मिस मंगोल अब संघीय संरचनाअनुसार



एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस मंगोल नेपाल यस वर्ष नेपालको संघीय संरचनाअनुसार आयोजना गरिने भएको छ। मौलिक संस्कृति र प्रतिभा प्रदर्शनलाई आधार बनाएर सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले एक दशकको अनुभवपछि नयाँ प्रणाली अँगाल्न लागेको हो।

नयाँ संरचनाअनुसार प्रतियोगितामा मिस मंगोल प्रदेश एक, मिस मंगोल प्रदेश २, मिस मंगोल प्रदेश ३, मिस मंगोल गण्डकी, मिस मंगोल प्रदेश ५, मिस मंगोल प्रदेश ६ र मिस मंगोल सुदूरपश्चिम गरी सातवटै प्रदेशका उत्कृष्ट एक–एकजना प्रतियोगीले ताज पाउनेछन्।

७ प्रदेशसहित मिस मंगोल नेपाल विजेता, फस्ट र सेकेन्ड रनर्सअप गरी यस संस्करणदेखि १० जनाले ताज पाउनेछन्। प्रदेशका विजेतालाई सबटाइटल मानिएकाले प्रदेश टाइटल विजेताले मिस मंगोल नेपाल तथा फस्ट वा सेकेन्ड रनर्सअपको उपाधि पनि पाउने आयोजकले जनाएका छन्।

नयाँ पुस्ताको वृत्तिविकास, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका, मौलिककला एवं संस्कृतिप्रति जागरुक, समाजप्रति उत्तरदायी बनाउन प्रतियोगिताको नयाँ संरचना सार्थक र प्रभावकारी हुने आयोजकको भनाइ छ।

घटीमा एसईई पास, ५ फिट उचाइ, १६ देखि २६ वर्ष उमेर, आदिवासी समुदायका अविवाहित युवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् भने विभिन्न प्रतियोगितामा सहभागी भई शीर्ष उपाधि जितेका युवतीले अडिसनबिनै सहभागी हुन पाउनेछन्।

प्रतियोगिताका विजेताले विभिन्न जिम्मेवारीसहित १ लाख रुपियाँ पुरस्कार, चाँदीको ताज, प्याकेज टुर, सपिङ भौचर, विभिन्न उत्पादन तथा कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने मौका पनि पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्