“पुँजी बजारप्रति सरकारको दृष्टिकोण स्पष्ट भएन”



राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ

पछिल्लो समय पुँजी बजारमा निरन्तर गिरावट आइरहेको छ। बजार सुधारका लागि भन्दै लगानीकर्ताहरू सरकार तथा नियामक निकायमा धाइरहेका छन्। पुँजी बजारका लागि सरकारबाट के हुनुपथ्र्यो ? भनेर लगानीकर्ताले चासो राखिरहेको पाइन्छ। यसै विषयमा केन्द्रित भई नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले कुराकानी :

पछिल्लो समय पुँजी बजारमा गिरावट निरन्तर आइरहेको छ, यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

दशैं तिहारपछि पनि पुँजी बजारमा निरन्तर गिरावट आउनुमा चाहिँ लगानीकर्ताको मनोविज्ञानमा कुनै असरले काम गरेको हो भन्ने मेरो बिश्लेषण छ । तत्कालको लागि लगानीकर्ताको मनोविज्ञानमा सकारकात्मक असर पार्ने कुनै कुरा नै देखिएको छैन। कारोबार रकममा पनि गिरावट आएको छ। ठूला कारोबारीहरू पनि पाखा लागेको स्थिति छ।

सम्पत्ति शुद्धीकरणको विषयलाई लगानीकर्ताहरू समक्ष सम्बन्धित निकायले बुझाउन नसक्नु तथा लगानीकर्ताको पनि गलत बुझाईका कारण खुलेर कारोबार गर्नेहरू अहिले पछि हटेका छन्।

प्राविधिक कुरामा भारित औसतको गणना विधि लामो समयदेखि अन्योलमा नै छ। केही समयअघि हामीले सरकारलाई ५२ बुँदे माग बुझाएका थियौं। तर, त्यो बमोजिम सरकारले काम गरेको छैन। त्यो बीचमै अड्किरहेको छ।

अहिले छिमेकी मुलुक भारतमा पुँजी बजारप्रति संवेदनशील भई ४० हजारको रेकर्ड बनेको छ। तर, हाम्रो मुलुकमा लगानीका निम्ति वातारवरण सहज हुँदाहुँदै पनि सरकारी वेवास्ताका कारण लगानीकर्ताहरूको मनोबल गिरेको छ। त्यसका कारण पनि नेप्से परिसूचक घटिरहेको छ।

कहिले अर्थ मन्त्रालय धाउँछु, कहिले नेपाल स्टक एक्सचेन्ज त कहिले धितोपत्र बोर्ड। यसबाट के पाएको छु भने नियामक निकाय एउटाले अर्कोलाई देखाएर पन्छिरहेका छन्। त्यसका कारण यो अल्झिरहेको छ। जस्तै भारित औसतको विषयमा पनि अर्थ मन्त्रालयले सेबोनलाई देखाउँछ। सेबोन अर्कोलाई, यस्तै गर्दागर्दै यो समस्या बल्झिरहेको छ। जसको मारमा लगानीकर्ता परेका छन्।

पुँजी बजार सुधार गर्नका लागि सरकार तथा सम्बन्धित निकायसँग पटक–पटक छलफल गर्नुभयो, सुझावहरू प्नि दिनुभयो। यसबाट निचोड चाहिँ कस्तो निस्कियो ?

पुँजी बजारप्रति सरकार तथा नियामक निकायको हेर्ने दृष्टिकोण स्पष्ट रूपमा हामीले पाएनौं। भारित औसतको विषयमा निर्णय हुन नसक्दा लामो समयसम्म अड्किरहेको छ। बजारमा कहिले के, कहिले के समस्याले प्रभाव पारिरहेको छ।

अहिले लगानीकर्ताको मनोबल उकास्नका लागि सरकार, नेप्से, धितोपत्र बोर्डबाट सकारात्मक पहल भएको जस्तो लाग्दैन। त्यसैले समस्या निम्तिरहेको छ, बजार घटिरहेको छ।

तपाईंसमेत सहभागी रहेको पुँजी बजार सुधारका लागि गठित कार्यदलले सरकारलाई विभिन्न सुझाव दिएको थियो, त्यो कति कार्यान्वयन भयो ?

अर्थ मन्त्रालयले मुद्रा तथा पुँजी बजारमा आएको समस्याबारे अध्ययन गर्न एउटा उच्चस्तरीय समिति गठन गरेको थियो। नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित सो समितिमा अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, पुँजी बजार लगानी संघका तर्फबाट मलगायतको सहभागिता थियो।

हामीले धेरै नै अध्ययन गरेर पुँजी बजारका सबै समस्या अर्थ मन्त्रालयमा बुझाएका थियौं। त्यो प्रतिवेदनमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन हुन्छ भनिएको थियो। किनभने कतिपय नियम नै संशोधन गर्नुपर्ने पनि थियो।

त्यस्ता समस्यालाई दीर्घकालीन रूपमा राखिएको थियो। यद्यपि, भनिएबमोजिक धेरै काम भएका छैनन्। बजार सुधारका लागि हामी विगत चार वर्षदेखि लागि परेका छौं। बजार अहिले निरन्तर घटिरहेको छ। २ बर्षमा ७५०  अंकले घट्दा २२ खर्बको सम्पति अहिले १४ खर्वमा झरेर लगानीकर्ताको सम्पती स्वाहा भएको छ ।

बजार सुधारका लागि भन्दै विभिन्न उच्चस्तरीय भेटघाट गरिरहनु हुन्छ, यसबाट पनि केही प्रतिफल पाउनुभएन ?

बजार सुधारका लागि म सधैं लागि परेको छु। लगानीकर्ताको मनोबल नगिरोस्, लगानी गर्ने वातावरण मिलोस् भनेर नै म यो दौडधुप गरिरहेको हँु। मैले कहिले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर बजारको समस्या सुनाएको छु भने कहिले नेकपाका अध्यक्ष प्रचण्डलाई त कहिले स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर समस्या सुनाएको छु।

उहाँहरूलाई पत्र काटेको छु, माग राखेको छु। उहाँहरूले बजार सुधार गर्न पहल गर्ने प्रतिबद्धता त जनाउनुभएको छ। तर, त्यस्तो भएको चाहिँ पाउन सकेको छैन।

पुँजी बजारमा यति धेरै समस्या देखा परेका छन्। खास, चुरो कुरा कहाँ अड्किएको हो। कसका कारण समस्या आएको हो ?

म प्रायः पुँजी बजारको नियामक निकायमा गइरहेको हुन्छ। कहिले अर्थ मन्त्रालय धाउँछु, कहिले नेपाल स्टक एक्सचेन्ज त कहिले धितोपत्र बोर्ड। यसबाट के पाएको छु भने नियामक निकाय एउटाले अर्कोलाई देखाएर पन्छिरहेका छन्। त्यसका कारण यो अल्झिरहेको छ।

जस्तै भारित औसतको विषयमा पनि अर्थ मन्त्रालयले सेबोनलाई देखाउँछ। सेबोन अर्कोलाई, यस्तै गर्दागर्दै यो समस्या बल्झिरहेको छ। जसको मारमा लगानीकर्ता परेका छन्।

पुँजी बजारको यस्तो बिग्रिदो स्थिति विद्यमान छ। तथापि, विभिन्न समयमा अर्थमन्त्री, प्रधानमन्त्रीलगायतले लगानीका लागि आह्वान गरिरहनुभएको सुनिन्छ, यसबाट साँच्चै लगानीकर्ता आउला त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको समयमा पूर्वमा गएर एउटा भाषण गर्नुभएको थियो। बजारमा जो प्रवेश गर्नुहुन्छ उहाँहरूले ढुक्कले लगानी गर्नुहोस्। उहाँले पुँजी बजारलाई राम्ररी बुझेर नै बोल्नुभएको हो। हाम्रो सरकार आएपछि पँुजी बजारलाई राम्रा–राम्रा नीतिनियम ल्याउँछौं भन्नुभएको थियो।

त्यतिबेला बजार अलि–अलि घटिरहेको अवस्था थियो। प्रधानमन्त्रीको त्यो भाषणपछि पुँजी बजार नसुनेकाहरूले पनि यसबारे चासो देखाएका थिए। तर, आज आएर ७५० अंकले बजार घट्दा पनि प्रधानमन्त्रीज्युले एकपटक पनि सम्बोधन गरिदिनुभएको छैन।

म आफैंले पनि बजारका यावत समस्यालाई लिएर उहाँलाई भेटिसकेको छु। उहाँलाई चिठी पनि दिइसकेको छु। हामीलाई आशा थियो, बजार सुधार्न उहाँले केही पहल गर्नुहुन्छ। तर, अहिलेसम्म उहाँले कुनै चासो राख्नुभएको छैन। उहाँले स्पष्ट रूपमा कुनै वक्तव्य आएको छैन।

अबको यस्तो अवस्थामा बजारलाई सुधार गर्न के गर्नुपर्ला ?

पुँजी बजारको सुधारका लागि अहिलेको बजारको समस्या पहिचान गर्न सरकार लाग्नुपर्छ। सरकारलाई असफल बनाउन पनि बीचमा केही समुदाय बजारबाट निस्किने प्रयास पनि गरेका थिए। त्यो पनि एउटा समस्या थियो। तर, अहिले आएर धेरै नै तल आइसकेको छ। यस्तो अवस्थामा पनि बजार किन यस्तो भइरहेको छ, उहाँले चासो देखाइदिनुपर्यो ।

अलि अगाडि अर्थमन्त्रीको राजीनामा आउँछ भन्ने हल्ला चल्दामात्रै पनि बजारमा थोरै सकारात्मक सूचक देखा परेको थियो। तर, अहिले अर्थमन्त्रीले पनि बजारलाई सकारात्मक रूपमा लिइरहनुभएको अवस्था छ। पुँजी बजार भनेको मनोविज्ञानको बजार हो। अहिलेको बजार सुधारका लागि प्रधानमन्त्रीको सम्बोधन खाँचो परेको छ।

 

प्रतिक्रिया दिनुहोस्