महरा र आलम काण्डबाट सिक्नुपर्ने पाठ



नेपाली राजनीतिमा सत्ता र शक्तिका लागि कुन हदसम्मको खेल र षड्यन्त्र हुन्छ भने बुझ्न पछिल्ला राजनीतिसँग जोडिएका दुई घटना काफी छन्। जसका बारेमा अब न्यायिक निकायदेखि राजनीतिज्ञ र नागरिकका बीचमा केही बहस, चिन्तन जरुरी छ। यसबीचमा पहिलो घटना हो सांसद आलमको।

उनकै निर्देशनमा २७ चैत ०६४ मा रौतहट राजपुर फरहदवा–४ सेख इद्रिस खालिहानको गोठमा बम बनाउने क्रममा अचानक विस्फोट भयो। त्यस क्रममा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह, ओसी अख्तरसहितका युवालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो ।

यति बीभत्स घटनाको रहस्य सार्वजनिक हुन पनि एक दशक लाग्यो। शान्ति सुरक्षाको सुनिश्चितता गर्ने जिम्मा पाएको नेपाल प्रहरी, तत्कालीन प्रहरी उपरीक्षक एसपी लक्ष्मण न्यौपाने जसलाई पछि थारुहट आन्दोलनमा जिउँदै जलाइयो। यो भन्दा भयानक अरू के हुन सक्ला र ?

यस्तै अर्को घटना हो पटक–पटक मन्त्री पद खाएका वरिष्ठ राजनीतिज्ञ सांसद कृष्णबहादुर महरा। सभामुखजस्तो गरिमामय पदमा बसेर आफ्नै कार्यालयमा काम गर्ने रोशनी शाहीसँग बलात्कारजस्तो निन्दनीय कार्य गरेर उनले राजनीतिको निष्ठामा चोट पुर्याए ।

यस्ता राजनीतिज्ञसँगको अपवित्र, अस्वाभाविक सम्बन्ध र संरक्षणले नेता मात्र होइन, देशभक्त प्रहरीको इमानमा पनि गम्भीर प्रश्न उठाएको छ। अहिले प्रहरी महानिरीक्षकसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी र जवानहरूको बयानले पनि हाम्रो नेपाली राजनीति, प्रहरी प्रशासनभित्रको दुश्चरित्र उदांगो बनाइदिएको छ।

जसले अब राजनीति, प्रहरी र प्रशासनिक संयन्त्र, निश्पक्ष लोकतान्त्रिक अभ्यासका बारेमा गम्भीर समीक्षा र बहस गर्नुपर्नेछ। निर्वाचनमा या राजनीतिमा हुने अपराधीकरण र अपराधको राजनीतीकरण शुभारम्भ भएपछि अब त्यस्तो चुनावबाट आउने जनप्रतिनिधि, सांसद र मन्त्रीले सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि कसरी काम गर्ला ? यसरी चुनाव जित्नेसँग कस्तो नैतिक बल रहन्छ ?

अहिले फेरि रिक्त स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। यो चुनावमा पनि टिकट प्रकरणदेखि पैसा, गुट, शक्तिकै चलखेलको गन्ध र परिदृश्य देखिन थालेको छ। यो नेपाली राजनीतिमा राम्रो संकेत होइन।

आलम आतंकले उजागर गरेका अनेक कहाली लाग्दा भयानक परिदृश्य र घटनाबाट अहिलेको उपचुनावमा नागरिक, प्रहरी, प्रशासन सबैले पाठ सिक्न आवश्यक छ।

यस्ता चुनावमा जित्नकै लागि त्यस्ता अनेक तिक्डम रच्ने उम्मेदवारलाई आफ्नो अमूल्य मतबाटै बहिष्कृत गर्न जरुरी छ। क्षणिकरूपमा लाभ भए पनि त्यसको सत्य एक न एक दिन उद्घाटित हुने निश्चित छ। भन्छन्, पाप धुरीबाट कराउँछ।

जति नै ढाकछोप गरी जनताको आँखामा छारो हाल्ने काम गरे पनि एक न एक दिन कुकर्म बाहिर आउँछ भन्ने महरा र आलम काण्डले प्रस्टै पारेको छ। यस्ता सस्तो लोकप्रियतामा बाँच्ने र जनताको विश्वासमाथि खेलबाड गर्ने राजनीतिज्ञ कदापि मनका सच्चा हुन सक्दैनन् भन्ने हेक्का सबैलाई हुनुपर्छ।

– प्रताप पौडेल, रामपुर, पाल्पा।

प्रतिक्रिया दिनुहोस्