राजस्व छलीमा नौ जना व्यवसायीविरुद्ध मुद्दा



नेपाल समाचारपत्र, काठमाडौं ।

राजस्व अनुसन्धान विभागले झापाको मेचीनगरस्थित साकम्बरी प्रोडक्टका प्रोप्राइटर मुकेश शर्मा र रामकृष्ण शर्मालगायत छ जनाविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा ३६ करोड ५५ लाख रुपियाँबराबरकोे बिगो कायम गरी झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खा योजनावद्ध रुपमा माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा उसको बिल प्रयोग गरी अन्तःशुल्क स्टिकर नलगाई पुनः प्रयोग गरी बिक्री वितरण गरी अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकर छली गरेकाले मुद्दा दायर गरिएको हो।

साकम्वरी प्रोडक्टका प्रोप्राइटर मुकेश शर्मा र सुपरभाइजर विष्णुप्रसाद खरेल अवैध गुट्खा उत्पनदन गर्ने र त्यसलाई बिक्री वितरण गर्ने एसएस इन्टरप्राइजेजका प्रोप्राइटर रामकृष्ण शर्मा, सुपरभाइजर सदन सिंह तथा अवैध गुट्खा बिक्री गर्न बिजक र छाप उपलब्ध गराउने माधव इन्टरप्राइजेजका प्रोप्राइटर सिताराम शर्मा तथा सवारीधनी आशिष शर्माीवरुद्ध मुद्दा दायर भएको छ।

उनीहरू छ जनाको मिलेमतोमा अवैध रुपमा गुट्खालगायत उत्पादन गरी अवैध बिक्री वितरण गरी राजस्व छली गरेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कुल बिगो ३६ करोड ५५ लाख ६३ हजारको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय गर्दै आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ।

त्यस्तै मूल्य अभिवृद्धि करको नक्कली बिल प्रयोग गर्ने दुई वटा फर्म र तीन जनाविरुद्ध पनि विभागले १ करोड ७४ लाख २१ हजारभन्दा बढीको बिगो र बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ।

विभागका अनुसार गोरखा हंसपुर– ५ घर भई हाल काठमाडौं –३२ बस्ने अम्बेल इन्टरप्राइजेजका प्रोप्राइटर विनिता दुवाडीलाई राजस्व चुहावट गरेको अभियोगमा १ करोड २८ लाख ७६ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दावी लिई मुद्दा दर्ता गरिएको हो।

त्यस्तै काठमाडांै महानगरपालिका–३२ बस्ने सुसञ्जित इन्टरप्राइजेजका प्रोपाइर सरस्वती गौतम र उनका श्रीमान रामशरण गौतमले राजस्व चुहावट गरेकाले ४५ लाख ४५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्