संरक्षणको अभावमा भूमेश्वर गुफा



वासुदेव शर्मा, जाजरकोट।

जाजरकोट जिल्ला सदरमुकामको केन्द्रमा रहेको भेरी नगरपालिका–१३ कुदु भेरी नदीको काखमा भूमेश्वर गुफा अवस्थित छ। कुदु र चौरजहारी जोड्ने झोलु·े पुलनजिकै पर्ने भूमेश्वर गुफाको प्रवेशद्वारमा पत्थरहरूले बनेको हात्तीको सँुडजस्तै आकृति देख्न सकिन्छ।

एकान्त वातावरण भएकाले विशेष गरी चैत, वैशाख र जेठ महिनामा भेरी नदीको चिसो हावाले उक्त स्थान आफैमा शीतल हुने हुँदा बाहिरबाट आउने भक्तजनहरू एक दुई घण्टा बसी त्यहाँ देखिने आकृतिहरू अवलोकन गरेर मात्र जाने गरेको पाइन्छ।

हरितालिका तीज, माघी संक्रान्ति, शिवरात्री, अक्षय तृतीयालगायतका प्रसिद्ध दिनमा श्रद्धालु भक्तजनहरू पूजाआजा गर्न तथा अवलोकलन गर्न आउने गर्दछन्।
विशेष पर्वहरूमा छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका, सल्यान जिल्लालगायतका ठाउँबाट पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजन भजनकीर्तन पनि गर्ने गर्दछन्।

पहिलो पटक भूमेश्वर महादेवको गुफामा पुग्नेहरूले हेर्दा त्रिभुज आकारमा देखिने करिब तीन सय वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गुफामा करिब एक हजार भक्तजनले एकैपटक गुफाको अवलोकन गर्नुका साथै पूजाअर्चना गर्न सक्ने व्यवस्था रहेको छ। अवलोकन गर्न आएका भक्तजनको मनै लोभ्याउने गुफा प्रवेश गरेपछि नछोडौंजस्तै लाग्छ।

भूमेश्वर महादेवको इतिहास

किम्बदन्तीअनुसार सत्ययुगको प्रथम चरणमा ब्रह्मा, विष्णु, महेश्वर त्रिदेवले विभिन्न प्राणीको सृष्टि गर्ने क्रममा नैमिसारण्य क्षेत्रमा देवसभा बसेको थियो। उक्त देवसभाबाट विष्णु पूर्व र दक्षिण दिशाको जिम्मा लिएर त्यसतर्फ लागेको, ब्रह्मा पश्चिम दिशा, महादेव उत्तर दिशा लागेको र चारै दिशा सृष्टि गर्ने जिम्मा ब्रह्माजीको, पालन गर्ने जिम्मा विष्णुको र संहार गर्ने जिम्मा महेश्वर शिवको थियो भन्ने किम्बदन्ती पाइन्छ।

तिनै देवताहरूले विभिन्न देवता ऋषिमुनि दानव, कीटपतंग र पशुपन्छीको विकास गरेको शिव पुराणमा उल्लेख गरिएको पाइन्छ। त्यतिबेला उत्तरापन्थतिर देवताहरू सरेर आउँदै गर्दा उत्तरतिरबाट ठूलो वेगमा भेरी नदी उर्लिंदै आएकोले बाटो बन्द गरेको र शिव, पार्वती, ब्रह्मा, विष्णु, दिक्पाल, गणेश आदि देवताहरू अगाडि बढ्न नसक्ने भएपछि राजा जगति सिंहको राज्य जगतिपुरको कुदु फाँट भेरी नदीको किनारमा अवस्थित भूमेश्वर गुफामा बसी गंगा मातासँग बाटो दिनुहोस् भनी प्रार्थना गरे।

शिव पार्वतीको कैलाश दर्शन र ब्रह्माजीको वेद पाठ गरी तपस्या गरेको देखेर गंगा माता प्रसन्न भई अगाडि बढ्न दिएको किम्बदन्ती बुबा चन्द्रमणि शर्माले आफूलाई बताएको भूमेश्वर गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ध्रुवप्रसाद शर्माले बताउनुभयो।

गंगाजीको जल गौमाताले दिएको दूध पत्थरीय गुफामै उत्पादन गरी त्यही शिवलि· मूर्तिहरूमा चढाएको दूधजस्तै सेतो वस्तु अहिले पनि प्रस्ट देख्न सकिन्छ। भूमेश्वर गुफाबाट निस्कने क्रममा आफ्नो आकृतिहरू पत्थरीय शिवलि· मूर्तिहरू स्थापना गरी त्यहाँबाट प्रस्थान गरेको किम्बदन्ती पाइन्छ।

गुफावरिवरिको वातावरण

भेरी नदीको किनारमा रहेको भूमेश्वर गुफा आफैमा रमणीय छ। एकान्त वातावरण भएकाले विशेष गरी चैत, वैशाख र जेठ महिनामा भेरी नदीको चिसो हावा, उक्त स्थान आफैमा शीतल हुने हुँदा बाहिरबाट आउने भक्तजनहरू एक दुई घण्टा बसेर त्यहाँ देखिने आकृतिहरू अवलोकन गरेर मात्र जाने गरेको पाइन्छ।

भगवान्का रूपहरूको आकृति

भूमेश्वर गुफाभित्र पस्दा सबै ठाउँमा शिवलि·को आकृति देखिन्छ भने शिवलि·को आकृतिमा पानी जल चढाएको देखिन्छ। शिवजीको लि·जस्तै थुम्को भएको स्थानमा माथिबाट निस्किएको पानीको थोपाहरू त्यस थुम्कोमा परेर बिलाउने गरेको छ।

ठाउँठाउँमा शिवलि·, भगवान्का रूपको चित्र अंकित देखिने गरेको पाइन्छ। गुफामा दीप दुर्गेश्वर, शिव शिवेश्वर, महाभूमेश्वर, नन्देश्वर महादेव, विष्णु, ब्रह्मा, गणेश, भगवान्का वाहन मुसो, सावित्री, पार्वती, शेषनाग आदिका कलात्मक प्रकृतिका प्राकृतिक मूर्तिहरू देख्न सकिने भूमेश्वर गुफाले पर्यटकहरूको मनै लोभ्याउने गरेको पाइन्छ।

अवलोकन कर्ताहरूले आफूले जुन कुराको कल्पना गरेको छ त्यही आकृति पत्थरीय आकृतिहरू देख्न सकिन्छ। भूमेश्वर गुफा पहिले नै यथावत् थियो, तर कसैले चासो नदिएकाले अहिले गुफालाई भूमेश्वर व्यवस्थापन समितिले चिनाउने काम गरेको छ। भूमेश्वर गुफाको संरक्षण व्यवस्थापन समितिबाट भएको छ।

भूमेश्वर कसरी रहन गयो गुफाको नाम

करिब ४० वर्षअगाडि भूमेश्वर नामका एक महात्मा आएर आगोको धुनी जगाई बसेको विभिन्न भग्नावशेषहरूमा अहिले पनि देख्न सकिन्छ। त्यही समयमा भूमेश्वर नाम गरेका शिव संन्यासी घुम्दै फिर्दै भेरी नगरपालिका–१३ को कुदु फाँटमा आउनुभएछ।

कुदुमा आएपछि ब्राह्मण सेतु उपाध्ययको घरमा बास बसेर बिहान स्नानका लागि पानी खोज्दा कुदु फाँटमा कुनै ठाउँमा पानी पाएनछन्। पछि भेरी नदीमा पुगेर स्नान गरी नित्य पूजा गरेर फर्किंदा उकालो हिँड्ने क्रममा त्यहाँ एक गुफा देखेछन्।

त्यस गुफामा के छ भन्ने जिज्ञाशा उठेछ र ती संन्यासी त्यस ठाउँमा पुगेछन्। गुफाभित्र शिव–पार्वती, ब्रह्मा–सावित्र, विष्णु, गणेश, शेषनाग, मुसो, नन्दी, गजवाहनलगायतका धेरै नामका देवताको स्थापना भएको देखेर आश्चर्य चकित भएछन्।

त्यहाँको चमत्कार देखेर भूमेश्वर नाम गरेका संन्यासी त्यहीं बसी पूजाआजा गरेकाले त्यस गुफाको नाम भूमेश्वर गुफा रहन गएको किम्बदन्ती पाइन्छ।

गुफाप्रति स्थानीयको चासो

भूमेश्वर नामका संन्यासी त्यस गुफामा बसेर त्यहाँबाट प्रस्थान गरेपछि स्थानीय नागरिकहरूले पूजा गरी गुफालाई महत्व दिएको पाइन्छ। गुफालाई पण्डित केशरी उपाध्याय, पण्डित चन्द्रमणि उपाध्याय, मुखिया नरवीर खत्री, सदस्य मोतिराम आचार्य, तत्कालीन पञ्चायतका उपप्रधान बलबहादुर रावत मुखिया, रत्नबहादुर शाही, गोपी खत्री, जितु गिरी, शिक्षक खिमबहादुर शाहीको सक्रियतामा पूजाआजा गर्ने गरेको बुवा चन्द्रमणि शर्माले आफूलाई जानकारी दिएको ध्रुवप्रसाद शर्माले बताउनुभयो।

गुफा संरक्षणको अवस्था

पछिल्लो समय मानिसहरू आफ्नै व्यवहारमा व्यस्त हुने र धर्मप्रति चासो नदेखाउने कारण भूमेश्वर गुफा संकटमा पर्दै गएकाले स्थानीयहरूले चासो राखेर संरक्षणमा लागेका हुन्। यस क्षेत्रकै धार्मिकस्थलका रूपमा रहेको भूमेश्वर गुफा संरक्षणको अभावमा संटकमा पर्दै गएकाले धार्मिकस्थल आस्थाको केन्द्रविन्दु कमजोर हुँदै गएको छ।

यस स्थानको महत्व जोगाइराख्न स्थानीयको सक्रियतामा २०६५ सालमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा अम्बिकाप्रसाद आचार्यको अध्यक्षतामा भूमेश्वर तथा राधकृष्ण मन्दिर व्यवस्थापन समिति गठन गरी विधिवत्रूपमा संरक्षण गर्ने कार्य शुरू गरेको छ।

अहिले भूमेश्वर गुफालाई अम्बिकाप्रसाद आचार्य, ध्रुवप्रसाद शर्मा, जनकप्रसाद शर्मा, गणेश आरसी, बुद्धिकुमारी बटालालगायतको व्यवस्थापन समितिले संरक्षण गरेको छ। हरेक वर्षको महाशिवरात्री, माघी संक्रान्ति, एकादशी, अक्षय तृतीयालगायतका दिनमा भक्तजनले पूजाआजा गर्ने र भजनकीर्तन गर्ने गरिरहेका छन्।

संरक्षण समितिले गरेका काम

भूमेश्वर गुफाको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले व्यवस्थापन समितिले २४ घण्टा अखण्ड कीर्तन गरेको छ। गुफाको प्रचार प्रसारका लागि १ सय ५ जनलाई आजीवन र साधारण सदस्यता दिएको छ।

अवलोकन गर्न आउने आगन्तुकहरूका लागि आगन्तुक पुस्तिका राखी सुधारका पक्षहरूको जानकारी गराउने कार्य गरेको छ। नेपाल सरकारका मन्त्री, मन्त्रालयका सचिवलगायतका स्वदेशी विदेशी व्यक्तिहरूले अवलोकन गर्ने गरेको आगन्तुक पुस्तिकामा उल्लेख छ।

यतिबेला गुफा संरक्षणका लागि स्थानीय नागरिक, शिक्षक, बुद्धिजीवी, सरकारी कर्मचारीलगायत संघसंस्थाहरू सक्रिय भएर लागेका छन्।यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउनका लागि भेरी नदीको किनारबाट गुफासम्म एक सय आठ सिँडीलगायत निर्माणको आवश्यकता महसुस गरिएको छ।

सरोकारवाला निकायको विशेष पहलमा पर्यटकीयस्थल निर्माणका लागि वरिपरिको भागलाई फराकिलो बनाइदिन व्यवस्थापन समितिले सरोकारवाला निकायसँग आग्रह गरेको छ।

पर्यटकीयस्थल बनाउने कुरामा सबैको साझा प्रयासबाट सम्भव भएकाले गुफालाई पर्यटकीयस्थल बनाउन सरोकारवाला निकायलाई व्यस्थापन समिति आग्रह गरेको छ।

भेरी नगरपालिकाबाट पाएको आर्थिक सहयोगले पर्खाल, गेट, शौचालयलगायतका संरचना निर्माण गरिएको छ। स्थानीय तहको सहयोगले मात्र निर्माण पूरा गर्न सम्भव नभएकाले सरोकारवाला निकायले पहल गरिदिनका लागि सबै पक्षसँग आग्रह गरेको व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद आचार्यले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्