्ष नियन्त्रणमा



नेपाल समाचारपत्र, विराटनगर। 

सरकारी गाडीमा अवैध कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयले पक्राउ गरेको छ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजारभन्दा बढी मूल्यका सामानसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।

सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले बिहीबार चेकजाँच गर्ने क्रममा फेला पारेका हुन्।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलका अनुसार जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी नियन्त्रणमा लिएका हुन।

वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको स्वीकार गर्नुभएको छ।

गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामग्री आफूले किनेको वडाध्यक्ष यादवको भनाइ छ।

एकहप्ता अगाडि पनि सरकारी नम्बर प्लेटको मोटरसाइकल र एकजनाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

डिभिजन वन कार्यालय उदयपुरको स.१ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध ओसारपसार गर्ने सप्तरी राजविराज २ राजदेव टोलका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको थियो।

कपिल डिभिजन वन कार्यालय उदयपुरको डिभिजन वन कार्यालयका अधिकृत सत्यनारायण यादवका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्