फरार दुई कैदी पक्राउ



धादिङ, (नेस)।

चोरी मुद्दामा जिल्ला कारागार शाखा धादिङमा रहेका एक जना र भवितव्य ज्यान मुद्दामा फरार रहेका एकजना गरी दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरी कारागार पठाएको छ।

कैद भुक्तान नहुँदै कारागारबाट भागेर फरार भएका तत्कालीन धुवाँकोट गाविस–५ निवासी ६९ वर्षीय रामबहादुर भन्ने सुब्बा वस्तीलाई ३५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

नीलकण्ठ नगरपालिका–१ खाल्टेमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएका वस्तीलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा आइबार पेस गरी थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताउनुभयो।

जिल्ला अदालतले २०४१ जेठ ८ गतेको फैसलाबमोजिम तीन वर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न कारागारमा रहेका वस्ती ०४१ मंसिर ६ गते कारागारबाट अन्य कैदीहरूसँगै भागेका थिए।

कारागारबाट कैदी भागेपछि प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गराएको थियो। जिल्ला अदालतले २०४२ मंसिर १७ गते ५ वर्ष ५ दिन थप सजाय हुने फैसला गरेपछि वस्तीले ८ वर्ष ११ महिना १२ दिन कैद बस्नुपर्ने कैद बेरुजु देखिएको थियो।

अरूको लहैलहैमा लागेर आफूले त्यतिखेर गलत गरेको वस्तीले स्वीकार गरेका छन्। प्रहरीले वस्तीलाई कारागार पठाउनुअघि जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ पत्रकार सम्मेलन गरेको थियो।

यसै गरी भवितव्य ज्यान मुद्दामा २०५६ असोज १९ गते जिल्ला अदालतले ५ महिना कैद र ५ सय रुपियाँ जरिवाना फैसला गरी फरार रहेका धुनीबेसी नरपालिका–४ का दीपक मिजार भन्ने दीपेश मिजारलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशमा कैद भुक्तान गर्न कारागार पठाएको हो।

प्रतिक्रिया दिनुहोस्