ऐतिहासिक लुमरेङकोट संरक्षणको पर्खाइमा



दुर्गाप्रसाद शर्मा, पर्वत । 

ऐतिहासिक महत्व बोकेको पर्वतको दक्षिणमा पर्ने लुमरेङकोट संरक्षणको पर्खाइमा बसेको छ। ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको पर्वतको बिहादी गाउँपालिका –५ उरामपोखरा स्थित लुमरेङकोट प्रचारप्रसार संरक्षणको अभावमा ओझेलमा परेको हो।

नेपाल एकीकरण पूर्वचौबिसे राज्यकालमा शक्तिशाली मानिएको लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालको रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन्। यस्ता ऐतिहासिक तथा पुरातात्विक सामाग्रीहरु संरक्षणको अभावमा हराउने खतरा बढेको छ।

भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबिसे कालमा निक्कै शक्तिशाली मानिन्थ्यो। भुरे राजाको दरबार रहेको कोटमा अहिले पनि मन्दिर र सत्तल रहेको छ। सत्तलमा एउटा दराजमा युद्धमा प्रयोग भएका तरबार, खु‘डा, गैंडाको छालाबाट बनेका ढालहरु रहेका छन्।

तर यी सामाग्रीमा रंगरोगन गर्दा यसको ऐतिहासिकता हराएको छ। कुनैकुनै हतियारमा सन् १७३४ एडी लेखेको समेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताउनुभो। पुरातात्विक महत्व बोकेका यस्ता सामाग्रीहरु हराउन थालेपछि स्थानीय तवरबाट संरक्षणको प्रयास थालिएको उहाँले बताउनुभयो।

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निक्कै पराक्रमी रहेको पाइन्छ। उनका छोराहरु चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै पनि राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन सकेका थिएनन्।

तत्कालिन समयमा शक्तिशाली मानिने पैंयुकोटे राजाले जासुसी गरेर छोराहरु बिहादीको फाँटमा रोपाईं गर्न गएको मौका छोपी लुमरेङकोटमा आक्रमण गरेका थिए। आक्रमणमा परेर चतुरसिंहको कोटममै मृत्यु भएको थियो भने एक जना छोराको बिच भागमा र एक जनाको रोपाईं गर्ने स्थानमा नै मृत्यु भएको थापाले जानकारी दिनुभयो। रोपाईंका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाई जातिको घरमा अझै पनि भेटिने उहाँको भनाइ छ।

त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैंयुकोटमा सरेको थियो। पर्वतको बिहादी, पैंयु गाउँपालिकाको अग्लो भू–भागमा रहेको कोटबाट टाढाका दृश्यहरु देख्न सकिन्छ। यहाँ वनभोजका लागि टाढाटाढाबाट युवायुवतीहरु आउने गर्दछन्।

गत वर्ष प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको थियो। यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो। वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउनका लागि गाउँपालिकाले प्रयास गरिरहेको उहाँले बताउनुभयो।

लुमरेङकोट पुगेर पर्वतबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य पदम गिरीले ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीको संरक्षण गर्न आग्रह गर्नुभयो। यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउका लागि प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्