श्रीलंकामा राष्ट्रपति चुनाव



कोलोम्बो, (एजेन्सी)।

श्रीलंकामा आठौं राष्ट्रपतिको चुनावका लागि शनिबार देशव्यापी मतदान भएको छ। चुनावमा मुख्यरूपमा सत्तारूढ न्यू डेमोक्र्याटिक फ्रन्ट (एनडीएफ)का साजित प्रेमदासा र श्रीलंका पोडुजना पेरमुना (एसएलपीपी)का गोतबाया राजपाक्षेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

मतदानका लागि १२ हजार ८ सय ४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मत खसाल्न शुरू भएको थियो। मतदानमा १ करोड ६० लाख मतदाताले भोट खसाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।यसैबीच श्रीलंकाको मन्नार जिल्लामा मतदातालाई लिएर गइरहेको दुई बसमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोलाबारी गरेको बताइएको छ।

उक्त घटनामा कोही पनि घाइते नभएको र घटनाको छानबिन शुरू भइसकेको प्रहरीले जानकारी दिएको छ।यस चुनावमा ३५ उम्मेदवार चुनावी मैदानमा छन्। यिनीहरूबाटै एकलाई वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाको उत्तराधिकारी चयन गरिनेछ।

राजपाक्षे र प्रेमदासाबाहेक अन्य महत्वपूर्ण उम्मेदवार माक्र्सवादी जनत विमुक्ति पेरमुना र पिपल्स लिबरेसन फ्रन्टका अनुरा कुमारा डिसेनायका र नेसनल पिपुल्स मुभमेन्टका महेश सेनानायक छन्। सेनानायक सेनामा ३६ वर्षको सेवापछि यसै वर्ष अगस्टमा सेवानिवृत्त भएका थिए।

गत वर्ष इस्टरको दिनको बम विस्फोटनपछि भएको राजनीतिक ध्रुवीकरण र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै श्रीलंकाको भविष्यका लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ। सत्ताधारी दल संयुक्त राष्ट्रिय पार्टीका उम्मेदवार प्रेमदासालाई आफ्नो सामान्य जनताको नेता भएको छविमाथि विश्वास छ।

यो उत्तराधिकारीको हैसियत उनले पिताबाट प्राप्त गरेका हुन्। तर पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेले कोही पनि प्रेमदासाको आतंकपूर्ण शासनमा फर्कन नचाहने बताएका थिए।

राजपाक्षे आफ्ना भाइ गोटाबायाको पक्षमा प्रचार गरिरहेका छन्। गोटाबाया रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी थिए। उनले लिट्टेविरुद्ध सैन्य अभियानको नेतृत्व गरेका थिए।

प्रतिक्रिया दिनुहोस्